संक्रमित बालक बसेकाे गाउँ सिल

|

बारा : बाराको निजगढबाट कोरोना संक्रमितलाई काठमाडौं पुर्‍याएर फर्किएका एम्बुलेन्स चालककोआइतबार स्वाब संकलन गरिएको छ। दोलखा घर भई काठमाडौंको चन्द्रगिरि नगरपालिका दहचोकमा बस्दै आएका ७ वर्षीय कोरोना संक्रमित बालकलाई उनले काठमाडौं लगेका थिए।

निजगढ नगरपालिकाले सञ्चालन गरेको एम्बुलेन्सका चालकलाई त्यसपछि निजगढ नगर उद्योग वाणिज्य संघमा रहेको क्वारेनटाइनमा राखिएको थियो। आइतबार बिहान हेटौंडाको प्रादेशिक अस्पातालमा चालकको स्वाब संकलन गरिएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले जानकारी दिए ।

रामथलीमा अझै हुन सकेन परीक्षण

बालक एक महिना बिताएर फर्किएको बाराको निजगढ नगरपालिका १२ रामथलीमा भने अझै कोरोना परीक्षण थालिएको छैन। जिल्लाबाट स्वाब संकलनका लागि पिसीआर र आरडिटी किट पठाउन ढिलो भएकाले परीक्षण रोकिएको बताइएको छ।

‘जिल्लाबाट शनिबार साँझ २० थान आरडिटी किट प्राप्त भएको छ,’ संयोजक लामाले भने, ‘आज बालकको सम्पर्कमा आएका २० जनाको आरडिटी गछौं।’ बालक बसेको घर र परिवार तथा अरु ४० जना सम्पर्कमा आएको तथ्यांक संकलन भएको छ। तर जिल्लाबाट २० थान मात्र आरडिटी प्राप्त भएको छ।

परिवारका सदस्यलाई पिसिआर विधिबाट स्वाब संकलन गरिने बताइएको छ। सोमबारसम्ममा पिसिआर संकलन टोली आएपछि परीक्षण बढाइने भएको छ। बालक आमासँगै वार्षिक परीक्षा सकेर चैत्र ८ मा निजगढ आइपुगेका थिए । आमाको दिदीको सम्धिनीको घर आएका उनीहरु लकडाउनका कारण रोकिएपछि उनीहरु एम्बुलेन्स चढेर वैशाख ६ मा काठमाडौं फर्किएका थिए।

गाउँ सिल 

बालक रहेको पूरै टोल सिल गरिएको र उक्त बालकसँग सम्पर्कमा आएकाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक विकास थपलियाले जानकारी दिए। 

संक्रमित बालक बसेर गएको वडा नम्बर १२ स्थित उक्त टोलमा उच्च सतर्कता अपनाइएको छ । उक्त वडास्थित टोलमा शुक्रबार दिउँसोदेखि आवतजावतमा कडाइ गरिएको र स्थानीयलाई घरभित्रै राखिएको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बताए।संक्रमित बालकसँग सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको मेयर खनालले बताए। 

बारामा एक प्रहरीसहित ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.