|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाली जनता स्वतन्त्र रहेको भन्दै कुनै पनि नाममा विदेशी हस्तक्षेप स्वीकार्य नभएको बताएका छन्।

नेपालस्थित विभिन्न देशका कूटनीतिज्ञहरूलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर ओलीले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलगायतका विषयमा जानकारी गराएका हुन्। उनले प्रधानमन्त्री भएपछि पहिलोपटक सबै कूटनीतिज्ञलाई बोलाएर नेपालको पछिल्लो राजनीतक परिवर्तन, वर्तमान सरकारका प्राथमिकता र नेपालको परराष्ट्र नीतिबारे जानकारी गराएका हुन्।

मंगलबार बिहान भएको उक्त छलफलमा प्रधानमन्त्री ओलीले नेपालले कुनै पनि हालतमा अस्थिरतालाई स्थान नदिने बताएका छन्। उनले नेपाली जनता आफ्नोबारे निर्णय लिन स्वतन्त्र रहेका छन्।

प्रधानमन्त्रीले नेपाली जनता सधैँ आफूले संघर्षबाट प्राप्त गरेको उपलब्धिको रक्षा गर्न सतर्क रहेको बताए। तथापि, केही ठाउँबाट नेपालीबीचको सद्भावमा खलल पुर्‍याउन खोजिएको भन्दै उनले असन्तुष्टि पनि राखेका थिए। प्रधानमन्त्रीले भनेका छन्, 'हामी नेपाली जनतालाई कहीँबाट पनि कुनै पनि एजेन्डामा दुरुपयोग भएका देख्न चाहान्नौँ। हामी त्यस्ता तत्वलाई परास्त गर्न सम्पूर्ण स्रोत र शक्तिका साथ एक भएर लाग्नेछौँ। विभाजित गर्ने र अशान्ति फैलाउने तत्वलाई परास्त गर्नेछौँ।'

प्रधानमन्त्रीले दुई दर्जन भन्दा बढी देशका कूटनीतिज्ञहरूलाई नेपाल सरकारले कानुनसंगत रुपमा काम गर्ने बताए। उनले कानुनको शासनलाई प्रभावकारी ढंगले पालना गराइने पनि बताए। सरकार भ्रष्टाचारप्रति शून्य सहनशील रहने पनि उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले नेपाली जनताले पछिल्लो राजनीतिक परिवर्तन समाजका हरेक क्षेत्रमा भएको जानकारी गराए। उनले भने, 'नेपालको सबै तहमा परिवर्तनको आभाष भएको छ। परिवर्तनको आभाष राजनीतिक र संवैधानिक तहमा पनि ऐतिहासिक रुपमा देखा परेको छ।'

नेपालले संविधानको निर्माणसँगै पछिल्लो राजनीतिक परिवर्तनको सुरुवात भएको उनको भनाइ थियो। उनले नेपालको संविधान अग्रगामी र लोकतान्त्रिक भएको बताए। त्यस्तै संविधानमा उल्लेख भएअनुसार संघीयतालाई कार्यान्वयनमा ल्याएको बताए।

प्रधानमन्त्रीले नेपालले आफ्नै मौलिक किसिमले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएको बताए। प्रधानमन्त्रीले नेपालले वर्तमान उपलब्धि हासिल गर्न ठूलो मूल्य चुकाएको भन्दै यसमा नेपालका मित्रहरूले खुसियाली मनाउनुपर्ने बताए। उनले भने, 'हामी वर्तमान परिस्थितिमा पुग्नका लागि ठूलो मूल्य चुकाएर आएका छौँ। हामी के विश्वास गर्छौँ भने नेपालको भलो चाहने शान्त राजनीतिक स्थिरता भएको र समृद्ध नेपाल देख्न चाहने मित्रहरूले नेपाली जनताको यो ऐतिहासिक उपलब्धिमा खुसियाली मनाउनु हुनेछ।'

प्रधानमन्त्री ओलीले नेपाल अब शान्ति, स्थिरता र विकासतर्फ तथा सामाजिक न्यायतर्फ अगाडि बढेको बताएका छन्। उनले अबका प्रत्येक पलको सही सदुपयोग हुने बताए। उनले त्यसरी समय खेर फाल्ने छुट नभएको बताए। उनले भने, 'हामीले प्रत्येक पलको सही सदुपयोग गर्नुपर्ने अवस्था रहेको छ। हामीलाई यी अवसर खेर फाल्ने छुट छैन। हामी सफल हुन सकेनौँ भने हामीलाई माफी माग्ने छुट छैन। हामीलाई सफल हुनुको विकल्प छैन। हामी समृद्ध नेपाल र खुसी नेपाली एजेन्डा लिएर अगाडि बढिरहेका छौँ।'

प्रधानमन्त्री ओलीले नेपालको पहिलो प्राथमिकतामा राष्ट्रियता पर्ने बताए। उनले भने, 'हाम्रो पहिलो प्राथमिकता राष्ट्रियता हो। हाम्रो सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वतन्त्रता तथा हाम्रा आफ्ना चासोको पूर्ति हो।'

 प्रधानमन्त्री ओलीले नेपाल कहिल्यैपनि कुनैपनि शक्तिको अधिनस्त नभएको सम्झाउँदै नेपालले परराष्ट्र नीति अपनाउदा पञ्चशील, असंगल्नता, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तराष्ट्रिय कानुन र विश्वशान्तिका लागि अपनाइने मूल्य मान्यतालाई अपनाउने बताए।

उनले सबै देशहरूसँग समानताका आधारमा सम्बन्ध राख्ने र भौगोलिक रुपमा सानो र ठूलो भन्ने मान्यतामा आफू नरहेको स्पष्ट पारेका छन्।

सबैसँग निकटताको व्यवहार गर्ने तर कसैसँग पनि सत्रुतापूर्ण व्यवहार नगर्ने बताए। उनले नेपाल सबैको राम्रो साथी बन्ने र सबैसँग राम्रो व्यवहार गर्ने बताए। उनले आजको बैठकले एकआपसमा विश्वास र बुझाइमा सहज हुने विश्वास दिलाएका थिए। उनले नेपालले अन्तराष्ट्रिय सम्बन्ध न्याय, सार्वभौमिकता र एकअर्काप्रतिको सम्मान र फाइदालाई मध्यनजर गरेर राख्ने बताए। उनले छिमेकी चीन र भारतसँग पनि राम्रो सम्बन्ध चाहेको बताए।

परराष्ट्र सम्बन्धबारे सचेत छौँ : मन्त्री ज्ञवाली

सरकारको नीतिबारे विश्वलाई चासो छ : नेता खनाल

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.