|

काठमाडौं : संविधान संशोधन विधेयक कात्तिक मसान्तभित्र संसदमा दर्ता गर्ने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरे। 

सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको कार्यालयमा अपरान्ह चार बजे बैठक तय भयो। बालकोटबाट ओली ४ बजेर १२ मिनेटमा सिंहदरबार आइपुगे। समाचार सम्प्रेषणका लागि पुगेका सञ्चारकर्मीसँग मुस्कुराउँदै उनले भने- ‘कुराकानी गर्न आइयो हेरौँ के हुन्छ।’

ओली सभामुखको कार्यालयमा छिरेको केहीबेरमै प्रधानमन्त्री दाहाल आइपुगे। त्यसपछि उनीहरुबीच संविधान संशोधनको विषयमा वान टू वान १ घन्टा लामो कुरा भयो। मधेशी मोर्चासँग चारबुँदे सहमति गरी उनीहरुको समेत समर्थनमा प्रधानमन्त्री भएका प्रचण्ड संविधान संशोधन गर्ने प्रतिवद्धता पूरा गर्न सक्रिय छन्। संविधान संशोधनका लागि दुई तिहाइ बहुमत आवश्यक हुने भएकाले एमालेलाई मनाउन परामर्श गरिरहेका छन्।

बिहीबारको छलफलमा उनले विपक्षी दलका नेता केपी शर्मा ओलीसँग संविधान संशोधनको लागि अनुमति माग गरे। ‘आज भएको छलफलमा प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँग संविधान संशोधन  प्रस्ताव दर्ता गराउनका लागि अनुमति माग्नुभयो’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘संविधान संशोधन प्रस्ताव दर्ता गराउनुअघि कांग्रेस एमाले र माओवादीका शीर्ष नेताबीच पुनः एकपटक छलफल गरिने विषयमा कुरा भएको छ।’

आचार्यले कात्तिकभित्र प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्ताव दर्ता गराइछाड्ने दाबी गरे। आचार्यले बैठकबारे जानकारी दिएको केहीबेरमै एमाले अध्यक्ष ओली बैठक कक्षबाट निस्किए। सञ्चारकर्मीको एमाले संविधान संशोधनमा तयार भएको हो? भन्ने प्रश्न ओलीलाई गरे। ‘हँ---’ ओली अल्मलिए।

एक घन्टा प्रधानमन्त्रीसँग संविधान संशोधनबारे छलफल गर्दा समेत आफू संविधान संशोधनको औचित्यबारे प्रष्ट नभएको प्रतिक्रिया आक्रोशित मुद्रामा दिए। ‘संविधान संशोधन के लागि कसका लागि किन मैले अझैसम्म बुझेको छैन,’ ओलीले जंगिदै भने।

ओलीले जवाफ दिएको केहीबेरमा प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिए। 'गोविन्द दाइले दिएको जवाफ मिलेन प्रधानमन्त्रीज्यू, बैठकमा के भयो,' एक सञ्चारकर्मीले प्रधानमन्त्रीलाई प्रश्न गरे। 

‘संविधान संशोधनको विषयमा गम्भीर छलफल भयो,’ अर्को कार्यक्रममा सहभागी हुन हतारमा रहेका प्रधानमन्त्रीले मुभ हुँदै सटिकमा जवाफ दिए।

सोमबारसम्म संविधान संशोधनमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

संविधान संशोधनको विषयमा एमालेको सहमति जुटाउन सत्तारुढ दलले प्रयत्न गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार आचार्यले बताए। भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी संविधान संशोधनका लागि सरकारले गृहकार्य जारी राखेको र छिट्टै संशोधन हुने जानकारी कांग्रेस सभापति देउवाले भनेका थिए।

 एमालेले सहमति नजनाए पनि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएरै छाड्ने सत्तारुढ दलको तयारी छ। ‘प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो,’ आचार्यले भने,‘सहमति नभए पनि दर्ता गर्ने सरकारको तयारी छ कात्तिक मसान्तभित्र दर्ता हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.