कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका ६ विद्यानगरमा दुईजनाले चार विघा जग्गा भाडामा लिएर केरा खेती थालेका छन्। स्थानीय प्रतापसिंह राना र करमसिंह रानाले महाकाली बहुमुखी क्याम्पस र अन्य स्थानीयको जग्गा भाडामा लिई केराखेती थालेका हुन्।
प्रताप र करमसिंह नाताले काका भतिजा हुन्। उनीहरूले छ हजार पाँच सय जिनौ जातको केराका बोट रोपेका छन्। बेलौरी नगरपालीकाको कृषि शाखाले केराको बिरुवाको मूल्यको ५० प्रतिशत रकम अनुदान स्वरूप व्यहोरेको छ। भाडामा लिएको जग्गामा केरा खेतीका लागि १५ लाख रुपैयाँ लगानी गरिएको प्रतापसिंहले बताए।
'अझै दुई विघा जग्गामा केरा खेती विस्तार गर्न जग्गा खोजी गरिरहेकाछौँ', उनले भने, ‘केरा खेतीकै लागि बैंकबाट २५ लाख ऋण लिएका छौं। चार विघा जग्गामा रोपेको केरामा १५ लाख खर्च भएको छ।’ भाडामा लिइएको जग्गा प्रतिविघाको वार्षिक ५८ हजार देखि ६५ हजार तिर्नुपर्ने उनले बताए।
उन्नत जातको केरा भएकाले खर्च कटाएर एक वर्षमा २० लाख देखि २५ लाखसम्म आम्दानी हुने उनीहरूको भनाइ छ। केरासँगै अन्तर बालीका रूपमा आलु र खुर्सानीसमेत सँगै रोपेर उनीहरूले अतिरिक्त आम्दानी गर्दै आएका छन्। केरा गोडमेल, बगान व्यवस्थापन गर्न, मल राख्न, सिचाई गर्न, टुसा हटाउने लगायत कार्य गर्न ज्यालादारीमा २० जना कामदारलाई केरा खेतीमा लागेका उनीहरूले रोजगार दिएका छन्।
केराका टिस्यु कल्चर गरेका बोटहरु काठमाडौं बाट ल्याई नर्सरीमा लगाई हुर्काएर खेतमा रोप्ने गरेको करम सिंहले भने, ‘नर्सरीमा हुर्काएका बोटहरू पनि रोप्छौँ। अन्य किसानलाई बेचेर आम्दानी हुने गरेको छ।’ यस वर्ष देखि बेमौसमी केराका बोट रोप्ने तयारी गरिएको उनले बताए। परीक्षणका रूपमा पहिलो पटक फागुन महिनामा बेमौसकी केराका बोटहरु रोप्न जग्गा खोजी गरेको उनले बताए।
खेतमा रोपेको केरा १५ महिनामा बजारमा बेच्नका लागि तयार हुन्छ। केराको माग अधिक रहेकाले बजारमा सहजै बिक्री हुने गरेको छ। उत्पादन भएको काँचो केरा ३५ देखि ४० रुपैयाँ दर्जनका दरले कैलाली कञ्चनपुरदेखि डडेल्धुरासम्मका व्यापारीले लैजाने गरेको करमसिंहले बताए।
भारतको उत्तरप्रदेशको लखनउका किसानले गरेको केरा खेतीबाट पाठ सिक्दै विना तालिम केरा खेती गर्दै आएको उनले बताए। सुरुमा करमसिंहले मात्र केराखेती गर्थे। उनकै प्रेरणाले भतिजा प्रतापले समेत काकासँग मिलेर केरा खेती अँगालेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।