स्वास्थ्य

स्क्रब टाइफस परीक्षणका लागि चितवनमा किट अभाव

असार ८, २०७४
    • नारायण ढुंगाना

चितवन : स्क्रब टाइफस रोग परीक्षणका लागि चितवनमा किट (सामग्री) अभाव भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार माग गरिएको किट अझैसम्म नआइपुग्दा रोग परीक्षणमा समस्या भएको हो।

जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसी अघिल्लो वर्ष केही किट आए पनि यो वर्ष नआएको बताउँछन्। ‘माग गरेर पठाएका छौं, अहिलेसम्म जिल्लामा किट आइपुगेको छैन,’ केसीले भने। 

अघिल्लो वर्ष स्क्रब टाइफस रोग धेरै देखिएपछि सरकारले किट उपलब्ध गराएर निःशुल्क परीक्षण गरिएको थियो। तर, अहिले किट नहुँदा रोगको परीक्षणमा मात्रै २ हजारदेखि पच्चिस सयसम्म तिर्न बिरामीहरु बाध्य भएका छन्। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले किट खरिद प्रक्रियामा रहेको जानकारी दिँदै यथासक्य छिटो उपलब्ध गराउने बताउँछन्। बाहिरबाट किट ल्याउनुपर्ने भएकाले पनि समस्या भएको उनको भनाई छ।

चितवनमा वैशाख र जेठ महिनामा ४ जनामा स्क्रब टाइफस रोग देखिएको थियो। स्क्रब टाइफसको परीक्षण गर्दै आएको चितवन मेडिकल कलेजका संचालक डा. दयाराम लम्साल अहिले दैनिक ३/४ सय बिरामी आउने गरेकोमा ५० देखि १०० जना ज्वरोका बिरामी हुने गरेको बताउँछन्।

केही दिन निरन्तर ज्वरो आएमा तथा टाउको दुख्ने र ज्यान दुख्ने भएमा स्क्रब टाइफस परीक्षण गर्नुपर्छ। उपचारमा ढिला भएका बिरामीहरुमा भने थप लक्षण देखिने डा. लम्साल बताउँछन्। समयमै परीक्षण गराएर उपचार गरेमा रोग सहजै निको हुने उनको प्रतिक्रिया छ।

गएको वर्षदेखि चितवनमा देखिन थालेको स्क्रब टाइफसका कारण २०७३ सालमा चितवनमा ५ जनाको ज्यान गएको थियो। गएको वर्ष नेपालमा १४ जनाले यो रोगका कारण ज्यान गुमाएका थिए। नेपालमा २०७२ सालमा पहिलो पटक १०१ जनामा यो रोग देखिँदा ८ जनाको मृत्यु भएको थियो। माइट नामको मुसाको कानमा बस्ने एक प्रकारको संक्रमित किराले टोकेमा यो रोग सर्छ। मुसाबाट झारमा झर्ने र त्यसबाट मानिसमा टाँसिएर यसले टोक्छ।

नारायण ढुंगाना

पत्रकार ढुंगाना ०७५ असोजसम्म थाहाखबरका चितवन संवाददाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]