संरक्षणका लागि प्रदेश सरकार तयार छ : मुख्यमन्त्री गुरुङ

|

अन्नपूर्ण बेसक्याम्प धरापमा पर्ने चिन्ता

पोखरा : घुम्नका लागि विश्वकै चर्चित मध्येको एक अन्नपूर्ण पदमार्गमा अहिले दिनानुदिन पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ। अन्नपूर्ण सर्किटको पनि अन्नपूर्ण बेसक्याम्प अहिले आन्तरिक तथा बाह्‍य पर्यटकको प्रमुख रोजाइको गन्तव्‍य हो। कास्कीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत पर्ने एबिसी क्याम्पमा सिजनमा दैनिक पाँचसयभन्दा धेरै आन्तरिक र बाह्य पर्यटकहरू पुग्ने गरेका छन्।

ग्ल्यासियरले गर्दा बेसक्याम्प ध्वस्त

तर,  यसरी दिनुदिन पर्यटकहरुको गन्तव्‍य बनेको एबिसी भने दिनदिनै धरापमा पर्दै गइरहेको छ। ‘बेसक्याम्प ग्ल्यासियरको कारणले ध्वस्त हुँदैछ,’ अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले भने, ‘पहिरोले सबै भासिएको छ। हिउँ हुने ठाउँमा हिउँ छैन। पूरै गेग्रान मात्रै छ।’ तत्कालै पहिरोको नियन्त्रण गर्न नसके बेसक्याम्प नरहने खतरा पनि रहेको कुँवरको चिन्ता छ।

०३५ सालबाट त्यहाँ हिउँ पहिरो जान थालेको स्थानीयलाई उदृत गर्दै कुँवरले बताए। ‘२०३५ सालबाट यहाँ पहिरो जान थालेको रे,’ उनले भने, ‘पहिले मान्छे फड्केर जान मिल्ने ठाउँ अहिले सय मिटर  टाढाको दुरीमा पुगिसक्यो। यस्तै हो भने बेस्क्याम्पमा बस्ने, अडिने ठाउँ पनि नरहला भन्ने डर छ।’

पर्यटनको राजधानी

उनले नेपालमा पर्यटनको राजधानी पोखरा र पोखराको पनि राजधानी अन्नपूर्ण रहेको दाबी गरे। ‘एबिसी घुम्न अहिले वार्षिक दुइलाख ५० हजार मानिस पुग्ने गरेका छन्,’ उनी भन्छन्, ‘गत वर्षको तथ्याङ्क हेर्ने हो भने विदेशी ८५ हजार र अरू सबै नेपाली मात्रै त्यहाँ पुग्ने गरेका छन्।’

धरापमा बेसक्याम्प

यसरी मानिसहरु दिनानुदिन यहाँ ओइरिरहने, बेसक्याम्पको संरक्षण र पर्यावरण जोगाउन कसैले ध्यान नदिने हो भने बेसक्याम्प त धरापमा पर्छ नै, यहाँका स्थानीयहरु जोखिममा हुने डर पनि उत्तिकै देखिन्छ। ‘बेसक्याम्प जोगाउन पहिले यहाँको पर्यावरण जोगाउनु पर्नेछ,’ उनले भने, ‘यसका लागि प्रदेश सरकार, संघीय सरकारले पनि सहयोग गर्नुपर्ने हुन्छ। यहाँकै स्थानीय स्रोत र साधनको प्रयोग गरेर जैविक संरक्षणमा हामी लाग्नुपर्छ अनि मात्र यसको संरक्षण हुन्छ। हाम्रो गाउँपालिका यसको संरक्षणमा लागिसकेको छ।’ हिउँ पहिरो रोक्न चेक ड्याम बनाउनुपर्ने उनको भनाइ छ।

संरक्षणका लागि प्रदेश सरकार तयार छ : मुख्यमन्त्री गुरुङ

शनिबार सुटुक्क गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ एबिसी क्याम्प पुगे। उनलाई एबिसीसम्म लाने प्रवन्ध मिलाएका थिए अन्नपूर्ण गाउँपालिका प्रमुख कुँवरले। त्यहाँ पुगेपछि मुख्यमन्त्री दंग परे। त्यहाँ गएको पहिरो देखेर गुरुङले गाउँपालिका प्रमुख कुँवरलाई सोधे, ‘यति सुन्दर ठाउँ छ तर, यो डोजर खनेजस्तो के भएको ?’ गाउँपालिका प्रमुखले उत्तर दिए, ‘यहाँ काँबाट डोर आउनुस माननिय ज्यू, यो त पहिरो हो नी यै देखाउन मैले तपाइँलाई यहाँ ल्याएको। यो रोक्न नसके बेसक्याम्प नै धरापमा पर्छ नि।’ लगत्तै मुख्यमन्त्रीले फेरि भने, ‘यसको संरक्षणका लागि के गर्नुपर्छ प्रदेश सरकार सहयोग गर्न तयार छ।’

आगो र ग्यास नबाल्ने योजना

अन्नपूर्ण गाउँपालिकाले तीन हजार उचाइभन्दा माथिका पर्यटकीय क्षेत्रमा ग्यास, दाउराबाट आगो बाल्ने कामलाई पूर्ण रूपमा हटाउने योजनासमेत अघि सारेको छ। ‘यहाँको वातावरणीय पर्यावरण जोगाउनको लागि पनि हामीले ग्यास, दाउराको प्रयोगलाई पूर्ण रुपमा हटाउने योजना बनाएका छौँ,’ गाउँपालिका प्रमुख कुँवरले भने, ‘मुख्यमन्त्रीज्यूलाई पनि भनिसकेका छौँ। हाम्लाई लघुजलविद्युतले भएन केन्द्रीय प्रशारणको लाइन जोड्नुपर्‍यो भनेर। यसमा उहाँ पनि सकरात्मक हुनुहुन्छ।’ अन्नपूर्ण गाउँपालिकाका २१ सय मिटरभन्दा माथि बसोबास गर्नेहरू कसैको लालपुर्जासमेत छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.