|

काठमाडौं : सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई क्यान्सरको उपचार गर्न ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ। विशिष्ट व्यक्तिलाई उपचार खर्चबापत १५ लाख रुपैयाँ भन्दा बढी नदिने स्वास्थ्य मन्त्री गगन थापाको प्रस्ताव 'होल्ड' गर्दै मन्त्रिपरिषद् बैठकले कोइरालालाई ५० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको हो।

'सरकारले उपचार खर्च दिने निर्णय गरेको छ', कानुनमन्त्री अजयशंकर नायकले थाहाखबरलाई भने। तर सरकार प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बैठकको निर्णय पत्रकारलाई सुनाउँदा भने कोइरालालाई उपचार खर्च दिने निर्णय लुकाएका थिए। यसअघि पनि मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दा सरकारका प्रवक्ता कार्कीले स्पष्ट जानकारी दिएका थिएनन्। पढ्नुस्ः सरकारका प्रवक्ताले सार्वजनिक नगरेका मन्त्रिपरिषदका ३ निर्णय

क्याबिनेटमा थापा भर्सेस निधी

स्वास्थ्यमन्त्री थापाले आइतबारको बैठकमा विशिष्ट व्यक्तिलाई उपचार खर्चबापत १५ लाख भन्दा बढी नदिने प्रस्ताव पेश गरेका थिए। बैठकमा गृह मन्त्री विमलेन्द्र निधीले ५० लाख रुपैयाँ उपचार खर्च दिने प्रस्ताव गर‍ेको थिए। मन्त्रिपरिषद्को आइतबारको बैठकले स्वास्थ्य मन्त्री थापाको प्रस्ताव थाती राखेर गृहमन्त्री निधीको प्रस्ताव पारित गरेको हो।

सुजाता कोइरालालाई ५० लाख रुपैयाँ दिने सरकारको निर्णयमा आफू सहमत नभएको मन्त्री थापाले थाहाखबरलाई बताए। 'मैले आज विशिष्ट व्यक्तिलाई १५ लाख भन्दा बढी उपचार खर्च नदिने प्रस्ताव राखेको थिए',थापाले भने, 'गृहमन्त्रीको प्रस्ताव बैठकले पारित गरेछ।' स्वास्थ्यमन्त्री थापा भने मन्त्रिपरिषद् बैठकमा उपस्थित थिएनन्। 

सर‍कारको निर्णयप्रति असन्तुष्टि जनाउँदै थापाले भने- 'विशिष्ट व्यक्तिको स्वास्थ्य उपचार खर्च निर्धारण गर्ने प्रस्ताव पारित हुन जरुरी थियो। अर्को प्रस्ताव पारित भएछ। मेरो यसमा कुनै सहमति छैन।'

सुजातालाई क्यान्सर

पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी कांग्रेस नेतृ सुजाता कोइराला एक महिना लामो मलेसिया भ्रमणबाट २६ अक्टोबरमा नेपाल फर्किएपछि घरमै आराम गरिरहेकी छन्।

एसियाली महिलाहरुको सञ्जाल (आइक्याप) को सम्मेलनमा सहभागी हुन मलेसिया पुगेकी कोइराला त्यहीँ अस्वस्थ भएकी थिइन्। त्यसपछि सिंगापुरमा पठाइएको नमूना परीक्षणबाट उनलाई क्यान्सर भएको पुष्टि भएको थियो। कोइरालाले नेपाल फर्किएपछि क्यान्सर उपचारका लागि सरकारसँग सहयोग मागेकी थिइन्। पढ्नुस्ः सुजाता कोइरालालाई क्यान्सरको शंका, उपचारका लागि सरकारसँग १ करोड माग

सम्बन्धित समाचारः कोइराला परिवारको खानदानी रोग क्यान्सर : को को भए शिकार?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.