|

काठमाडौं : सभामुख ओनसरी घर्तीले संसदमा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन अब बिलम्ब नहुने जानकारी दिएकी छन्।

आफ्नै कार्यकक्षमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै सभामुख घर्तीले महाभियोगबारे परामर्श गर्न कांग्रेसले समय माग गरेकाले केही दिन ढिला भएपनि अब बिलम्ब नहुने जानकारी दिइन्।

'यो प्रक्रिया अगाडि बढ्छ। यसमा कुनै विलम्ब हुँदैन' उनले भनिन् 'कांग्रेसले परामर्श गर्न समय माग गरेपछि केही ढिला भएको हो। अब कुनै विलम्ब हुँदैन। संसद सचिवालयमा कात्तिक ३ गते दर्ता भएको महाभियोग प्रस्ताव कांग्रेसले परामर्शका लागि समय माग गरेका कारणले संसदमा टेबुल हुन केही ढिला भएको उनले बताइन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाभियोगको विषयमा साझा सहमति जुटाउन प्रयास भइरहेको आफूलाई जानकारी दिएको सभामुख घर्तीले बताइन्। 'महाभियोग प्रस्तावमा चलखेल हुने कुनै ठाउँ छैन। प्रधानमन्त्रीले यो विषयमा साझा सहमति जुटाउन आफूले पर्यन्त गरिरहेको जानकारी मलाइ दिइरहनुभएको छ। त्यसमा मत भिन्नता हुँदैन जस्तो मलाई लाग्दैन' उनले भनिन्।

सभामुख घर्तीले महाभियोग प्रस्तावमा १५७ जनाले हस्ताक्षर गरेर संसदमा कार्यालय समयभित्रै दर्ता गराएको जानकारी दिँदै रातारात टेबुल भएको भनाई गलत भएको बताइन्। महाभियोगको प्रस्ताव नयाँ भएकाले कानुनी सल्लाहकार र विज्ञहरुसँग परामर्श गर्दा केही बिलम्ब भएको उनले बताइन्। 'यो विषय मेरा लागि पनि नयाँ थियो। मैले कानुनी सल्लाहकार लगायन अन्य विज्ञहरुसँग परामर्श गरेँ यसमा समय लाग्दा केही विलम्ब भएको हो। यसमा शंका गर्नुपर्ने कारण छैन' उनले पत्रकारहरुसँग भनिन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.