|
तस्विर सौजन्य– कृष्णमणि बराल

पोखरा : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम तोकिएको समयभन्दा छ महिना अघि नै पूरा गर्ने दाबी निर्माण कम्पनीले गरेको छ। २०१७ को नोभेम्बरमा काम सुरु गरेको चिनियाँ कम्पनीले हालसम्म २० प्रतिशत काम पूरा भएको जनाएको छ। 

मुख्य 'रन वे'को काम अबको एक महिनामा निर्माण सम्पन्न गर्ने विमानस्थल निर्माण कम्पनी सीएएमसीईका फिल्ड म्यानेजर मिस्टर झुले बताए। ‘द्रुत गतिमा काम भइरहेको छ,’ उनले भने, ‘हामीले जिम्मा पाएको समयभन्दा छ महिनाअघि विमानस्थलमा जहाज ‘ल्याण्ड’ गर्न मिल्ने बनाउँछौँ। सन् २०२० भित्रै काम सक्नेगरी अघि बढेका छौँ। मुख्य रनवेको काम एक महिनाभित्र सकिन्छ।’

२०२१ को जुलाइ १० मा निर्माण सक्नेगरी कम्पनीले नेपाल सरकारसँग सम्झौता गरेको छ। फिल्ड म्यानेजर झुले रनवेको अन्तिम तहको काम भइरहेको जानकारी दिए। चिनियाँ र नेपाली गरी ४०० भन्दा बढी मजदुर विमानस्थल निर्माणमा खटिएका छन्। मजदुरहरु अहिले रनवे, एप्रोन, टर्मिनल भवन, पार्किङ स्थल लगायत बनाउने काममा व्यस्त रहेको झुले बताए।

विमानस्थलमा निर्माण भइरहेको टर्मिनल भवन १४ हजार वर्गमिटरको बन्नेछ। आठ हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय र छ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि प्रयोग हुने बताइएको छ। टर्मिनल भवनको शिलान्यास गत भदौ ६ गते अघि पर्यटन मन्त्री रवीन्द्र अधिकारीले गरेका हुन्।

नागरिक उड्ययन प्राधिकरण २०२१ को जुलाइबाट अन्तर्राष्ट्रिय उडान पोखरा विमानस्थलबाट पनि गर्ने योजनामा छ। २२ अर्ब रुपैयाँको लागतमा बन्ने विमानस्थल अन्तर्राष्ट्रिय उड्ययन संस्था आईकाओको मापदण्ड अनुरूपको हुनेछ। नेपाल सरकारले चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋणमा लिएर बनाउन सुरु गरेको हो। 

१८० सिट क्षमताको जहाज पोखरामा अहिले विश्वका धेरै देशहरूमा उडान भरिरहेका मझौला खालका विमानले पोखराबाट उडान भर्ने मन्त्री अधिकारीले बताए। ‘पोखरामा मझौला खालका जहाजले उडान भर्नेछन्’, मन्त्री अधिकारीले भने, ‘यहाँ उड्ने जहाज १८०–८२ सिट क्षमताका हुनेछन्। पोखरा उपत्यका सानो भएकोले यहाँ विमानस्थल ठूलो बनाए पनि यो क्षमताभन्दा ठूला जहाज उड्न सक्दैनन्।’

२०३१ सालमा भएको तीन हजार १०६ रोपनी र २०७२ सालमा अधिग्रहण भएको ६२९ रोपनीभित्रै विमानस्थल बन्ने भएको हो।  ‘पोखरा एयरपोर्टको काम प्रभावकारी रूपमा अगाडि गइरहेको छ’, उनले भने ‘विमानस्थलमा गर्नुपर्ने न्यूनतम सबै काम सकिएका छन्। जग्गा अधिग्रहण पनि सकियो।’ नागरिक उडड्यन प्राधिकरणका अनुसार २०१९ लगत्तै पोखरा विमानस्थलमा जहाजहरु 'इमर्जेन्सी ल्याण्ड' गर्न समेत मिल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.