|

कालीकोट : तिलागुफा नगरपालिका–३ फोइमहादेवको महादेव माध्यमिक विद्यालय जिल्लाको नमुना विद्यालयका रुपमा परिचित छ। विद्यालयको प्रसस्त जग्गा छ। स्याउको बगैंचा छ। 

कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य तथा शिक्षा संकायका साथै सिटिइभिटीको १८ महिने कृषि जेटिए र तीनवर्षे प्लान्ट साइन्स पठनपाठन हुन्छ। यस विद्यालय जिल्लाको नमुना मात्र होइन, आर्थिक हिसाबले पनि सवल छ।

विद्यालयमा २० जनाका शिक्षक कर्मचारीको दरबन्दी भए पनि ३५ जना शिक्षक तथा कर्मचारी रहेको विद्यालयका प्रधानाध्यापक नरदीप शाहीले जानकारी दिए। ‘विद्यालयमा ३५ जना शिक्षक तथा कर्मचारी रहेको छन्,’ उनले भने, ‘तीमध्ये १५ जना शिक्षक तथा कर्मचारीलाई निजी स्रोतबाट व्यवस्था गरेका छौं।’

स्याउ र घाँसबाट आम्दानी

विद्यालयको करिब तीन हेक्टर जग्गामा स्याउको बगैंचा छ। स्याउ र घाँसको बेचबिखनबाट वार्षिक एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ।

विद्यालयमा स्याउबाट जाम बनाउने गरिएको र घाँस बेचेर थप ४०/४५ हजार आम्दानी गरेको शिक्षक नवीन हमालले बताए। ‘हामीले स्याउ र घाँस बेचेर पैसा कमाउने गरेका छौं,’ उनले भने, ‘बगैंचाको हेरचार शिक्षक र विद्यार्थीबाटै हुने गरेको छ।’

विद्यालयको नाममा रहेको खेतीयोग्य जमिन स्थानीयलाई भाडामा दिइएको र स्थानीयले उक्त जमिनमा आलु र खाद्यान्न बाली लगाउने गरेकोे शिक्षक हमालले बताए। उनले भने, ‘जमिनको भाडा पनि वार्षिक एक लाख रुपैयाँसम्म आउँछ।’

विद्यालय हाताभित्र रोपिएको बोजोबाट पनि आम्दानी हुने गरेको शिक्षक हमालले बताए। 

हिमालका विद्यार्थीलाई सहज

विद्यालयमा पठनपाठन हुने कृषि प्राविधिकतर्फको १८ महिने कार्यक्रममा दैलेख, कालीकोट, जुम्ला, हुम्ला, डोल्पाका विद्यार्थीहरु रहेका र तीन वर्षे कृषि जेटिएमा जुम्ला र कालीकोटका विद्यार्थी बढी रहेको प्रधानाध्यापक नरदीप शाहीले बताए। 

‘हिमाली जिल्लाका विद्यार्थी प्राविधिक शिक्षामा आक्रर्षण निकै रहेको छ,’ उनले भने, ‘यी जिल्लाबाहेक केही विद्यार्थी हुम्ला र मुगुबाट प्राविधिक शिक्षा पढ्न आएका छन्।’

प्राविधिक शिक्षा पढ्न आउने विद्यार्थीलाई विद्यालयको होस्टेलमा निःशुल्क बस्ने व्यवस्था छ। ‘होस्टेल घरजस्तो छ। शिक्षक अभिभावकजस्ता,’ छात्रवृत्तिमा १८ महिने जेटिए पढिरहेकी जुम्लाको तिला गाउँपालिका पोख्रीकी सरिताकुमारी रोकायाले भनिन्, ‘होस्टेलमा निःशुल्क बस्ने व्यवस्था छ।’

लगनशील प्रधानाध्यापक

विद्यालयका प्रधानाध्यक नरदीप शाही विद्यार्थीसँगै विद्यालयमा होस्टेलमा बस्ने गरेका छन्। उनी विद्यालयमा २४ घण्टा नै भेटिन्छन्।

काम विषेशले बाहिर गए मात्र नभए भने २४ घण्टा विद्यालयमा भेटिने गरेको तिलागुफा नगरपालिका–३ का वडाध्यक्ष सूर्यबहादुर शाहीले बताउँछन्।  शाहीका अनु्सार प्रधानाध्यापककै मिहेनतले विद्यालय राम्रो हुन सकेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.