|

काठमाडौं : झण्डै १०० वर्षअगाडि थातथलो सिन्धुलीको दुम्जा छोडेर बिराटनगर झरेका कृष्णप्रसाद कोइरालाका तीन छोरा मातृका, वीपी र गिरिजाप्रसाद प्रधानमन्त्री बने। त्यसै परिवारका सुशील कोइराला पनि प्रधानमन्त्री भए। 

पूर्व विराटनगरदेखि पश्चिम नेपालगञ्जसम्मका कोइराला परिवार २००७ सालअघि र हालसम्म पनि राजनीतिको केन्द्रमा नै रहे। यस हिसाबले कृष्णप्रसाद कोइराला परिवारको रगतमै राजनीति छ। रगतमा राजनीति मात्र होइन कोइराला परिवारलाई असाध्य रोग क्यान्सरले समेत सताइरहेको पाइएको छ। पछिल्लो पटक गिरिजाप्रसाद कोइरालाकी छोरी सुजातालाई स्तन क्यान्सरको आशंका गरिएको छ। 

‘कोइराला परिवारका सबै सदस्यलाई क्यान्सर लाग्छ भन्ने त होइन, तर धेरैलाई यसले सताएको हो’, पूर्व प्रधानमन्त्री सुशील कोइरालाका भाइ अशोकले थाहाखबरसँग भने। पूर्व प्रधानमन्त्री बीपी कोइराला परिवारमा क्यान्सर लाग्ने पहिलो सदस्य हुन्, जसलाई ४० वर्षपहिले संक्रमण भएको थियो।  

वीपी ‘भारत छोडो’ आन्दोलमा भाग लिँदा इस्ट इन्डिया कम्पनी सरकारले सन् १९४६ (बिसं २००२) सालमा जेल परेको बेला नै उनलाई क्यान्सर भएको थियो। जेलमुक्त भएपछि वीपी राजेन्द्रप्रसाद (जो भारतका पहिलो राष्ट्रपति हुन्) ले बम्बईमा पहिलो पटक क्यान्सरको उपचार गराएको इतिहासकार पुरुषोत्तम बस्नेत बताउँछन्। वीपीको घाँटीमा लागेको क्यान्सरको उपचार भारत र अमेरिकामा पटक पटक गरिए पनि २०३९ सालमा मृत्यु भएको हो।

कृष्णप्रसादकै छोरा गिरिजाप्रसादको पनि २०६६ साल चैतमा प्यान्क्रियाजमा लागेको क्यान्सर मृत्युको कारण बन्यो। वीपीको मृत्युअघि नै उनका सहोदर भाई केशवप्रसाद कोइराला (नेता डा. शेखरका पिता) को एक बर्षअघि नै प्रोस्टेट क्यान्सरका कारण मृत्यु भएको थियो। 

कृष्णप्रसाद कोइरालाकी छोरी बुनु कोइराला जक्की (जसको पाकिस्तानी नागरिकसँग विवाह भएको थियो) को पनि २०५० सालपछि क्यान्सरकै कारण निधन भएको हो।

कृष्णप्रसादका अर्का छोरा तारणीप्रसादकी छोरी कल्पना कोइराला बस्नेतको समेत क्यान्सर रोगका कारण मृत्यु भएको थियो। कल्पनाका पति लक्ष्मणबहादुर बस्नेत हुन्, जो नेपाल ट्रेड युनियन कांग्रेसको लामो समयसम्म अध्यक्ष भए।

कृष्णप्रसादकै छोरा मातृकालाई क्यान्सरले त छोएन तर उनकी छोरी कविता कोइराला शर्माको क्यान्सर रोगकै कारण मृत्यु भयो। प्रसिद्ध कानुन व्यवसायी गणेशराज शर्माका भाई माधव शर्माकी पत्नी कविताको जर्मनीमै मृत्यु भएको थियो।

मातृकाकी बुहारी धन कोइरालालाई समेत क्यान्सरले पछ्यायो र त्यसै कारण मृत्यु भयो। धन कोइराला बामपन्थी नेता कमल कोइरालाकी पत्नी हुन्। क्यान्सर रोगको आक्रमणबाट सताइएका कोइराला परिवारका सदस्यहरु यसप्रति बढी नैं सतर्क भएको देखिन्छ।

वीपीका सानिमाका छोरा पूर्व प्रधानमन्त्री सुशील कोइराला पनि क्यान्सर रोगबाट सताइए। एक दशकअघि जिब्रोमा देखिएको क्यान्सरको उपचारबाट उनी ठीकठाक त भए तर गतबर्ष उनको मृत्यु भयो। ‘सुशील दाको निधन क्यान्सरले भएको होइन’, सहोदर भाइ अशोक कोइराला भन्छन् ‘क्यान्सर लागेपनि त्यो त ठीक भइसकेको थियो।’

सुशीलका जेठो दाइ प्रमोद कोइरालाको निधन पनि फोक्सोको क्यान्सरका कारणले भएको थियो। बीपीकी नातीनी बलिउडकी चर्चित नायिका मनिषा (छोरा प्रकाशकी छोरी) कोइरालालाई पनि सात बर्षअघि पाठेघरको क्यान्सर देखिएको थियो। उनको पाठेघरको क्यान्सरको सफल शल्यक्रियापछि उनी साधारण जीबनशैलीमा फर्किइकेकी छन्।

कोइराला परिवारका सदस्यमा पछिल्लो पटक नेतृ सुजातालाई स्तन क्यान्सरको आशंका गरिएको छ। उनले आफूलाई क्यान्सर लागेको बारेमा परिवारकै कतिपय सदस्यलाई समेत भनेकी छैनन्। नेतृ सुजातालाई क्यान्सर लागेको हो वा होइन भन्ने निश्कर्षमा पुग्न भने सिंगापुरबाट आउने नमुना परीक्षणको परिणाम कुर्नु पर्ने परिवारका सदस्यहरु बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.