छापा

बदरको ठूलो हिस्सा ‘नो भोट’

मंसिर २९, २०७४

    काठमाडौं : निर्वाचन कानुनमा ‘नो भोट’को व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नहुँदा कुनै पनि उम्मेदवार मन नपराउने मतदाताका मत बदर भएका छन्। निर्वाचन आयोगका अनुसार मतपत्रमा मत संकेत उल्लेख नगरिएका अधिकांश मत भेटिए पनि मतपत्रमा ‘कसैलाई पनि मत दिन्नँ’ भन्ने विकल्प नहुँदा बाध्यतावश मत बदर भएका हुन्। आयोगका अनुसार समानुपातिक र प्रत्यक्ष दुवैतर्फ बदर मतको संख्या अधिक छ।

    प्रदेश र तथा प्रतिनिधिसभा समानुपातिकतर्फको जारी मतगणनामा मात्र ४ प्रतिशत हाराहारी मत बदर भइसकेका छन्। ‘बिहीबार रातिसम्म ६७ जिल्लाको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ,’ आयोगका प्रवक्ता नवराज ढकालले राजधानीसँग भने, ‘समानुपातिकतर्फको मतगणनामा ३ देखि ४ प्रतिशतसम्म मत बदर भएको पाइएको छ।’ उनका अनुसार समानुपातिकतर्फ बदर भएका मतमा पनि अधिकांश मत जाहेर नगरेका मतपत्र छन्।

    कुनै मतदाताले आफ्नो मत जाहेर गर्न नचाहेको अवस्थामा उनीहरूको मतपत्र छुट्टै राख्ने व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो। निर्वाचन कानुन बनाउने क्रममा यस्तो व्यवस्था नराख्दा मतदाता आफ्नो ‘नो भोट’ जनाउने अधिकारबाट वञ्चित भएका थिए। ‘मतगणनाका क्रममा कुनै पनि चिह्नमा छाप नलागेको मतपत्रलाई पनि हामीले बदर मतका रूपमा गणना गरेका छौं,’ आयोगका प्रवक्ता ढकालले भने, ‘विशेषगरी मतदाता शिक्षाको कमीका कारणले नै बढी मत बदर भएको हुन सक्छ।’

    झापामा प्रतिनिधिसभातर्फको समानुपातिकमा ८ दशमलव १० प्रतिशत मत बदर भएको पाइएको छ। झापामा ४ लाख १६ हजार ९ सय ८७ मत खसेको प्रतिनिधिसभाको समानुपातिकतर्फ ३१ हजार २ सय ५२ र प्रदेशसभातर्फ समानुपातिकमा ४५ हजार ६ सय ७५ मत बदर हुनुले मतदाता शिक्षा प्रभावकारी नभएको स्पष्ट हुन्छ। यसैगरी, काभ्रेमा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ ८ हजार २ सय ९९ अर्थात् ४ दशमलव ३ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार काभ्रेमा मतदाता शिक्षाको अभाव, मतदान गर्ने प्रक्रिया नजानेको र ‘नो भोट’ का मतपत्र राख्ने छुट्टै व्यवस्था नभएका कारण मत बदर भएको जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले बताए।

    प्रतिनिधिसभाको समानुपातिकतर्फ इलाममा ३ दशमलव ७ प्रतिशत मत बदर भएको छ। कुल २ लाख ४ हजार ४६ मतदाता रहेकोमा प्रतिनिधिसभातर्फ १ लाख ३५ हजार ५ सय २१ मत खसेको थियो। खसेको मतमध्ये ५ हजार १८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख प्रेमकुमार काफ्लेले बताए। ‘निर्वाचनको मिति घोषणा भएको ८० दिनभित्र सबै काम सम्पन्न गरिसक्नुपर्ने भएकाले पनि व्यवस्थित रूपमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्दा बदर मत बढेको हुन सक्छ,’ उनले भने।

    यस्तै, तीन निर्वाचन क्षेत्र भएको कपिलवस्तुमा समानुपातिकतर्फको मतगणना सकिएको छ। मतगणना सकिँदा समानुपातिकतर्फ जिल्लामा २ लाख ३० हजार ९२ मत खसेकामा २९ हजार ८ सय ९५ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसले ६१ हजार २ सय ९२, एमालेले ६० हजार ९ सय ९४, राजपा नेपालले २१ हजार ९ सय ६७ र संघीय समाजवादी फोरम नेपालले १८ हजार ६ सय ६६ मत प्राप्त गरेका छन्।

राजधानी दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित हुने ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]