|

कञ्चनपुर : सरकारी कागजात किर्ते प्रकरणको मुद्दामा दोषी ठहर भएकालाई जिल्ला अदालत कञ्चनपुरले तीन करोड ९० लाख ४० हजार जरिवानासहित एक/एक वर्ष कैद सजाय तोकेको छ। जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले सरकारी छाप दस्तकत किर्ते प्रकरणको मुद्दाको फैसला गरेका हुन्।

सरकारी वकिल कार्यालयले किर्ते र भन्सार चोरी पैठारी गरेको आरोपमा गोकुलप्रसाद श्रेष्ठ, दिनेश बम र तत्कालीन यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका प्रमुख हेमन्त सिंह लगायतका ९ जनाविरुद्धमा जिल्ला आदालतमा मुद्दा दायर गरेको थियो। गत वर्ष उनीहरू ९ जनाविरुद्ध २४ साउनमा सरकारी छाप दस्तखत किर्ते र १६ भाद्रमा भन्सार चोरी पैठारीसम्बन्धी मुद्दा दर्ता गरिएको थियो।

कञ्चनपुर जिल्ला आदालतका रजिष्ट्रार तथा सूचना अधिकारी हरिकृष्ण अवस्थीले तीन करोड ९० लाख ४० हजार जरिवानासहित दुई जनालाई एक/एक वर्ष कैद फैसला भएको बताए। उनका अनुसार सरकारी छाप दस्तखत किर्ते गर्ने र भन्सारी चोरी पैठारीका मुख्य अभियुक्त गोकुलप्रसाद श्रेष्ठ र दिनेश बमलाई जनही एक करोड ९५ लाख, ३० हजार जरिवाना र एक/एक वर्ष कैद फैसला गरिएको छ। श्रेष्ठ र बमलाई मुलुक ऐन किर्ते कागजात (७) नम्बर बमोजिम जरिवाना र सोही महल १२ बमोजिम कैद फैसला गरिएको रजिष्ट्रार अवस्थीले बताए।

श्रेष्ठ र बमलाई किर्ते र भन्सारी चोरी पैठारी गरेको ठहर गर्दै सरकारी कागजातको दुरुपयोग गरी विभिन्न व्यक्तिलाई बिक्री वितरण गरेको आदालतले ठहर गरेको छ। भन्सारले लिलाम गरेको भन्दै श्रेष्ठ र बमले मोटरसाइकल र जिप कार विभिन्न यातायात कार्यालयमा दर्ता गराई अवैध धन्दा चलाउँदै आएका थिए। सरकारी कर्मचारीको मिलोमतोमा उनीहरूले नक्कली सरकारी कागजात, छाप प्रयोग गर्दै धन्दा चलाएको प्रहरीले दाबी गरेको थियो। उनीहरूले सेटिङमा भारतबाट चोरी तस्करीका सवारी साधन नेपाल ल्याएर आफैले भन्सार चलान गर्ने आफैले लिलाम बोल्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।

सरकारी काजगात किर्ते र भन्सारी चोरीमा यातायात व्यवस्था कार्यालयका कर्मचारी निर्दोष भेटिएका छन्। गत वर्ष कञ्चनपुर प्रहरीले यातायातकै कर्मचारीको मिलोमतोमा सरकारी कागजात दुरुपयोग गरेर अवैध सवारी साधन दर्ता भएको निष्कर्ष निकाल्दै तत्तकालिन यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुखसहित सात कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको थियो। 

कञ्चनपुर जिल्ला आदालतले किर्ते प्रकरणमा महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका तत्तकालिन निमित्त कार्यालय प्रमुख हेमन्त सिंह, इन्जिनियर दीपक थापा, नायव सुब्बा त्रय नरेन्द्र राज जोशी, तारा दत्त भट्ट, महादेव भट्ट र खरिदारद्वय केशवदत्त भट्ट, श्यामराज ओझालाई सफाई दिइएको हो।
कार्यालय प्रमुख सिंहसहित सातै कर्मचारीले किर्ते गरेको नदेखिएको र उक्त प्रकरण थाहा पाउने वित्तिकै कारवाहीका लागि अघि बढेकाले उनीहरूको संलग्नता नदेखिएको ठहर गरिएको छ।

सरकारी कागजात किर्ते गरि सवारी साधनको अवैध कारोबार घटना प्रकरण पछि यातायात व्यवस्था विभागले महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख सिंह, ईन्जिनियर थापासहित सात कर्मचारीलाई निलम्बन गरेको थियो। कैलालीका गोकुल श्रेष्ठले भारतबाट चोरीका जिप, कार र मोटरसाइकल ल्याएर महाकाली र सेती अञ्चल यातायात कार्यालयमा दर्ता गराएर अवैध कारोबार गरेका थिए। भन्सार, बैंक लगायतका सम्पूर्ण कागजपत्र नक्कली बनाएर यातायातका कर्मचारीलाई घुस दिएर अवैध रुपमा सवारी साधन दर्ता गराएर बिक्री वितरण गरेका थिए।

कञ्चनपुर प्रहरीले घटनामा यातायातका कर्मचारीको संलग्नता रहेको भन्दै छानबिन गरेर दोसीलाई कानुनी दायरामा ल्याउने बताएको थियो। गतवर्ष कञ्चनपुर प्रहरीले सरकारी कागजात किर्ते गरि मोटरसाइकल र जिपकारको अवैध धन्दा गरिरहेका दिनेश बम र गोकुल श्रेष्ठ पक्राउ गरेको थियो। उनीहरूको साथबाट लाखौँका समान समेत बरादम गरिएका थिए।

नगद एक लाख रुपैयाँ बैंक अफ काठमाडाैंको १५ लाखको चेक, सहित २ थान ल्यापटप, १ थान सुनको सिग्री, ९ मोटरसाइकल, १ कार र २ खाली ब्लूबुकलगायतका सामाग्री बरामद गरेको थियो। बम र श्रेष्ठलाई पक्राउ गरेपछि सेती र महाकाली यातायात व्यवस्था कार्यालयमा दर्ता भएर सवारी साधन बिक्री वितरण भएको रहस्य खुलेको थियो।

बरामद गरिएका ८ कार मध्ये ६ कार दर्ता दुई दर्ता प्रक्रियामा थिए, यस्तै २२ मोटरसाइकल समेत बरामद गरिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.