|

बाजुरा : जिल्लाको उत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिकाको कवाडी डिपोमा चामल नहुँदा स्थानीय खाद्यान्न संकटमा परेका छन्। बाजुरा जिल्ला मानव सूचकांकमा ७७औं स्थानमा रहेको छ।

त्यसैमा पनि ९ वटै स्थानीय तहमध्ये हिमाली गाउँपालिका एकदमै दुर्गम र पिछडिएको क्षेत्रमा रहेको छ। हिमाली गाउँपालिका १, २ र ३ नम्बर वडामा मात्र ४ हजार जनसंख्या रहेको छ, सबै घरमा खाद्य संकट भएको त्यहाँका स्थानीयले बताएका छन्।

स्थानीय सरकार आयो सुख आएन

स्थानीय सरकार गाउँघरमै आएको डेढ वर्ष भइसकेको छ। तर, पनि बाजुरका गाउँघरमा खाद्यान्न संकट वर्षौं पहिलेकै जस्तो छ। 'स्थानीय सरकार आएपछि सुखका दिन आउँछन् कि भन्ने आशा गरेका थियौँ तर समस्या जस्ताको तस्तै छ' हिमाली गाउँपालिका-२ काटीकी ललिता बोहाराले दुखेसो सुनाइन।

उनी दुई दिनको पैदल बाटो हिँडेर उनी कवाडी डिपोमा चामल किन्न पुगिन् तर डिपोमा चामल नपाएर निराश भएर घर फर्किन्। ललिता मात्र हैन चामल किन्न डिपोमै पुगेकी कोपिला बोहोरा पनि निराश छिन्। उनी भन्छिन्,  'स्थानीय सरकार गाउँघरमा आए पनि हामीलाई कुनै सुखका दिन आएका छैनन्।'

कवाडी डिपोमा चामल नपाएपछि प्राय सबै रित्तो हात घर फर्किनु परेको हिमाली गाउँपालिका-३ का अध्यक्ष ध्यानबहादुर रोकायाले बताए। हिमाली गाउँपालिकाको कवाडी डिपोमा असारयता चामल नै नआएको र दशैंसम्म पनि नआए चरम खाद्य संकट हुने स्थानीय पर्वलाल बुडथापाले बताए।

'ज्यानै जोखिममा राखेर दुई दिनको बाटो हिँडेर चामल किन्न डिपो पुग्छौँ, डिपोमा चामल छैन भनेको सुन्दा मनै कुँडिएर आउँछ' पीडित नानी बोहोराले सुनाइन्। 

चामल छिट्टै आउँछ, खाद्य संकट हुँदैन

खाद्य संस्थान बाजुरा शाखाका प्रमुख मेखराज ओझाले डिपोमा छिट्टै चामल आउने र दशैंमा खाद्य संकट नहुने बताउँछन्। 'कवाडी डिपोका लागि ३५ सय क्विन्टलको टेन्डर गरिसकेका छौँ केही समयपछि डिपोमा  चामल आइपुग्‍छ कुनै खाद्य संकट हुँदैन' उनले सुनाए।

सुर्खेत खाद्य संस्थानबाट ९ सय, धनगढी संस्थानबाट ९ सय, मार्तडीबाट ९ सय र कोल्टी डिपोबाट ८ सय क्विन्टल ढुवानी अनुदानका लागि टेन्डर गरिएको पनि उनले बताए।

आफ्नो कमाइले दुई महिना पनि पुग्दैन

आफ्नो खेती कमाइले वर्षमा दुई महिना पनि खान नपुग्ने यहाँका स्थानीय बताउँछन्। यो गाउँपालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक हप्ता लाग्ने गरेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.