|

काठमाडौं : कांग्रेस नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सर उपचारका लागि ५० लाख रुपैयाँ दिने सरकारको निर्णय अहिले विवादित बनेको छ। सर्वसाधारणले कर मार्फत तिरेको रकम मनोमानी रुपमा दलका नेताहरुलाई बाँडेको भन्दै सामाजिक सञ्जाल र सञ्चार माध्यममा सरकारको आलोचना भइरहेको छ। 
नेताले माग्दा क्यान्सर उपचारका लागि ५० लाख रुपैयाँ दिएको सरकारले सर्वसाधारणलाई भने जम्मा ५० हजार दिएको पाइएको छ।

स्वास्थ्य मन्त्रालयले क्यान्सर उपचारका लागि २०६५ देखि २०७० सालसम्म २५ जना सर्वसाधारणलाई प्रति व्यक्ति ५० हजार रुपैयाँ औषधी उपचार आर्थिक सहायता दिएको छ। सोमबार थाहाखबरले मन्त्रालयमा औषधी उपचार आर्थिक सहायता सम्बन्धी विवरण माग्दा २०६५ सालदेखि २०७० सालसम्मको मात्र विवरण भेटियो। 'हामी अन्य सालको सहयोग विवरण अध्यावधिक गर्ने क्रममा छौं अहिले हामीसँग भएको विवरण २०७० सालसम्मको मात्र हो,'स्वास्थ्य मन्त्रालयका लेखा अधिकृतले भने। विवरण अनुसार सामान्य नागरिकलाई क्यान्सरको उपचारका लागि ५ वर्षमा १२ लाख ५० हजार रुपैयाँ सहायता दिइएको पाइएको छ।

कसरी पाउँछन् सर्वसाधरणले सहायता ?

सरकारले विपन्न नागरिकलाई मात्र उपचारमा सहयोग गर्छ। त्यसका लागि विरामीको परिवार विपन्न भएको प्रमाण पेश गर्नुपर्छ। त्यो प्रमाणपत्र गरिबी निवारण कोषले उपलब्ध गराउँछ। त्यसका चिकित्सकले रोगको प्रमाणिकरण गरेको सिफारिस पनि पेश गर्नुपर्छ।

विरामीको परिवार विपन्न भएको सिफारिस जिल्ला स्वास्थ्य कार्यालय प्रमुखको नेतृत्वमा जिल्लामा रहेको समितिले गरेमा पनि उपचार खर्च पाउने स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेतीले जानकारी दिए। 'विरामीको परिवारले यो प्रमाण पेश गरेपछि अनुसन्धान गरेर  मन्त्रालयले विरामीलाई सहयोग गर्छ,' उनले थाहाखबरसँग भने,'विरामीलाई जुन अस्पतालमा रिफर गरिन्छ त्यहीँ स्वास्थ्य मन्त्रालयले निश्चित रकम भर्पाई गर्छ।' 

एक वर्षयता राज्यकोषबाट उपचार खर्च लिने विशिष्टहरु को को हुन्?

२०७२ सालदेखि २०७३ सालसम्म १० जना विशिष्ट व्यक्तिले राज्यकोषबाट औषधी उपचार सहायता लिएका छन्। जसमा पूर्व प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली, पूर्व राष्ट्रपति रामवरण यादव, पूर्व प्रधानन्यायाधीश रामकुमार प्रसाद शाह, कांग्रेस नेता चक्र बास्तोला, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री तुलसी गिरी, कांग्रेस नेता गोविन्दराज जोशी र पूर्व परराष्ट्रमन्त्री सहाना प्रधान छन्।

यता  ६५ साल देखि २०७० सालको  अवधिमा सरकारले जनआन्दोलका ८ जना घाइतेको उपचारमा सहयोग गरेको छ। ८ जना जनआन्दोलनका घाइतेको उपचारमा ५ वर्षको अवधिमा सरकारको २९ लाख ५० हजार रुपैयाँ खर्च भएको छ। जसमा सबैभन्दा बढी उपचार सहायता पाउनेमा कास्कीका मेघराज आचार्य छन्। तीनपटक गरी ९ लाख ५० हजार सहायता पाएका छन्।

५ वर्षको अवधिमा स्वास्थ्य मन्त्रालयमार्फत मात्रै १ सय ९४ जनाले उपचार सहायता लिएका छन्। यो अवधिमा ३५ करोड ८९ लाख ४ हजार २ सय ६५ रुपैयाँ खर्च भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.