समाज

ठूलो वर्षाले कतै डुबान कतै पहिरो, सडकहरु अवरुद्ध

साउन ७, २०७३

    बुटवल : अविरल वर्षापछि बाढी  र पहिरोका कारण लुम्बिनी अञ्चलका अधिकांश भागको जनजीवन प्रभावित भएको छ। तराईका क्षेत्रहरु डुबानमा परेका छन् भने पहाडमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन्। पहाडी जिल्लाहरु पाल्पा, अर्घाखाँची र गुल्मीका ग्रामीण सडकमा ठाउँठाउँमा पहिरो खसेका कारण गाडी चलेका छैनन्। 

    रुपन्देही र नवलपरासीमा डुबान 

    पछिल्लो २४ घण्टामा रुपन्देहीमा सबैभन्दा बढी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार रुपन्देहीमा १ सय २३ मिलिमिटर वर्षा भएको छ। 

    रुपन्देहीका वसन्तपुर र पट्खौली गाविसका अधिकांश भाग डुबानमा परेको रुपन्देही प्रहरीका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए।   पट्खौलीमा २५ घर र वसन्तपुर ४ का १० घर डुबानमा परेका छन्। डुबानमा परेका क्षेत्रमा प्रहरीले उद्धार थालेको छ। 

    यस्तै नवलपरासीको सदरमुकाम परासी जलमग्न भएको छ। नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले डुबानमा परेको क्षेत्रमा उद्दार कार्य जारी रहेको बताए। 

    स्थानीय झरही र रामखण्डा खोलामा आएको बाढी परासी बजारमा पसेपछि डुबान भएको हो। बजार क्षेत्रमा तीनदेखि सात फुटसम्म भरिएको छ। डुबानमा परेका क्षेत्रमा उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना खटिएका छन्।  

    नवलपरासीकै बेनिमणिपुर र हरपुर क्षेत्र पनि डुबानमा परेको छ। बेनिमणिपुरको वडा नम्बर ६ को कोल्टानी, बैरेनी, खयरघारी, वडा नम्बर ३ को बालुचिरा गाउँ डुबानमा परेको छ।  

    यस्तै नवलपरासीकै दुम्किबास–सर्दी सडकखण्ड र दलदले–डेढगाउँ–बुलिङ्गटार पहिरो खसेपछि अवरुद्ध भएका छन्। यस्तै गुल्मीको बढीघाट खोलामा आएको बाढीका कारण जोहाङ गाविस–२ को उर्लीखोला बजार डुबानको जोखिममा परेको छ। बिहीबार रातिदेखि खोलाको सतह बढ्दै गएपछि बजार क्षेत्रका ६० घर उच्च जोखिममा रहेका छन्। 

    सडकहरु अवरुद्ध 

    पहाडी जिल्लाका सडकहरु पहिरो खसेपछि अवरुद्ध भएका छन्। पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पहाडी जिल्लाहरु पाल्पा, अर्घाखाँची र गुल्मीका ग्रामीण सडकहरु अवरुद्ध भएका छन्। सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डका ठाउँठाउँमा पहिरो खसेपछि सहज ढंगले गाडी चल्न सकेका छैनन्। सिद्धार्थ राजमार्गकै बर्तुङ–आर्यभन्ज्याङ खण्डको चिदीपानीमा पहिरो खसेपछि बिहानदेखि सडक अवरुद्ध भएको छ। 

    शुक्रबार बिहान पाल्पाको दोभान झुम्सामा खसेको पहिरो हटाएपनि वर्षा नरोकिएकाले पहिरो खस्ने क्रम रोकिएको छैन। जसका कारण सडक पटक पटक अवरुद्ध हुने गरेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए। 

    गुल्मीको रिडी–तम्घास सडकखण्ड दुविचौरस्थित भँगारीमा पहिरो खसेपछि बिहीबार रातिदेखि अवरुद्ध बनेको छ। सडक अवरुद्ध भएपछि सदरमुकाम तम्घासबाट बुटवल र काठमाडौँका लागि छुटेका र सदरमुकामतर्फ आउँदै गरेका सवारीसाधन र सयौँ यात्रु बाटोमै अलपत्र परेका छन्। 

    अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब निरीक्षक प्रेम श्रेष्ठले जानकारी दिए। रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डमा पनि पहिरो खसेपछि गाडी चल्न सकेका छैनन्। 

    तिनाउमा बहाव अत्याधिक 

    बुटवलको तिनाउ नदीमा पानीको बहाव अत्यधिक बढेको छ। बिहीबार सांझदेखि लगातारको झरीसंगै तिनाउ नदीमा पानीको बहाव बढेका हो। तिनाउ उर्लिएपछि अव्यवस्थित बसोबास रहेको तिनाउ नदी छेउका बासिन्दा चिन्तित छन्। प्रहरीले बाढी आउनसक्ने भन्दै नदी वरपरका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]