|

कालिकोट : हुम्ला, डोल्पा जुम्ला, मुगु र कालिकोटका जंगल लेक र पाटनमा पाइने जडीबुटीको बर्सेनी हुने संकलन र दोहनले यहाँका स्थानीयबासीको जीवनस्तर उकासिएकाे छ। तर पनि संरक्षण हुन नसक्दा यी जिल्लामा जडीबुटीको मूल क्षेत्र पाटनहरूमा बहुमूल्य जडीबुटी लोप हुन थालेका छन्।

स्थानीयका लागि आम्दानीको प्रमुख स्रोत भए पनि बर्सेनी दोहनका कारणले जडीबुटी लोप हुन लागेका हुन्। वनस्पति विभागका अनुसार सात हजार किसिमका फूल फुल्ने वनस्पतिमध्ये ७०० प्रजातिका वनस्पति जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएको र ती औषधिका रुपमा प्रयोग हुने जडीबुटीमध्ये सबैभन्दा बढी कर्णाली क्षेत्रमा जडीबुटी उत्पादन हुने गरेको तथ्यांक रहेको छ।

कर्णालीमा पाइने धेरै प्रजातिका जडीबुटीमध्ये यार्सागुम्बा प्रमुख जडीबुटी हो। तर बर्सेनि पाटनमा यार्सा दोहोन गर्दै जाँदा अघिल्ला वर्षहरूका तुलना यस वर्ष खासै पाटनमा पाइएन। यार्सागुम्बा पाइने पाटनहरुमा पुगेका यहाँका स्थानीय यार्सागुम्बा नपाइदा त्यहीबाट भारत पलायन हुन पुगेका छन्। 

विगतका तुलनामा यार्सागुम्बा कम पाइन थालेको मुगु जिल्ला मुगु कार्मारोङ गाउँपालिका २ का वडाध्यक्ष कार्मा तामाङले बताए। ‘पहिला पहिला यार्सागुम्बा धेरै पाइने पाटनमा यो बर्ष पाइदै पाइएन्’ उनले भने,‘यार्सागुम्बाको दोहन मात्र भयो। त्यसको संरक्षण हुन सकेन।’ कर्णालीका उच्च हिमाली भेगका रिमार, कोइकी, हाङदाङ खोला, छापाखोला, दोल्फु पाटन, टाके लगायतका पाटन क्षेत्रमा यार्सा कम पाइन थालेको बिगत ११ वर्षदेखि यार्सा संकलन गर्दै आएका डोल्पा त्रिपुरा सुन्दरी गाउँपालिका म्याम्बो लामाले बताए।

‘सुरुका वर्षमा पाटन यार्सागुम्बा धेरै पाइने गरेको थियो ’ उनले भने,‘वर्सेनि दोहनले पाटनमा यार्सा पाउन कठिन भएको छ।’ त्यस्तै चिराँइतो, कटुकी, पाँचऔंले आदि जडीबटी भदौ-असोजमा संंकलन गरिन्छ। कर्णालीका हिमाली भेगका वन  र पाटनमा पाइने यस्ता जडीबुटी टिपेर वर्सेनि कमाइ गर्ने तर संरक्षणमा ध्यान नदिँदा केही वर्षमै सो भेगबाट अमूल्य जडीबुटीहरू लोप हुने खतरा रहेको जुम्लाका स्थानीय नरबहादुर बुढाले बताए।

‘कर्णालीका उत्तरी भेगको जडिबुडी यहाँका स्थानीयको आयआर्जनको प्रमुख स्रोत हो ’ उनले भने,‘रोजगारीमा नगई जडीबुटीबाट मात्र एक घरधुरीले वर्षमा न्यूनतम ३ लाखभन्दा बढी कमाइ गर्ने गरेका छन्’ उनले भने,‘व्यवस्थित रूपमा जडीबुटी संकलन नहुँदा बर्सेनी जडीबुटी उत्पादन घटेको हो।’

जिल्ला वन कार्यालय कालिकोट हुम्लाका अनुसार जडीबुटी टिप्ने यामभन्दा अगाडि नै संकलन पुर्जी दिँदा स्थानीयले हतारमै टिपेर बेचबिखन गर्ने चलन बढेकाले वनमा जडीबुटी कम हुन थालेको जनाएको छ। केही स्थानीय तहले जडीबुटी संकलनमा रोक लगाएको भएपनि जडीबुटीका ठेकेकारका त्यो काम कठिन भएको कालिकोट सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। 

जडिबुटीको अबैध व्यापार 

ब्यापारीले राजश्व छलेर जिल्लाबाट अवैध रुपमा बहुमूल्य जडीबुटी जिल्ला बाहिर निकासी गर्ने गरेका छन। जिल्ला वन कार्यालय कालिकोटबाट बिक्री पुर्जी नै नलिई ब्यापारीले जिल्लाको जडीबुटी नेपालगंंज र काठमाडाैंसम्म पुर्‍याउने गरेका छन। प्रत्येक वर्ष कालिकोट जिल्लाबाट बहुमूल्य जडीबुटी जिल्लाबाट बाहिरिने गरे पनि त्यसतर्फ जिल्ला वन कार्यालय र सरोकारवाला पक्षको ध्यान नजाँदा करोडौंको राजश्वमा पनि घाटा हुँदै आएको उद्योग बाणिज्य संघ कालिकोटका अध्यक्ष सूर्यबहादुर शाहीले बताए।

‘जिल्ला वन कार्यालयले जडिबुडी ब्यापारीलाई बिक्री पुर्जी र जडीबुटीमाथि कर लिने अधिकार भए पनि जिल्ला वन कार्यालयले त्यसतर्फ उचित कदम नचाल्दा राजश्वमा घाटा लाग्दै आएको छ’ उनले भने,‘ब्यापारीले निर्वाध रुपमा जडीबुटीको संकलन ब्यापार गर्दै आएका छन्।’ 

जिल्लामा पाइने जडीबुटीबाट ब्यापारीलाई फाइदा भए पनि स्थानीय संकलनकर्ताबाट ब्यापारीले सस्तोमा जडीबुटी खरिद गर्ने भएकोले स्थानीय संकलनकर्ताले थोरै पैसामा जडिबटी बिक्री गर्ने गरेको नरहरिनाथ गाउँपालिका ९ लालुका रानीवन उपभोक्ता समितिका अध्यक्ष कालो सार्कीले बताए।

‘ब्यापारीले सस्तोमा नै जडीबुटी खरिद गर्ने गरेका छन्’ उनले भने,‘त्यसले संकलनकर्तालाई घाटा लागेको छ।’  चिराँइतो सतुवालगायतका जडीबुटीको बजार मूल्य प्रतिकिलो १५ सयदेखिमाथि रहे पनि जिल्लाको जितेगडा बजारमा खरिद गर्ने ब्यापारीले स्थानीय संकलनकर्तालाई प्रतिकिलोको ५०० मात्र दिने गरेको कुरा नरहरिनाथ ५ रुप्साकाे जडीबुटी संकलक रामबहादुर बोगटीले बताए।

‘नेपाल सरकारको मूल्य सूचीभन्दा कममा ब्यापारीले हामीलाई पैसा दिन्छन्’ उनले भने,‘सस्तोमा नदिए ब्यापारीले जडीबुटी नै किन्दैनन्।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.