सांसद भन्छन्- 'हामीलाई झुक्याइयो, झुक्याउनेलाई कारबाही होस्'

|

काठमाडौं : बुधबार संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गहन छलफल भयो। त्रिपक्षीय छलफलको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने विषयमा केन्द्रित थियो।

एमाले अध्यक्ष ओलीको सक्रियतामा भएको बैठकले महाभियोग प्रस्ताव संसदमा दर्ता गराउने सहमति निकाल्यो। 'शीर्ष तीन नेताबीच भएको छलफलले महाभियोग लगाउने विषयमा सहमति जुटायो। शेरबहादुरजीले विषयमा सहमति जनाए पनि परामर्शपछि हस्ताक्षर गर्ने बताउनुभयो', एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्माले ओलीले बिहीबार संसदमा पत्रकारसँग भने।

त्यसपछि सुरु भयो सांसदको हस्ताक्षर संकलन। महाअभियोग प्रस्ताव दर्ता एक चौथाई सांसदले हस्ताक्षर गर्नुपर्ने नियम छ। एमालेका ११७ जना सांसदले खाली कागजमा हस्ताक्षर गरे। माओवादी केन्द्रका ४० जना सांसदलाई विकासे परियोजनाका लागि भन्दै हस्ताक्षर गराइएको माओवादीकै सांसदहरु बताउँछन्। खाली कागजमा हस्ताक्षर गर्ने अधिकांश सांसदले हस्ताक्षर महाअभियोग प्रस्तावका लागि हो भन्ने चाल पछि मात्र पाएका थिए।

खाली कागजमा हस्ताक्षर संकलन

तीन शीर्ष नेताको परामर्श लगत्तै बुधबार दिउँसो ४ बजे एमाले संसदीय दलको बैठक डाकियो। सांसदहरु बैठकमा उपस्थित भए। संसदीय दलको बैठकमा उपस्थित हुँदा सांसदहरुले सधै रजिस्टरमा सही गर्थे। बुधबार उनीहरुलाई नाम मात्र लेखिएको कागजमा हस्ताक्षर गर्न दिइयो। बैठकमा उपस्थित सांसदले सही धस्काए। उनीहरुलाई अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाभियोग प्रस्तावमा हस्ताक्षर गर्दैछौँ भन्ने जानकारी थिएन।

आफूहरुलाई विषय जानकारी नदिइकन हस्ताक्षर गराएको एमाले सांसदहरुले बताए। थाहाखबरसँगको कुराकानीमा कतिपय सांसदले आफूहरुलाई झुक्काइएको समेत बताए।

एमाले सांसद भन्छन्- झुक्याइयो

एमालेकी सांसद रन्जना कुमारी सरकारले आफ्नो हस्ताक्षर महाभियोग प्रस्तावका लागि हुँदैछ भन्ने जानकारी नै नभएको बताइन्। 'नाममात्र भएको कागजमा हस्ताक्षर गराइयो। त्यसमा कुनै व्यहोरा  थिएन', उनले भनिन्, 'मेरो हस्ताक्षर महाभियोग प्रयोजनका लागि हो भन्ने कुरा पछि मात्र जानकारी पाएँ।'

एमालेका अर्का सांसद शत्रुधन महतोले आफूहरुलाई झुक्काइएको बताए। 'हामीलाई झुक्क्याएर सही गराइयो', उनले थपे,'बिहान मलाई फोन आयो- तपाईँले महाभियोग प्रस्तावका लागि हस्ताक्षर गर्नुभएको रहेछ। त्यसपछिमात्र थाहा भयो- मैले गरेको सही महाभियोगको लागि पो रहेछ।'

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले अबेरमात्र केही सांसदलाई संसदीय दलमा गराएको हस्ताक्षर लोकमानसिंह कार्की विरुद्ध महाभियोग लगाउनका लागि भएको जानकारी गराएका  थिए। 'लोकमानसिंह कार्की विरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको सूचना मैले प्रमुख सचेतकबाट धेरै अबेर पाएँ', एमाले सांसद रेवतीरमण भण्डारीले थाहाखबरसँग भने। 

संसदीय दलमा सही गराउनुअघि लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता हुँदैछ भन्ने जानकारी एमालेका वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, एमाले प्रमुख सचेतक भानुभक्त ढकाल र नेता अग्नी खरेललाई भने थियो। 

माओवादीका सांसद पनि 'बेखबर'

माओवादी केन्द्रमा हस्ताक्षर संकलनको जिम्मेवारी उर्जामन्त्री जनार्दन शर्माले पाएका थिए। उनले उपलब्ध सांसदलाई विकासे परियोजनाका लागि भन्दै सही गर्न लगाएको सांसदहरुले बताएका छन्। उनीहरुको नामावली सहितको हस्ताक्षर महाभियोग प्रस्तावका लागि भएको रहस्योद्‍घाटन पछि मात्रै भयो।

माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले लोमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भयो भनेर धेरै अबेर खबर पाएको बताए। 'मलाई संसद सचिवालयमा प्रस्ताव दर्ता भएको जानकारी हिजो धेरै अबेर मात्र प्राप्त भयो। महाभियोग दर्ता हुँदैछ भन्ने खबर पाएको थिइनँ', उनले भने।

माओवादीका एक सांसदले आफ्नो हस्ताक्षर महाभियोग प्रस्तावका लागि हो भन्ने कुरा बिहीबार बिहान मात्र चाल पाएको बताए। 'नेता जनार्दन शर्माले विकासे परियोजनाको लागि भन्दै हस्ताक्षर संकलन गर्नुभएको थियो', नाम उल्लेख नगर्ने सर्तमा ती सांसदले थाहाखबरसँग भने,'त्यो हस्ताक्षर अर्कै प्रयोजनका लागि रहेछ भन्ने कुरा बिहानमात्र थाहा भयो।'

माओवादीकै सांसद रुपा महर्जनले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै हस्ताक्षर दुरुपयोग गर्नेलाई कारबाही गर्न माग गरेकी छन्। उनले फेसबुकमा लेखेकी छन्- 'एउटा प्रयोजनको लागि गरिएको हस्ताक्षर अन्तै प्रयोग गरी लगाइएको महाभियोग प्रस्तावमा मेरो असहमति। मेरो हस्ताक्षर दुरुपयोग गर्नेलाई तत्काल कारबाही होस्। मेरो माग।'

माअोवादी केन्द्रमा लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता हुने अग्रिम जानकारी कृष्ण बहादुर महरा, जनार्दन शर्मा, महेन्द्र बहादुर शाहीलाई थाहा थियो। शाही प्रस्तावका प्रस्तावक समेत हुन्।

अब के हुन्छ?

संसद सचिवलायमा १ सय ५७ जना सांसदले हस्ताक्षर गरी बुझाएको महाभियोग प्रस्ताव संसदमा पेश हुन्छ। संसदमा पेश भएको प्रस्तावमा सांसदहरुले छलफल गर्छन्। त्यस प्रस्तावमा स्पष्टीकरण पेश गर्न लोकमानसिंह कार्कीलाई सात दिनको समय उपलब्ध गराइन्छ।

महाभियोग प्रस्तावमा बढीमा दुई दिनसम्म छलफल चलाउने संसद सचिवालयको तयारी रहेको प्रवक्ता भरतराज गौतमले जानकारी दिए। छलफलपछि प्रस्ताव महाभियोग सिफारिस समितिमा पुग्नेछ। त्यसपछि समितिले महाभियोग लगाउन पर्ने वा नपर्ने सम्बन्धी प्रतिवेदन संसदमा ३० दिनभित्र पेश गर्नुपर्ने छ।

समितिले महाभियोग लगाउन संसदमा सिफारिस गरेमा संसदमा कायम रहेको संख्याको दुई तिहाई मतले समितिको प्रतिवेदन पारित गर्नुपर्ने छ। यसो भएमा लोकमानसिंह कार्कीलाई महाभियोग लाग्नेछ। हाल संसदमा ५ सय ९५ सदस्य छन्। ती मध्ये ३ सय ९७ सांसदले महाभियोग प्रस्तावमा समर्थन जनाएमा लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट पदमुक्त हुनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.