स्वास्थ्य

‘उत्परिवर्तित कोरोनाबाट हामी उच्च जोखिममा परिसक्यौँ, सजग बनौँ’

पुस १३, २०७७

    काठमाडौं : बेलायतमा उत्परिवर्तन (म्युटेसन) भएको नयाँ प्रकारको कोरोना भाइरस दक्षिणी छिमेकी मुलुक भारतलगायत विश्वका धेरै देशमा फैलिएको थाहा लागेको छ। बेलायतका ६० भन्दा बढी स्थानीय तहमा नयाँ स्वरूपको कोरोना भाइरस फैलिएको र यो कोभिड–१९ भन्दा बढी हानिकारक रहेको अध्ययनहरूबाट पत्ता लागेको छ। पछिल्लोपटक पत्ता लागेको भाइरस यसअघिको भन्दा निकै जोखिमपूर्ण रहेको महामारी विज्ञहरूले बताएका छन्‌। 

    उत्परिवर्तिन कोरोना भाइरस फेला परेका देशहरूबाट पुस १ देखि ७ गतेभित्र आउनेलाई सरकारले १० दिनसम्म क्वारेन्टाइनमा बस्न निर्देश गरिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल प्रवेश गरेको ७ देखि १० दिनभित्र नजिकै रहेका सरकारी प्रयोगशालामा निःशुल्क रियलटाइम पोलिमरेस चेन रियाक्सन टेस्ट (आरटीपीसीआर) गर्न र भर्खरै बेलायतबाट आएकाहरूलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ।

    उत्परिवर्तित कोरोना नेपालमा पनि फैलने जोखिम बढेको छ। एकातर्फ महामारी नियन्त्रणमा सरकार र नागरिकस्तरबाट सजगता अपनाउन छाडिएको छ भने अर्कातिर काठमाडौं उपत्यकामा दिनहुँ २ सयभन्दा धेरै संक्रमितहरू भेटिइरहेका छन्‌। सरकारले कोरोना परीक्षण दरसमेत घटाएकाले खासमा कति नागरिक संक्रमित अवस्थामा छन्‌ र उत्परिवर्तित कोरोनाबाट संक्रमण हुन थालेका छन्/छैनन्‌ भन्ने समेत थाहा लागेको छैन।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेपछि सडकमा आन्दोलन र भीडभाड भएको छ। निश्चित राजनीतिक उद्धेश्य भएपनि महामारी कायम रहेकै बेला भैरहेका यस्ता गतिविधि जनस्वास्थ्यका द‌ृष्ट्रिले निकै जोखिमपूर्ण हुने गरेको छ। यसले निरन्तरता पाइरहे महामारी फैलनसक्ने भन्दै विज्ञहरू चिन्तित देखिएका छन्‌।

    उत्परिवर्तित कोरोना भाइरसको संक्रमणदर बढी हुने र शरीरभित्र रोग प्रतिरोधात्मक क्षमतामा पनि छिटो आक्रमण गर्नसक्ने अध्ययनले देखाइरहँदा नेपालमा यसले निम्त्याउनसक्ने जोखिम र सजगताबारे सरुवारोग विशेषज्ञ डा. शेर बहादुर पुनको विश्लेषण :

    उत्परिवर्तन भएको भनिएको कोरोना भाइरसबारे अझै अनुसन्धान भइरहेको छ। नयाँ स्वरूपको भाइरस संसारभर फैलिएमा अहिले बनिरहेका कोभिड-१९ विरुद्धको खोपले नै काम गर्छ वा गर्दैन भन्ने चिन्ता पनि थपिएको छ।

    बेलायतबाट भारतीय बाटो र हवाई मार्ग हुँदै आउने मानिसबाट नेपालमा नयाँ स्वरूपको कोरोना भाइरस फैलनसक्ने जोखिम भएकाले सरकार प्रतिकार्य तयारीमा लागेको जानकारी छ।

    नयाँ स्वरूपको कोरोना भाइरस फैलिए/नफैलिएको पत्ता लगाउन हाल नेपालमा उपलब्ध भएका पीसीआर मेसिनबाट परीक्षण गरेर हुँदैन। यसका लागि जीन सिक्‍वेन्सिङ गर्नुपर्छ।

    नयाँ स्वरूपको कोरोना भाइरस नेपालमा नआओस् भनेर केही दिन अघिदेखि सरकारले सरकारले बेलायतबाट आउने नागरिकलाई रोक लगाइसकेको छ।

    मुख्य कुरा : रोक लगाउनुभन्दा अघि नै बेलायतबाट आएका नागरिकहरू कता छन् र उनीहरूको पीसीआर परीक्षण गरिएको छ/छैन भन्ने सवाल मुख्य हो। उत्परिवर्तित भाइरसलाई मध्यनजर गरी हामीकहाँ बेलायतबाट आएकाहरूमाथि  निगरानी बढाइएको धेरै समय भएको छैन।

    जीन सिक्‍वेन्सिङ

    नयाँ स्वरूपको कोरोना भाइरस फैलिए/नफैलिएको पत्ता लगाउन हाल नेपालमा उपलब्ध भएका पीसीआर मेसिनबाट परीक्षण गरेर हुँदैन। यसका लागि जीन सिक्‍वेन्सिङ गर्नुपर्छ।

    शुरूदेखि नै जीन सिक्‍वेन्सिङलाई निरन्तरता दिनुपर्छ भन्दै आइएको हो। जीन सिक्‍वेन्सिङ गरेको भए भ्याक्सिनदेखि रणनीति बनाउनसम्म काम लाग्थ्यो। अहिले पनि धेरै संक्रमित भेटिइरहेका बेला हालै बेलायतबाट आएकाहरूमा जीन सिक्‍वेन्सिङबाट परीक्षण गरेर हेर्नुपर्छ, नत्र उनीहरूमा संक्रमण देखिएपनि भाइरस कुन स्वरूपमा छ भनेर पत्ता लगाउन सकिँदैन।

    नेपालमा कोरोना संक्रमण देखिएको ११ महिना बित्यो। भाइरसको स्थिति के छ भन्नेबारे थाहा पाउन जीन सिक्‍वेन्सिङ गरेर हेर्नुपर्ने हुन्छ। त्यो अझैसम्म भएको छैन।

    अहिलेकै तयारीले रोक्न सकिँदैन

    अहिले पनि नेपालमा कोभिड संक्रमण जोखिम कम भएको छैन। तर, पछिल्लो समय मानिसहरूले कोभिडलाई बेवास्ता गरी स्वास्थ्य मापदण्डसमेत पालना गर्न छाडेका छन्‌। केही दिनयता राजधानी लगायत देशका विभिन्न स्थानमा भइरहेका सभा/जुलुसका कारण झनै जोखिम बढेको छ। नेपाल-भारत सीमा पूरै खुला छ।

    यहाँ संक्रमण कायमै रहेका बेला बेलायतमा हालै कोरोनाको उत्परिवर्तित देखिएको छ। यो धेरै देशहरूमा फैलिइसकेको जानकारी प्राप्त हुँदैछ। त्यसैले कोभिड भाइरसको कडा खालको नयाँ स्वरूपबाट हामी उच्च जोखिममा पर्नेवाला छौं।

    सेप्टेम्बरदेखि बेलायतबाट कति मानिस ओहोरदोहोर गरिसके होलान्? कहाँ-कहाँ पुगे होलान्‌? नेपालमा पनि बेलायतबाट आएका होलान्। यसतर्फ विशेष ध्यान दिनुपर्छ।

    भारतमा पनि नयाँ प्रकारको भाइरस देखिएको शंका छ। यदि भारतमा नयाँ स्वरूपको कोरोना भाइरस फैलियो भने हामी अझै उच्च जोखिममा पर्नेछौं। ​नेपालमा यसअघि तीव्र गतिमा भाइरस फैलनुमा भारतसँग भएको आवतजावत नै प्रमुख कारण रहेको थियो।

    नेपालमा हाल फैलिरहेको भाइरस नियन्त्रण गर्नै मुस्किल परिरहेको छ। स्वरूप बदलिएको भाइरस आयो भने झनै गाह्रो पर्छ। किनकी यो खालको भाइरस हाल हाम्रोमा देखिएकोभन्दा छिटो फैलने र असर पनि धेरै हुने अनुसन्धानबाट थाहा लागिसकेको छ।

    त्यसैले, पहिले महामारी नियन्त्रणमा कहाँ कमी भयो र अब के गर्ने भन्नेबारे गम्भीरतापूर्वक योजना बनाएर व्यवस्थापनतर्फ लाग्नुपर्छ। जनस्वास्थ्यका मापदण्ड पालना नै मुख्य विषय हो। मास्क लगाउने, हात धुने, दूरी कायम गर्ने, परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउनेतर्फ ध्यान दिनैपर्छ।

सविना खनाल

सविना खनाल थाहाखबरमा कार्यरत छन् ईमेल : [email protected]

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]