राहत वितरणमा व्यापक अनियमितता गरेको स्थानीयको आरोप

|

पर्सा : जिल्लाको छिपहरमाई गाउँपालिका अध्यक्ष र कार्यकारी अधिकृतमाथि राहत वितरणमा अनियमितता गरेको आरोप लागेको छ। गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता र कार्यकारी अधिकृत देवनाथ साहले राहत वितरणमा चलखेल गरेको भनी जिल्ला विपत् व्यवस्थापन समितिमा किटानी उजुरी नै परेको छ। 

उजुरी पत्रमा १ सय जनाभन्दा बढी सर्वसाधारणले हस्ताक्षर गरेका छन्। वडा नम्बर ३ झलमहियालगायत ठाउँमा भएको राहत वितरणमा अध्यक्ष र कार्यकारी अधिकृतले अनियमितता गरेको उनीहरूको आरोप छ। 

किटानी उजुरी जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने विपत् व्यवस्थापन समितिमा सोमबार नै परेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। 

राहत सामग्री खरिद र वितरणमा व्यापक अनियमित्ता भएको र गाउँपालिका अध्यक्षका साथै कार्यकारी अधिकृत साहको पनि त्यसमा भूमिका रहेको उजुरीमा उल्लेख छ।

उनीहरूले आफू निकटकालाई मात्र राहत बाँडेको आरोप लगाइएको छ। त्यस उजुरीबारे सोमबारबाटै कारबाही थालिने सहायक सिडिओ बस्नेतले बताए। 

भिनाजुलाई पार्टी प्रतिनिधि राखेर अनियमितता गरेकाे आराेप

अध्यक्ष गुप्ताले नाताले भिनाजु भर्ने घनश्याम साह कानूलाई पार्टीको प्रतिनिधि बनाएर कार्यकारी अधिकृत साहलाई साथमा लिएर भ्रष्टाचार गरेको आरोप उजुरीकर्ताले लगाएका छन्। 

जिल्लाको छिपहरमाई गाउँपालिका ३ को झलमहिया टोलमा गएको शुक्रबार राहतको विषयलाई लिएर सामान्य झडपसमेत भएको थियो। झलमहियाको सर्वदलीय समितिले तयार पारेको २ सय २२ जनाको नामावलीविपरीत अध्यक्ष गुप्ता र सो वडाका अध्यक्ष विनोद साहले आफ्ना मान्छे भन्दै १ सय जना समर्थकलाई मात्र राहत बाँडेका थिए। 

‘स्थानीयले विरोध गर्दा झडपको स्थिति सिर्जना भयो, प्रहरीले भीडलाई तितरवितर पार्न लठ्ठी चार्ज पनि गरेको थियो,’ उनीहरूले भने।  उक्त झडपमा एक प्रहरीसहित दुई जनालाई सामान्य चोट लागेको समाजवादी पार्टीका प्रतिनिधिसमेत रहेका अहिरले बताए। 

गाउँपालिकाका अध्यक्ष गुप्ताले वडास्तरीय सर्वदलीय समितिको नाममा झुण्ड खडा गरी राहत सामग्री किनमेलदेखि वितरणसम्म व्यापक अनियमिता गरिरहेका स्थानीयको आरोप छ। 

अध्यक्ष गुप्ताको कार्यशैलीप्रति स्थानीय असन्तुष्ट 

गाउँपालिका अध्यक्ष गुप्ताको कार्यशैली स्थानीय ठीक नभएको स्थानीय नेकपाका नेता दिनेश साहले बताए। वर्तमान जोखिम परिस्थितिमा अनियमितता हुनु रसर्वसाधारणलाई काखापाखा गरिनु राम्रो नभएको उनले बताए। 

सर्वदलीय समितिमा मनोमानी

सर्वदलीय समितिमा प्रतिनिधि राख्दा कुनै पनि राजनीतिक दलको आधिकारिक प्रतिनिधि राखिएको छैन। अध्यक्ष गुप्ताले आफ्ना निकटकालाई मात्र उक्त समितिमा राखेका नेपाली कांग्रेसका स्थानीय नेता बाघा यादवले बताए।

सो उजुरीको बोधार्थ नेपाल सरकार, गृह मन्त्रालय र मुख्यमन्त्रीको कार्यालय, प्रदेश २ मा कार्यालय जनकपुर पनि पठाइएको छ। अध्यक्ष गुप्ता र कार्यकारी अधिकृत साहले भने आफ्ना विरोधीहरूले आफूहरूमाथि गलत आरोप लगाएको दाबी गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.