राजनीति

‘निकटकालाई र पैसा लिएर टिकट बाँड्दा पार्टी कमजोर बन्यो’

‘गुटलाई व्यवस्थित गर्नुपर्‍यो’

असार ५, २०७५

    काठमाडौं : नेपाली कांग्रेसका ७७ जिल्लाका जिल्ला सभापतिहरू पार्टी सुदृढीकरणका लागि सुझाव दिन हेटौँडामा भेला भएका छन्। मंगलबार सभापति भेलाको औपचारिक उद्घाटन गरिए पनि बुधबार र बिहीबार जिल्ला सभापतिहरूले आफ्नो धारणा राख्नेछन्।

    तीन तहको निर्वाचनमा पार्टीले अनपेक्षित नतिजा ल्याएपछि पार्टी सुदृढीकरण र पार्टीको संगठन विस्तारका लागि विधान संशोधन गर्न सुझाव माग्न जिल्ला सभापतिहरूको भेला बोलाइएको हो। तर उक्त बैठकमा सभापति शेरबहादुर देउवाइतर पक्षका जिल्ला सभापतिहरूले निर्वाचनकै विषयलाई दिएर सभापति देउवाको आलोचना गर्ने तयारी गरेका छन्। 

    भेलामा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला पक्षका जिल्ला सभापति एक भएर पार्टी सभापतिको विरोध गर्ने तयारीमा छन्। जिल्लामा देउवा पौडेल समूहभन्दा कमजोर छन्। ७७ मध्ये ३२ जिल्लाका सभापति देउवा पक्षमा छन् भने पौडेल र सिटौला पक्षमा ४५ सभापति छन्। तर एक जिल्ला सभापतिले निर्वाचनपछि देउवा पक्षलाई छाडेर अन्य जिल्ला सभापतिहरू पनि पौडेल पक्षमा आएका कारण अहिले करिब ५० जना जिल्ला सभापति पौडेल पक्षमा आएको दाबी गरे। 

    पौडेल पक्षले यसअघिदेखि नै सभापति देउवाले गरेको एकलौटी ‘पावर एक्सरसाइज’ले गर्दा पार्टीले पराजय भोग्नुपरेको आरोप लगाउँदै आएका छन्। बुधबारबाट जिल्ला सभापतिहरूले हारको जिम्मेवारी लिन दबाब दिँदै देउवाको विरोध गर्ने तयारीमा छन्। 

    भेलामा सहभागी एक जिल्ला सभापतिका अनुसार देउवाको विरुद्धमा करिब ५० जिल्लाका सभापति एक मत छन्। उनीहरूले देउवाको पार्टी संचालन गर्ने रणनीतिको विरोध गर्ने तयारी गरेका छन्। तर सभापति देउवा भने आफ्नो कारणले मात्र पार्टी हारेको स्वीकार गर्न तयार छैनन्। 

    गत फागुन र चैतमा भएको केन्द्रीय समितिको बैठकमा पनि सिंगो पार्टी केन्द्रीय समितिले हारको जिम्मा लिने निर्णय गरेको थियो। निर्णयलगत्तै पार्टीका वरिष्ठ नेता पौडेलले देउवाले बहुमतको बलमा निर्णय गराएको आरोप लगाएका थिए। जिल्ला सभापतिको भेलामा यसको बदला लिने पक्षमा पौडेल पक्ष रहेको छ। सिटौलासँग मोर्चाबन्दी गरेपछि पौडेल पक्षलाई यसका लागि अझ सहज भएको छ। पौडेल पक्ष जिल्ला सभापतिको भेलाबाट देउवा कमजोर भएको सन्देश आम कार्यकर्तामा दिन चाहन्छ। तर देउवा समूह भने सभापतिकोे भेलाबाट सुझाव मात्र लिने योजनामा छ।

    यस्तै, देउवा समूहले सबै जिल्ला सभापतिलाई आफ्नो धारणा राख्न नदिने तयारी गरेको छ। प्रत्येक प्रदेशबाट प्रतिनिधिमूलक हिसाबले धारणा राख्न सभापतिहरूलाई दिने देउवा समूहको तयारी छ। पौडेल पक्षले भने सबै जिल्ला सभापतिलाई धारणा राख्न दिनुपर्ने धारणा राखेको छ। 
    सभापति देउवा समूहका एक नेताले विधानमा जिल्ला सभापतिको भेलाबाट निर्णय गराउनुपर्छ भन्ने नभएका कारण सुझाव मात्र लिइने थाहाखबरलाई जानकारी दिए। 

    देउवा समूहले भेलालाई निर्वाचनको समीक्षाभन्दा पनि पार्टीको विधान संशोधन, महासमितिको बैठकका एजेण्डालगायत विषयमा केन्द्रित गर्न खोजेको छ। पौडेल समूहका सभापतिले निर्वाचनको हारको कारणबारे पनि सभापति देउवालाई प्रश्न गर्ने योजना बनाएको छ। कांग्रेसका काभ्रे सभापति मधु आचार्य पार्टीलाई आगामी दिनमा सुदृढ बनाउन पनि निर्वाचनको समीक्षा गर्नुपर्ने बताउँछन्।

    भन्छन्, ‘सभापतिले कम्युनिस्ट गठबन्धनका कारण हार्‍यो भन्नुभएको छ। अब त उनीहरू एक भए। हामीले निर्वाचनको समीक्षा नगरेर सधैँ हामी पछि पर्नु? यसरी त पार्टी विघटन गरे नै भइगयो नि! त्यसैले निर्वाचनको समीक्षा गर्नै पर्छ।’ निर्वाचनको समीक्षा गरेर पार्टीलाई थप सुदृढ बनाउनुपर्ने झापा सभापति उद्धव थापा बताउँछन्। भन्छन्, ‘पार्टीभित्र निर्वाचनको विषयमा आरोप प्रत्यारोपले झन् उग्र रूप लिँदै छ। अब पनि समीक्षा गरेर आत्मालोचना नगरे पार्टी कहाँ पुग्छ?’


    पार्टीका गुल्मी सभापति भुवन श्रेष्ठले निर्वाचनको समीक्षा गर्दै अब दम्भ त्यागेर अघि बढ्नुपर्ने अवस्था आएको बताए। उनले थाहाखबरसँग भने, ‘पार्टी अहिले अप्ठ्यारो परिस्थितिमा छ। कसका कारण यस्तो भयो भनेर समीक्षा गर्नुपर्छ। त्यसपछि सबैमा भएको दम्भ त्यागेर पार्टीलाई सुदृढ गरेर अघि बढ्नुपर्छ।’
    तीनै तहको निर्वाचनमा पार्टी सभापति देउवाका कारण पार्टी हार्नुपरेको पौडेल समूहका एक जिल्ला सभापतिले बताए।

    पार्टी सभापति र उनी आसपासका नेताको मनोमानीले पार्टी इतिहासमै कमजोर अवस्थामा पुगेको ती जिल्ला सभापतिले आरोप लगाए। उनले भने, ‘सभापतिको अधिकारलाई दुरूपयोग गर्दै सभापतिका भाटहरूले जय नेपाल दाइ भनेको भरमा र पैसा दिएको भरमा पार्टी सदस्य दिँदै टिकट दिए अनि कांग्रेस नहारेर जित्छ त! पार्टीमा योगदान गरेकाको मूल्यांकन कसले गर्छ?’

    यो विषयलाई आफूहरूले बुधबारदेखि हुने सभापतिको भेलामा सशक्त ढंगबाट राख्ने बताए। उनले भने, ‘हामी ५० जनाजति सभापतिले यो विषयमा एउटै धारणा बनाएका छौँ। भोलि हामी यो विषय सशक्त ढंगबाट उठाउनेछौँ।’

    ‘विधानअनुसार पार्टी चलाउनुपर्‍यो’

    १३औँ महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले पार्टीलाई स्वेच्छाचारी ढंगले चलाएको आरोप लाग्ने गरेको छ। सभापतिइतर समूहका नेताहरूले सभापति देउवाले १३औँ महाधिवेशनमा आफ्नो पक्षमा आएको बहुमतको बलमा पार्टी विधान मिचेर चलाएको आरोप लगाउँदै आएका छन्। 

    अब जिल्ला सभापतिको भेलाबाट विगतका कमजोरीलाई सच्याउँदै नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने सभापतिहरूले धारणा राखेका छन्। कांग्रेस काभ्रे सभापति आचार्यले अब पार्टीलाई विधानसम्मत् ढंगले चलाउनुपर्ने बताए।

    उनले भने, ‘अहिले पार्टी विधानमा चलेको छैन। पार्टी कि विधानले चल्नुपर्छ कि सहमतिको आधारमा, कांग्रेसभित्र यो दुवै छैन। अब कसरी चल्छ?’ अब पार्टीको विधानलाई परिमार्जन गर्दै व्यावहारिक बनाउनुपर्ने उनको भनाइ छ। उनले भने, ‘पार्टीको विधान परिमार्जन गरेर संविधानअनुसार बनाउनुपर्छ र त्यहीअनुसार संगठको विस्तार गर्दै जानुपर्छ।’ उनले अब संविधानअनुसार स्थानीय तह, प्रदेश र केन्द्रमा अधिवेशन गर्नुपर्ने पनि बताए।

    ‘पार्टी एकताको विकल्प छैन’

    पार्टी सुदृढीकरणका लागि अब पार्टी एक हुनुको विकल्प नरहेको जिल्ला सभापतिहरू बताउँछन्। यो भेलाबाट पार्टी एक भएको सन्देश दिनुपर्ने जिल्ला सभापतिहरूको माग छ। 

    पार्टीका गुल्मी सभापति श्रेष्ठ भन्छन्, ‘पार्टीमा मतभेद हुँदाहुँदै पनि अब एकअर्काको निषेधको राजनीति गर्नुभन्दा एक भएर अघि बढ्नुपर्छ। नयाँ रणनीतिका साथ अब कांग्रेस एक भएको घोषणा गर्नुपर्छ।’ पार्टीका झापा सभापति थापाले अब एक भएर पार्टी कार्यकर्तामा भएको निराशालाई अन्त्य गर्नुपर्ने बताए। 

    ‘गुटलाई व्यवस्थित गर्नुपर्‍यो’

    कांग्रेसभित्र स्पष्ट गुट देखिन्छ। सभापति देउवा र वरिष्ठ नेता पौडेलले स्पष्ट गुट चलाउँदै आएका छन्। यस्तै, महामन्त्री डा. शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायतको पनि गुट छ तर पछिल्लो समय सिटौला र पार्टी नेता अर्जुनरसिंह केसी पौडेल पक्षमा समाहित भएका छन्। यसरी नै गुटलाई व्यवस्थापन गर्दै पार्टी संचालन गर्नुपर्ने गुल्मी सभापति श्रेष्ठ बताउँछन्।

    भन्छन्, ‘लोकतान्त्रिक पार्टी हो। वैचारिक दृष्टिकोणले फरक विचार राख्नु स्वाभाविक हो। महाधिवेशनमा कसलाई भोट हाले भन्दा पनि अब कांग्रेसलाई कसले राम्रो गर्छ भन्नेतर्फ लाग्नुपर्छ।’

    यस्तै, कांग्रेसभित्र पूरै गुट अन्त्य नभए पनि त्यसलाई व्यवस्थित गर्नुपर्ने झापा सभापति थापा बताउँछन्। भन्छन्, ‘गुट त अन्त्य हुँदैन तर पौडेल र सिटौला सँगै हुनुभएको छ। अब यसलाई कायम गरेर अघि बढ्नुपर्छ।’

चिरञ्जिबी घिमिरे

घिमिरे थाहाखबरमा ०७५ माघसम्म कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]