काठमाडौं: रुसमा हुने विश्व कपको ज्वरोले नेपाल पनि राक्किँदै छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरी कोरियाली शासक किम जोन उनको वार्तासमेत कतै विश्व कपले ओझेलमा पारे जस्तो देखिन्छ। हुनत सबैलाई विश्व कपमा रुचि पनि नहोला वा ट्रम्प–किम वार्तामा पनि। नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान बाबुराम पुन पनि यही श्रेणीमा पर्छन्। जीवनको उर्जाशील समय फुटबलमा बिताएका पुन हिजोआज फुर्सदिला पनि छन्। तर, उनलाई विदेशमा हुने घटनाले त्यति प्रभाव पार्दैन चाहे त्यो उनकै खेल फुटबलको विश्व कप नै किन नहोस्।
‘खै मलाई आफ्नै राष्ट्र बाहेक कसैको वास्ता लाग्दैन। यही माटोमा बाहेक कतै सुवाष भेट्दिन,’ उनको खाँटी राष्ट्रवाद फुटबलमा पनि देखिन्छ। उनी आफूलाई अन्य प्रतियोगिताको विरोधि मान्दैनन्। बस्, नेपाल नभएको प्रतियोगिताले उनलाई तान्दैन।
‘हेर्छु तर, कहिले काहीँ,’ उनी स्पष्ट पार्छन्, ‘जसले राम्रो खेल्यो मेरो समर्थन उनलै पाउँछ। म मात्र फुटबल हेर्छु। समर्थन त आफ्नो राष्ट्रबाहेक कसैलाई गर्न सक्दिन।’
बुबा लाहुरे भएका कारण बाल्यावस्था देहरादुनमा बिताएका पुनले भारतमै १० सम्म पढाइ गरे। २० को दशकमा मुलुक फर्कंदा उनले राष्ट्रसेवक बन्ने सोच बनाइसकेका थिए। तर, कुन क्षेत्रमा लाग्छु भन्ने उनलाई नै थाहा थिएन। भवितव्य ! उनी प्रहरी बने। अवकास पाउँदा उनी वरिष्ठ प्रहरीउपरिक्षक थिए। ७४ वर्षमा हिंडिरहेका उनी अवश्य फुटबलका पारखी हुन्। आफ्नो समयमा नाम कमाएका खेलाडी पनि हुन्। २०२९ सालदेखि राष्ट्रले प्रदान गर्न थालेको वर्षको खेलाडी सम्मान पाउने उनी पहिलो खेलाडी पनि हुन्। सन् १९९१ मा नेपाली टोलीले चीन, हंगकंग र बर्मामा मैत्रीपूर्ण खेल्दा उनी कप्तान थिए।
उनको कुरा सुन्दा लाग्छ, त्यो सम्मान पाउन उनी बाहेक त्यसबेला अरु कोही लायक पनि थिएनन् होला। प्रहरीको अफिर्सस् तालिम पहिलो समेत बने उनी। उनले तालिममा समेत आफ्नो सर्वोत्कृष्ट हुँ भन्ने प्रमाणित गरेँ। ‘मलाई आफ्नो धर्ती मात्र होइन, आकाश पनि त्यति नै प्यारो लाग्छ, यहाँका गन्हाउने झारमा समेत म सुवाष भेट्छु,’ उमेर ढल्केपनि उनको स्वभाव जवान छ।
फुटबलबाट जितेका सम्मान उनलाई अति प्यारा लाग्छन्। तिनीहरुलाई सम्हालेका छन्, मनमा लुकाएका छन्। उनि ति सबै सन्तान झैं प्यारा पनि छन्। नेपाली टोलीका पूर्व कप्तान भन्छन्, ‘विश्व कपका बारे कुरा गर्न म लायक छैन। हो, मौका पाएको बेला हेर्छु, हेर्दिन भन्दिन तर, लत्तो छाडेरै चाहीँ हेर्दिन,’ कुनै बेला नेपाल प्रहरीमा जागिरे अनि खेलाडी अनि प्रशिक्षकसम्म समेत पुनको विचार डगमगाएको छैन। उनलाई अन्तिम पटक विश्व कपको कुन खेल हेरेँ भन्ने सम्झना समेत छैन। कुरा छल्न् उनी त्यो दोष ढल्कँदो उमेरलाई दिन्छन्, कमजोर बन्दै गएको स्मरणशक्तिलाई दिन्छन्।
‘समयले आफ्नै मुलुकले खेलेका खेल त हेर्न नपाइने बनाइसक्यो, पुराना खेलाडीलाई सम्झने परम्परा त छैन, हामीलाई रंगशालामा बोलाउनेसम्म फुर्सद त कसैलाई छैन’ उनलाई दुख छ। अन्य खेलाडी नै उनी पनि खेलाडी जीवनपछि सम्झनामा बसाउनेहरुको कमी महसुस गर्छन्। उनलाई लाग्छ, ‘अब हामी जस्ता बुढ्यौलीमा पसेका खेलाडीलाई चिन्ने कति नै बाँकी होन् र?’ शायद उनलाई फुटबलबाट विरक्त बनाउने अनेकौं कारणमा फुटबल हाँक्नेहरुको हेपाहा स्वभावले पनि कार्य गरेको हुन्छ। त्यसलाई पनि उनी सिधैं स्किार्दैनन् तर अस्वीकृत पनि गर्दैनन्। मात्र गर्धन हल्लाउँछन्।
आफ्नो समयमा उनलाई ब्राजिलका महान खेलाडी पेले, जर्मनीका फ्रेन्क बेकनबर, नेदरुल्यान्डका जोहन क्रुफले निकै प्रभावित पारे। आफ्नो समयमा मिडफिल्डका उत्कृष्ट खेलाडी पुनलाई रुसी गोलरक्षक लेभ यासिनको खेलले पनि निकै प्रभाव पा¥यो रे। तर, उनी सबैभन्दा प्रभावित नेपालीमुलका श्याम थापासँग भएका रहेछन्।
श्याम थापा र उनी एकसाथ देहरादुनमा एउटै कक्षामा पढे, सँगसँगै हुर्किए। एकै विद्यालयका लागि खेले पनि। आफ्नो विद्यालयलाई लिटल डुरान कपमा समेत जिताए। थापाको क्लब मोहन बगानले पेलेको अमेरिकी क्लब कसमससँग खेलेको खेल हेर्न नपाउँदा उनी केही चुकचुकिए। स्पष्ट तर मिजासिलो स्वभावका पुनले त्यसबाट भारतबाट प्रकासित हुने पत्र–पत्रिकाहरुले थापाको प्रसंसामा लेखेका शब्दहरुमा नै पाए। साथीको सफलताको कथा पढ्दा नै उनको मन आनन्दीत बनेछ। ‘मैले त्यहाँ नखेलेपनि कुनै नेपालीले त इज्जत राखे नि,’ उनी भन्छन्।
‘तर, यसअर्थ म विश्व कप नै हेर्दिन भन्ने पनि होइन। हेर्छु, जसले राम्रो खेल्छ उसैको समर्थन गर्छु,’ कुराको बिट मार्दा समेत उनले भन्न बिर्सिएनन्, ‘तर म नेपाल बाहेक कसैको समर्थक होइन।’
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।