|

काठमाडौं : कात्तिक ३ गते संसद सचिवालयमा एमाले र माओवादी केन्द्रका १ सय ५७ जना सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराए।

सांसदहरुले जति हतारोमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए, त्यही  रफ्तारमा संसदबाट महाभियोग प्रस्ताव छिनोफानो गरिनुपर्छ भनेर सांसद, दल निकट विद्यार्थी संगठन र नागरिक समाजका प्रतिनिधिले ध्यानकर्षण र खबरदारी गरिरहेका छन्। 

सभामुख ओनसरी घर्तीले पनि महाभियोग प्रस्तावलाई निष्कर्षमा पुर्‍याउन विलम्ब नहुने बताइरहेकी थिइन्। लोकमान सिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाभियोग प्रस्तावमा छिनोफानो गर्न ढिलाई हुने भएको छ। संसद बैठक कात्तिक २५ गतेसम्का लागि स्थगित भएपछि विलम्ब हुने भएको हो।

संसद बैठक १५ दिन सम्म किन स्थगित?

संसदमा महाभियोग प्रस्ताव पेश भएपछि कम्तिमा दुई दिनसम्म छलफल चलाएर महाभियोग सिफारिस समितिमा प्रस्ताव पेश गर्ने तयारी संसद सचिवालयले गरेको थियो। तर म‌ंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले दलीय सहमतिका लागि पनि समय आवश्यक रहेको र चाडपर्व पनि नजिकिएको भन्दै सभामुख ओनसरी घर्तीलाई बैठक छठपछि राख्न आग्रह गर्‍यो।

'आज बोल्नेहरुलाई बोल्न दिउँ, वस्तुनिष्ठ आधारमा सबैलाई छलफलको अवसर दिउँ, बैठक छठ पछि राखौं भनेर हामीले सभामुखलाई आग्रह गर्‍यौँ', एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने।

महाभियोगको विषयमा प्रमुख राजनीतिक दलहरु एकमत नभएको अवस्थामा सहमतिका लागि छलफलको समेत समय माग भएकाले सभामुख घर्तीले बैठक २५ गतेसम्म स्थगित गरेको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए। दशैंको बेलामा समयमै बिदा नपाएको भन्दै सांसदहरु आक्रोशित भएकाले पनि नजिकिँदो चाडपर्वलाई मध्यनजर गर्दै बैठक १६ दिनसम्म स्थगित भएको शर्माले बताए।

'महाभियोगको विषयमा समान धारणा बनाउन दलीय परामर्शका लागि पनि समय माग भएको थियो' उनले भने,' मुख्यत: चाडपर्वलाई मध्यनजर गर्दै  कार्यव्यवस्था परामर्श समितिको सुझाव अनुसार बैठक स्थगित भएको हो।'

संसदमा महाभियोग प्रस्तावबारे मंगलबारदेखि सुरु भएको सैद्धान्तिक छलफलमा प्रस्तावक महेन्द्र बहादुर शाही र समर्थक भानुभक्त ढकाल सहित १४ जना सांसदले बोलेका छन्। अन्य सांसदले २५ गते बस्ने बैठकमा बोल्नेछन्। 'महाभियोग प्रस्तावमाथिको सैद्धान्तिक छलफलले छठपछि निरन्तरता पाउनेछ', संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले भने, 'अधिकांश सांसदले बोल्न खोज्नुभएको छ.'

महाभियोग प्रस्तावलाई टुंगोमा पुर्‍याउन ढिलाई हुनुले चलखेलको शंका बढेको चर्चा सोसल मिडियामा भएको छ।  

महाभियोगको छलफल सुरु गरेर संसदले यति लामो विश्राम किन लियो ? अर्को बैठक २५ गते रे । चलखेलको आशंका !!!

— Shreeram Paudel (@srpaudel) October 25, 2016

यद्यपि समभामुख ओ‌नसरी घर्तीले महाभियोग प्रस्तावलाई टुंगोमा पुर्‍याउन चलखेलको ठाउँ नै नरहेको बताइसकेकी छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.