मनोरञ्जन

१० वर्षपछि फेरि आयो परिचय, निर्देशक भन्छन् - हामी फेरि एक नम्बर हुन्छौं

कात्तिक २४, २०७४

    काठमाडौं : दश वर्षअघि नेपाल टेलिभजनमा एउटा हिट टेलिसिरियल थियो, परिचय। हरेक आइतबार ९ बजे प्रशारण हुने उक्त टेलिसिरियल धेरै नेपालीको रोजाइमा पर्थ्यो। २०६१ सालमा सुरु भएको 'परिचय' चार वर्षसम्म नियमित प्रशारण भयो। १ सय ४१ भागपछि एकाएक कथा टुंग्याउँदै बन्द भयो।

    पारिवारिक कथालाई समेटेर बनाइएको 'परिचय'को निर्देशक ऋषि लामिछाने थिए भने मुख्य कलाकार सरिता लामिछाने थिइन्। अहिले परिचय फेरि आएको छ, नयाँ कथाको साथमा। तर निर्देशक ऋषि लामिछाने नै छन् भने मुख्य कलाकार उनकी पत्नी सरिता। टेलिसिरियलको कथा पनि सरिता लामिछानेले नै लेखेकी छन्। 'परिचय' नेपाल टेलिभिनजनमा हरेक हप्ताको आइतबार बेलुका ८:५० प्रशारण भइरहेको छ।

    अहिले पनि परिचयको विषय उही छ, कथामात्र फरक हो। 'परिचय' परिमार्जित रुपमा आएको निर्देशक ऋषि बताउँछन्। 'परिवारिक कथा भए पनि पहिलाको कथालाई अलिक परिमार्जित गरेर दर्शकमाझ ल्याएका छौं।'

    परिचयको सुरुवात

    झण्डै १५ वर्षअगाडि नेपाल टेलिभिजनमा पारिवारिक विषयका धेरै टेलिसिरियलहरु थिए। ती सिरियलमा एकछत्र राज गरिरेहकी थिइन्, सरिता लामिछानेले। सरिताको हप्तामा १२ वटा भन्दा बढी सरियल आउथें। सरिता 'मुक्ति' सिरियलमा काम गर्दाको समय हो। सरिताको फिल्ममा अभिनय गर्ने नायिकाको भन्दा धेरै क्रेज थियो। उनका पति ऋषि फिल्म निर्देशक थिए। पति निर्देशक, अनि पत्नी हिट अभिनेत्री। उनीहरुलाई साथीहरुले भन्न थाले 'कति अरुको काम गरेर बस्नुहुन्छ, आफै बनाउनुस् अब।'

    ऋषि र सरितालाई पनि यो सुझाव मनासिव लाग्यो। ऋषिले १० वर्षअघिको परिचयबारे भने 'साथीहरुबाट अरुको मात्र कत्ति गर्नुहुन्छ अब आफै गर्नुस् भन्ने सुझाव आइसके पछि 'ह्वाइ नट', गरौं न त भनेर सुरु गरेका हौं।'  उनीहरुले मिडिया हवमा सञ्चालक सोम धिताललाई भेटे। सोमले पनि उनीहरुलाई अघि बढ्न आग्रह गरे। यसरी सुरु भएको थियो त्यतिबेलाको परिचय।

    हिट भयो परिचय

    नेपाल टेलिभिजनबाट प्रसारण हुने यस टेलिसिरियल त्यस समयमा टेलिभिजनको एक नम्बर रेटिङमा थियो। सरिताले ती दिन सम्झिदै भनिन्, 'हामी रेटिङको हिसाबमा कहिल्यै दोश्रो हुन परेन।' सरिताका अनुसार टेलिभिजन पुगेका प्राय: सबै ठाउँमा परिचय हेरिन्थ्यो। नारीप्रधान तथा पारिवारिक कथामा बनेको भएकाले पनि परिचयलाई महिला दर्शकले बढी रुचाउथें।

    परिचयको चर्चा नेपालमा मात्र नभएर नेपाली पुगेका विभिन्न देशमा समेत भए। जापानको 'एनएचके' टेलिभिजनले गरेको एक सर्वेमा दक्षिण एसियाको टप सिरियलको सूचीमा 'परिचय' पनि परेको थियो। ऋषि सम्झन्छन् 'हाम्रो सिरियल दक्षिण एसियाको टप सिरियल भनेर जापानको एनएचके टेलिभिजनले घोषणा गरेको थियो। पछि फेरि विश्वकै चर्चित ड्रामा सिरियल भनेर पनि घोषित भएको थियो।'

    किन बन्द भयो परिचय?

    टेलिभिजन दुनियाँमा चर्चित हुँदाहुँदै उनीहरुले यसलाई बन्द गराए। परिचय चल्दै गर्दा यसको मुख्य भूमिकामा रहेकी कलाकार सरिता गर्भवती भइन्। त्यसपछि परिवारलाई पनि समय दिनुपर्छ भनेर 'परिचय' बन्द गरेको ऋषि बताउँछन्। भन्छन् 'कति काम मात्र गर्नु, बच्चा जन्मिने भएपछि अब पारिवारिक जिम्मेवारी पनि बहन गर्नुपर्छ भनेर हामीले परिचयलाई टुंग्याएका हौं।'

    छोरी जन्मिएपछि ऋषि फिल्म निर्देशनको काममा संलग्न भइरहे भने सरिता परिवारिक काममा। 'होम प्रोडक्सनबाट काम नगर्ने भए छोड्दिउँ न त भनेर नै परिचयलाई रोक्न पुग्यौं' सरिता भन्छिन् 'रोक्या वा छोड्या भन्दा पनि हामीले त परिचयलाई सक्काएकै हौं। तपाइले परिचयको १४१ भाग हेर्नु हुन्छ भने हामीले त्यहाँ 'आजदेखि हामीले परिचयबाट विश्राम लियौं र हजुरहरुमाझ नयाँ लिएर आउछौं भनेर घोषणा नै गरेका छौं'।'

    १० वर्षपछि फेरि परिचय

    उनीहरुले भनेझैं परिचयको अन्तिम भाग हेरेका दर्शकले उनीहरुको नयाँ काम हेर्न १० वर्ष कुर्नुपर्‍यो। अहिले प्रशारित टेलिसिरियललाई अर्कै नाम राख्ने उनीहरुको योजना थियो। तर शुभचिन्तक र आफन्तले यसको नाम पहिलाकै परिचय राख्न सुझाव दिएपछि त्यसैलाई स्वीकार गरे। 'हामीले सुरुमा त यसको नाम परिचय नराखेर अर्कै राख्ने विचार गरेका थियौं तर सबैले परिचय राख्न सुझाए' उनले भने।

    अहिलेको परिचय र पहिलाको परिचयमा तुलना गर्न मिल्ने धेरै केही छैन। यसमा दोहोरिएको ऋषि र सरितामात्रै हुन्। 'त्यसैले यसलाई कम्प्यारिजन नगर्दा नै राम्रो' ऋषि भन्छन्। हिजोआज नेपाली टेलिभिजनमा पारिवारिक सिरियलहरु धेरै नभएका बेला ऋषि र सरिता परिचय फेरि एक नम्बर बन्ने दावी गर्छन्। 'यो परिचय फेरि पनि एक नम्बरमा आउँछ', ऋषि भन्छन् 'यो मेरो घमण्ड हैन आत्मविश्वास हो।'

दिप्सन लुइटेल

पत्रकार लुइँटेल थाहाखबरमा कला, मनोरञ्जन संवाददाताका रूपमा ०७५ मंसिरसम्म कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]