|

बुटवल : नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा पूर्वमन्त्री बालकृष्ण खाँणले प्रदेशसभालाई प्रदेशको स्थायी राजधानी बुटवल तोक्न आग्रह गरेका छन्। उनले राजनीतिक, सांस्कृति र पर्यटकीय हिसाबले बुटवल नै स्थायी राजधानीका  लागि उपयुक्त भएकाले कांग्रेस नेतृत्वको सरकारले अस्थायी राजधानी तोकेको बताएका हुन्।

बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि सुरु भएको औद्यौगिक व्यापार मेलाको उद्घाटन गर्दै प्रदेश-५ को राजधानी बुटवल नै हुने बताए। खाँणले प्रश्न गरे, ‘बुटवल राजधानी तोकिएकोमा कतिपयको चित्त बुझेको छैन। तर, यातायातको सुगम केन्द्र बुटवल, भैरहवा नै हो। बुटवलबाट राजधानी सार्ने प्रयत्न भए, त्यसलाई थेग्न सक्नुहुन्न?’ 

प्रदेशसभा स्थापना भएको दुई वर्ष पुग्‍न लाग्दासमेत प्रदेश पाँचको राजधानी र नामकरणले विषय अझै अन्यौलमा छ। राजधानी तथा नामकरण विशेष समितिले प्रदेशसभालाई प्रतिवेदन बुझाएको छ।

भारतसँगको सहजता, अन्तर्राष्ट्रिय विमानस्थल जस्ता पूर्वाधारले बुटवल नै राजधानीका लागि उपयुक्त भएको उनले बताए। विश्वमा कुनै पनि राजधानी मध्यभागमै नभएको बताउँदै राजधानी सार्ने प्रपञ्च नगर्न उनको सुझाव छ।

नेपाली कांग्रेसको सरकाले अस्थायी राजधानी तोकेको र यसलाई स्थायी बनाउने अधिकार प्रदेशसभालाई भएकाले अविलम्ब राजधानी र नामाकरण गर्न उनको आग्रह गरे। ‘प्रदेश १, प्रदेश ६ र ७ को राजधानी पनि मध्यभागमा छैन' नेता खाणले भने। रूपन्दही र प्रदेश ५ कै नागरिकको भावना बुटवल राजधानी बनाउनुपर्ने मत रहेको उनले बताए।

संघका अध्यक्ष खेमबहादुर हमालले मोतीपुर औद्योगिक क्षेत्रको निर्माणलाई गति दिन, कृषि क्षेत्रको व्यवसायीकरण एवं आधुनिकरण र पर्यटन प्रवद्र्धनमा लगानी बढाउन आग्रह गरे। बुटवल मण्डपमा प्रदर्शनीस्थलको स्थायी संरचनाको निर्माण समयमै पूरा गर्न, सिद्धार्थ लोकमार्गको स्तरोन्नति गर्न र चर्को बैंक ब्याजदर घटाउन सरकारसँग माग गरे।

सामाजिक सुरक्षा कोष र भिसिटिएस प्रणाली सैद्धान्तिक रूपमा ठीक भए पनि नेपालजस्तो अल्पविकसित र साना उद्योगी र व्यवसायीका हकमा कार्यान्वयन गर्न कठीन रहेकाले पुनर्विचार उनले गर्न आग्रह गरे।

पुस २३ गतेसम्म सञ्चालन हुने मेलामा नेपालका ३५ जिल्लाका र विदेशका औद्योगिक उत्पादन, कृषि, घरेलु उद्योग, हस्तकला, गार्मेन्ट, होटेल रेष्टुरेन्ट, बैंक र पर्यटनका गरी पाँच सय स्टल रहेका छन्।

मेलाको प्रवेश टिकटबाट शिक्षा, स्वास्थ्य क्षेत्रको विकासका लागि १/१ रुपैयाँ र पर्यटन र खेलकुद क्षेत्रको लागि ५०/५० पैसाका दरले रकम छुट्टाएर सामाजिक उत्तरदयीत्वअन्तर्गत लगानी गरिने संघका महासचिव दिनेशप्रसाद श्रेष्ठले बताए।

मेलालाई पाँच लाख दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैयाँको आर्थिक कारोबार हुने लक्ष्य रहेको कोषाध्यक्ष विमलराज भट्टराईले बताए। मेलामा प्रदेश ५ का लुम्बिनीदेखि रेसुङ्गासम्मका पर्यटकीय स्थलको संरचनासहित जानकारीमूलक प्रदर्शनी, जितगढी किल्लाको प्रतिकात्मक प्रवेशद्वार, नेपाली कला, संस्कृति, भेषभूषा संरक्षणका लागि विभिन्न सांस्कृतिक प्रतियोगिता आकर्षणका रूपमा रहने प्रचारप्रसार समिति संयोजक मुक्ति अधिकारीले बताए।

मेलामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, आमा नृत्य प्रतियोगिता, भ्वाइस अफ बुटवल गायन प्रतियोगिता, आधुनिक लोक तथा पप गायन एवं राष्ट्रिय स्तरको दोहरी गीत प्रतियोगिता, नृत्य तथा वक्तृत्व प्रतियोगिता, इन्द्रेणी समूहको दोहोरी गीत कार्यक्रम र रत्यौली गीत प्रतियोगिता आयोजना गरिएको सांस्कृतिक उपसमितिका संयोजक टंक गैरेले बताए। मेलाको प्रवद्र्धकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश ५ र बुटवल उपमहानगरपालिका रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.