|

पाँचथर : पाँचथरका महिलाहरूको आर्थिक समृद्धिको आधार बनेको छ हाते कागज। पाँचथरकाे पहाडी क्षेत्रका महिलाहरू अहिले अर्गेलीको लोक्ता प्रशोधन गरी व्यावसायिक रूपमै कागज उत्पादन गरी अार्थिक उपार्जनकाे उपाय निकालेका छन्।

पाँचथरकाे पहाडी क्षेत्रमा पाइने अर्गेली, सत्बरुवाकाे बाेक्रा (लाेक्ता)लाई प्रशाेधन गरी कागज बनाउने प्रचलन छ। लाेक्ताबाट हातैले प्रशाेधन गरी बनाइएकाले नेपाली कागजलाई हाते कागज पनि भनिन्छ। नेपाली कागजकाे सरकारी कार्यालयमा बढी प्रयाेग गरिन्छ। सरकारी कागजात बनाउन, घरजग्गाकाे नक्सा बनाउन, चिना, तमसुक बनाउन बढी नै नेपाली कागज प्रयाेग गरिन्छ।

कीरा, धमिरा कम खाने भएकाले पनि नेपाली कागज अझै बढी लाेकप्रिय बनिरहेकाे छ। अहिले अाएर व्यावसायिक रूपमै नेपाली कागज उत्पादन हुन थालेकाे छ। त्यसरी नै पाँचथरका महिला पनि व्यावसाय उन्मुख हुन थालेका छन्। फिदिम लालीखर्ककी हाते कागज उत्पादक हेमकुमारी राईले महिनाकाे प्रति व्यक्ति ४० हजार रुपैयाँसम्म आम्दानी  हुने गरेकाे बताइन्।

‘अहिले गाउँमा महिलाले नै बढी लोक्ता निकाल्ने र प्रशोधन गरी कागज उत्पादन गर्ने गरेका छन्। घाम लागेका दिन सात पटकसम्म अर्गेलीबाट कागज उत्पादन गर्न सकिन्छ’, कागज उत्पादक राई भन्छिन्, ‘एकै पटकमा ६० वटा फ्रेममा लोक्ताकाे प्रशोधित कच्चा पदार्थ लगाउन सकिन्छ। घाम लागेको बेला करिव २० मिनेटमै सुकेर कागज तयार हुन्छ। दिनमा नै ४२० वटासम्म कागज तयार हुन सक्छन्।’

बजारमा अहिले एउटा कागज प्रति गोटा अढाई रुपैयाँदेखि १० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। उनले भनिन्, ‘लालीखर्कका महिलाहरू विदेश जाँदैनन्। विदेशमा कतिको विजोग छ। घरमै बसीबसी कागज उत्पादन गर्छाैं। यसरी नै घरखर्च चलेकै छ। मीठो मसिनो खान पुगिरहेकाे छ।’

जंगलबाट अर्गेलीको लोक्ता निकाल्नबाहेक प्रशोधनका काम सजिलो हुने भएकाले महिलाको कागज उत्पादनमा संलग्नता भएको हो। त्यसै खेर जाने अर्गेलीबाट कागज उत्पादन हुने थाहा पाएपछि अहिले भने कृषकले पाखाबारीमा अर्गेली खेती गर्नसमेत थालेका छन्। कतिपयले भने कागज उत्पादन नगरीकनै अर्गेलीबाट लोक्ता निकाल्दै बेच्ने थालेका छन्। यद्यपि, लालीखर्क क्षेत्रका महिलाले लोक्ता कम बेच्ने गरेका छन्। उनीहरूले आफैँ प्रशोधन गरी कागज उत्पादन गरिरहेका छन्। 

लालीखर्ककै अर्की कागज उत्पादक निर्मला राईले अन्य पेसाभन्दा कागज उत्पादन गर्न सजिलो हुने बताइन्। उत्पादित कागजलाई सहजै बजारमा पुर्‍याउन ‍सकिने अवस्था पनि रहेको उनको भनाइ छ। ‘उत्पादन गरेपछि बिक्री नहुने भन्ने छैन। व्यापारी गाउँमै छन्’, उनले भनिन्, ‘भ्याउँदा एकै दिनमा १०० वटा फर्मामा सात पटकसम्म लाउँछु। ७०० प्रति कागज तयार हुन्छ। प्रतिगोटा कम्तीमा अढाई रुपैयाँमा बिक्री हुन्छ।’ 

लालीखर्क, सुम्निमाचोकदेखि कान्छी दोकानसम्मका करिव १५० जना महिला हाते कागज उत्पादनमा सक्रिय छन्। उनीहरू झण्डै पाँच दशकदेखि निरन्तर कागज उत्पादन गर्दै आर्थिक उपार्जन गरिरहेका छन्। उत्पादित कागज सरकारी कार्यालयमा प्रशासनिक प्रयोजनार्थ बढी बिक्री हुने गरेको छ। व्यापारी हेमकुमारी राईले इटहरी, विराटनगर, पोखरा, बुटवलदेखि काठमाडौँमा कागज निर्यात गरिँदै आएको बताइन्। माग अन्यन्त्र पनि हुन्छ। ‘प्रयोगकर्ताहरूले यहाँको कागज राम्रो छ भन्छन्। मागअनुसार उत्पादन गर्न सकिन्नँ’, उनले भनिन्, ‘मासिक हामी पाँच लाख रुपैयाँसम्मको नेपाली कागज बेच्छौँ।’ 

कागज उत्पादक महिलाहरूका अनुसार असोजदेखि जेठसम्म उत्पादन बढी हुन्छ। घाम बढी लाग्ने भएको हुँदा फ्रेममा लगाएको कागज छिटो सुक्ने गर्छ। यद्यपि, लेकाली क्षेत्र पनि भएकाले असारदेखि भदौ अन्तिमसम्म त्यति घाम लाग्दैन। उत्पादन पनि कमी नै हुन्छ। यसैगरी जिल्लाको सप्तमी, सराङडाँडा, फाक्तेपको घुर्बिसे पञ्चमीका महिलाले पनि कागज उत्पादन गर्दै आएका छन्। दाजुभाइ जडिबुटी सहकारी संस्थाका अध्यक्ष होमराज थाम्सुहाङले अर्गेली खेती गरेर मनग्ये आर्थिक आम्दानी गर्न सकिने बताए।

जिल्लाका सिदिन, प्राङबुङ, मेमेङ, रानीटारको सुकेटार क्षेत्रमा अर्गेली रोपणमा किसानलाई प्रेरित गर्दै आएका उनले कागजसँगै गुणस्तरीय लोक्ताको बजार पनि राम्रो रहेको बताए। ‘लेकको खाली जमिनमा अर्गेली लगाउन किसानलाई प्रेरित गरिनुपर्छ, जसले गर्दा उत्पादन अझै बढोस्’, अध्यक्ष थाम्सुहाङले भने, ‘अझै हजारौँका लागि रोजगारी सिर्जना गर्न सकिन्छ। म आफैँले १५ जनाजतिलाई रोजगारी दिएको छु।’ 

किसानका अनुसार अर्गेली खेती गर्दा खासै स्याहार गर्नुपर्दैन। एक पटक रोपेपछि वर्षौंसम्म काट्दै लोक्ता निकाल्न सकिन्छ। लेकाली क्षेत्रको जस्तोसुकै ठाउँमा पनि अर्गेली हुन्छ। एउटै झ्याङमा कम्तीमा एक किलो लोक्ता निस्कने किसान बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.