छापा

कालिमाटी तरकारी बजारको भाउ : ११ रुपैयाँमा किनेकाे भिण्डी ११० मा बिक्री

कात्तिक २७, २०७४

    काठमाडौं : गत शुक्रबार राति १२ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोली कालिमाटीस्थित तरकारी बजार पुग्यो। त्यतिखेर ट्रकमा तरकारी आइरहेका थिए।

    दुई समूहमा रहेका अनुगमन टोलीमध्ये एउटाले ना६ख ४५६६ नम्बरको ट्रकमा आएको तरकारीको विवरण र खरिद मूल्यको बिल माग्यो। मेचीनगर–१७, काँकडभिट्टा झापामा रहेको एसएसबी ट्रेड एन्ड सप्लायर्सको ट्रकमा काउली, भिण्डी, परवल र भ्यान्टा गरी सात हजार पाँच सय किलो आयात भएको थियो। तर, बिलमा उल्लेख भएको मूल्य अपत्यारिलो थियो। किनभने सबै तरकारी प्रतिकिलो ११ रुपैयाँ ५० पैसाका दरले खरिद गरी कालिमाटीस्थित जयसवाल एसके स्टोरले ल्याएको थियो।

    साढे ११ रुपैयाँका दरले खरिद गरेको तरकारीको थोक मूल्य त्यस दिन काउली ७५, भिण्डी १००, परवल ७० र भ्यान्टा ६५ रुपैयाँ प्रतिकिलो थियो। उपभोक्ताले काउली १००, भिण्डी ११०, परवल ९० र भ्यान्टा ८० रुपैयाँ प्रतिकिलोमा खरिद गरेका थिए। विभागका महानिर्देशक कुमारप्रसाद दाहालले तरकारीको मूल्य अस्वाभाविक रूपले बढेको बताए।

    ‘तरकारीको मूल्यमा व्यापारीले मनोमानी गरेका छन्,’ उनले भने, ‘यसलाई नियन्त्रण गर्नु जरुरी छ।’ आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तरकारी मूल्य नियन्त्रणका विषयमा भएको छलफलमा महानिर्देशक दाहालले तरकारी अभाव नदेखिएको बताए। ‘यहाँ महँगो पैसा तिरेर खरिद गर्छु भन्दा जति पनि तरकारी पाइन्छ,’ उनले भने, ‘थोरै पैसामा मात्र किन्न नपाइएको हो।’

    व्यवसायी भेला भएर मूल्य तोक्छन्

    राति १२ देखि बिहान ३ बजेसम्म कालिमाटीमा तरकारी आइसक्छ। तरकारी मौज्दात गरेर थोक विक्रेता मूल्य तय गर्न व्यवसायी भेला हुन्छन्। उनीहरूले खरिद गरेको मूल्य एक–अर्कालाई भन्दैनन्, तर बिक्री मूल्य समान राख्न सबै जुट्ने गरेको अनुगमनमा भेटिएको छ। ‘थोक तरकारी व्यापारी करिब ५ बजे भेला भई सबै तरकारीको एउटा मूल्य तोक्छन् र सोही मूल्यमा खुद्रा बजारमा पठाउँछन्,’ विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने।

    उनले तरकारीको भाउ तोक्न व्यवसायीलाई खुला छाडिदिए विकृति झन् बढ्दै जाने भएकाले नियन्त्रण गर्नुपर्ने बताए। थोक व्यापारीले दुई सय प्रतिशतसम्म तरकारीबाट नाफा खाइरहेको अनुगमनले देखाएको उनको भनाइ छ।

नयाँ पत्रिका

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]