फिचर

वैदेशिक रोजगारीले उजाडिँदै गाउँबस्ती

जापान उडेका ६ युवा भियतनाम पुगेर फर्किए

असार ६, २०७५

    धनगढी : धनगढी उपमहानगरापलिका-१४ डी गाउँमा रहेकी सीता खत्रीलाई युएईबाट श्रीमान् काशीराम खत्रीले आफू अलपत्रमा परेको म्यासेज पठाएका छन्। उनले आफ्नो भिसा सकिएको र कम्पनीको मालिक पनि सम्पर्कविहीन रहेको बताएका छन्।

    आफ्नै आवाजमा श्रीमतीलाई कासिरामले म्यासेजमा भनेका छन्, ‘भिसा सकियो, कम्पनीबाट थुप्रो रकम लिनु छ, अहिले भागेर आउन सक्दिनँ।’ छ महिनाअघि भिसा सकिएको र तीन महिनादेखि श्रीमान् अलपत्र परेको सीताले बताइन्।

    'पहिले त हामीलाई पनि केही भन्नुभएन, तीन महिनादेखि एक छाक खाएर बस्नुभएको छ रे, भुइँमै सुत्नुहुन्छ रे’, रुन्चे आवाजमा उनले भनिन्। काशीरामले उद्धारको लागि भन्दै आफ्नो राहदानी र भिसा सकिएको कागजात परिवारलाई पठाएका छन्।

    प्रदेश ७ को अस्थायी राजधानी धनगढी उपमहानगरपालिकाभित्रै बेरोजगारीले थलिएको क्षेत्र हो- फूलबारी। धनगढी उपमहानगरपालिका १४, १८ र १९ नम्बर वडाका अधिकांश युवाहरू वैदेशिक रोजगारीको सिलसिलामा पलायन भएका छन्।

    उनीहरूमध्ये अधिकांश खाडी मुलुकमा रहेका पाइन्छ। उनीहरूमध्ये केही मात्र वैदेशिक रोजगारीबाट मनग्य आम्दानी गर्न सफल भएका छन्। उनीहरूले अधिकांश समय तलब नपाउने, तोकेभन्दा निकै न्यून रकम पाउने, अलपत्र पर्ने, ज्यान गुमाउने र कारागारमा बस्ने गरेको पाइन्छ।

    वैदेशिक रोजगारीमा बढ्यो ठगी

    एक लाख २० हजार रुपैयाँ तिरेर युएई पुगेका धनगढी- १४ का रामचन्द्र खत्रीले अहिले आफूलाई कम्पनीले पूर्वसहमतिअनुसारको रकम नदिएको बताएका छन्। ‘श्रीमानले दुबईमा दुःख पाइरहनुभएको छ’, रामचन्द्रकी श्रीमती सरिता खत्रीले बताइन्।

    उनले एक हजार रियलभन्दा बढी रकम दिने सम्झौता गरी श्रीमान विदेश गएको बताइन्। ‘एक हजार रियलभन्दा बढीको सम्झौता भएको हो तर अहिले पाँच सयभन्दा बढी पाइरहेको छैन भन्नुहुन्छ’, उनले भनिन्।

    श्रीमान् विदेश गएपछि तीन सन्तानलाई स्कुल पढाउन थालेकी सरिता अहिले आर्थिक अवस्था निकै कमजोर भएको बताउँछिन्। ‘उहाँले पैसा पठाइदिनुहोला भन्दै तीन-तीन जनालाई बोर्डिङ पठाएँ, चार महिना भयो घरमा एक सुको आ'को छैन, साह्रै गाह्रो भयो’, उनले भनिन्, ‘यता छोराछोरी परिवारको चिन्ता, उता श्रीमानले के गर्दै हुनुहुन्छ भन्ने चिन्ता, सम्झियो भने रुन मन लाग्छ।’ 

    कोही उता पुगेर त कोही यतै ठगिन्छन्

    वैदेशिक रोजगारीमा पुगेका मात्रै होइनन्, जान खोज्नेहरू पनि ठगिएका छन्। फूलबारीका छ जना युवाहरू कतार जाने भन्दै काठमाडौं पुगे। मेनपावरमार्फत् जाँदा विभिन्न परीक्षाहरू दिनुपर्ने भएपछि उनीहरूले कतार जाने सहज बाटो पहिचानतर्फ लागे। त्यतिकैमा भेटिए भोजपुरका प्रदीपकुमार राई। उनले सबैलाई सजिलै कतार पठाइदिने बताए। मेनपावरसम्म पुगेर वैधानिक बाटो त्यागेर दलालमार्फत् कतार जाने योजना बनाएका छ जना युवाहरू अहिले आफू ठगिएको बताउँछन्।

    २१ वर्षका रूपबहादुर मगर, २२ वर्षीय तिलक राई, घनश्याम खनाल, योगेश जोशी, २३ वर्षका तेजबहादुर खड्का र २४ वर्षीय महेन्द्र रानामगर छोटो बाटो कतार जाने योजनामा ठगिएका छन्।

    छ जनाकै राहदानी भोजपुरका प्रदीपकुमार राईसँग रहेको छ भने ३०/३० हजार रुपैयाँसमेत लगेको उनीहरूले बताए। ‘झन्झट केही हुँदैन, सजिलै विदेश पुग्छौ भन्यो, हामीले पनि होला त केरे भन्यौँ, राहदानी पनि लग्यो पैसा पनि लग्यो, अहिले बेपत्ता छ’, ठगिएमध्येका एक जना तिलक राईले भने।

    जापान जान उडेका युवा भियतनाम पुगेर फर्किए

    तीन वर्ष मलेसिया बसेर केही रकम लिएर फर्किएपछि रामबहादुर सुनारलाई ठूलो देश जाने र धेरै पैसा कमाउने अभिलासा पलायो। तर कुन देश कस्तो भन्नेबारे भने उनलाई खासै जानकारी थिएन। उनकै अर्का मित्रले जापान जाने कुरा गरे। रामबहादुर हौसिए। यत्तिकैमा उनीहरूको भेट काठमाडौंकी शारदा श्रेष्ठसँग भयो।

    उनले थोरै पैसामा सजिलै जापान पुर्‍याइदिने भनेपछि कैलाली फूलबारीका रामबहादुर सुनार र घोडाघोडी नगरपालिका सुखडका श्याम सुनार जापानका लागि हिँडे। उनीहरू दुवै जनालगायत त्यही समूहमा रहेका पाँच जनालाई श्रेष्ठले भिजिट भिसामार्फत् जापान पुर्‍याउने बताइन्।

    उनीहरू जापानका लागि काठमाडौंबाट उडे तर थाइल्याण्ड पुगे। थाइल्याण्डमा दुई महिना बसे। फेरि जापानका लागि भन्दै भियतनाम पुगे। भियतनाममा १७ दिन बसे। लामो समय थाइल्याण्ड र भियतनाममा अलपत्र परेपछि घरबाट पैसा मगाएर नेपाल फर्किएका रामबहादुरले भने, ‘थाइल्याण्ड र भियतनाम हुँदै जापान पुर्‍याउने बताएकी श्रेष्ठ पछि सम्पर्कमै आउन छोडिन्।’ 

    त्यस क्रममा करिब १० लाख रुपैयाँ खर्च भएको उनले सुनाए। ‘सुरुमा ब्याजमा चलाएको थिएँ, जापानबाट पैसा कामाउँला भन्ने आशा थियो तर ठगिएपछि जग्गा बेचेर ऋण तिरेँ’, उनले भने।

    ज्यान गुमाउनेको संख्या बढ्दो

    वैदेशिक रोजगारीमा गएका एउटै वडाका तीन जनाको ज्यान गएको छ। मलेसिया, कोरिया र कतारमा रहेका धनगढी उपमहानगरपालिका- १४ सी गाउँका तीन जनाको ज्यान गएको हो। कतारमा रहेका आशाराम चौधरी, मलेसियामा रहेका सुरेश विक र कोरियामा रहेका छविलाल चौधरीको ज्यान गएको हो।

    एक महिनाअघि नै १८ नम्बर वडाका अमर थापाको पनि ज्यान गएको छ। उनको मलेसियामा निधन भएको हो। वडा नम्बर- १९ मा दुई जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमध्ये अधिकांश खाडी मुलुकमा रहेको पाइन्छ। कैलालीमा मात्रै अहिलेसम्म ४५ जनाले वैदेशिक रोजगारीमै गएका बेला ज्यान गुमाएको पाइएको छ।

    विदेशको जेलमा कैयौँ नेपाली

    कैलाली टीकापुरका आशिष मल्ल एक वर्षदेखि कतारको कारागारमा छन्। विद्युतीय अपराध (साइबर क्राइम)अन्तर्गत प्रहरीले उनलाई कारागार पठाएको हो। उनी निर्दोष भएको उनका नाता परिवारहरू बताउँछन्। अहिले मल्ललाई नेपाल फर्काइदिन परिवारका सदस्यहरू दूतावास धाउन थालेका छन्।

    कैलालीको कैलारी गाउँपालिका- ९ साम्रानाका टेकराम चौधरी पनि अहिले साउदी अरबको करागारमा जेलजीवन बिताइरहेका छन्। मदिरा बेचबिखन गर्ने गरेको भन्दै साउदी प्रहरीले चौधरीलाई लागुऔषध कारोबारअन्तर्गत मुद्दा दायर गरेको छ। चौधरी पक्राउ परेको एक वर्ष भइसकेको छ तर मुद्दा अदालतसम्म पुगेको छैन। अदालतमा मुद्दा कहिले पुग्ला र दोषी वा निर्दोष भन्नेबारे कहिले फैसला होला भनेर उनका परिवार कुरिरहेका छन्।

    वैदेशिक रोजगारीले रित्तिँदै गाउँबस्ती

    जिल्ला प्रसासन कार्यालय कैलालीका अनुसार २०६९/०७० मा पाँच हजार ६६६ पुरुष र ५६२ महिला गरी छ हजार १३१ जनाले राहदानी बनाएका थिए। उनीहरूमध्ये दुई हजार ४८४ पुरुष र ८९ जना महिला वैदेशिक रोजगारीमा गएको तथ्यांक रहेको छ। २०७०/०७१ मा नौ हजार ५५८ पुरुष र ८९२ जना महिला गरी एक हजार ४९० जनाले राहदानी बनाएका थिए। उनीहरूमध्ये तीन हजार ६३६ पुरुष र २०७ महिला गरी तीन हजार ८४३ जना वैदेशिक रोजगारीमा गएको पाइएको छ।

    २०७१/०७२ मा नौ हजार ८९० जना पुरुष र ८८६ जना महिला गरी एक हजार ७७६ जनाले राहदानी बनाएका थिए। उनीहरूमध्ये तीन हजार ६१५ पुरुष र ५८ महिला गरी तीन हजार ६७३ जना वैदेशिक रोजगारीमा गएका छन्।

    २०७२/०७३ मा सात हजार ९१० पुरुष र एक हजार ६८ महिला गरी आठ हजार ९७८ जनाले राहदानी बनाएका थिए। उनीहरूमध्ये दुई हजार २९६ जना पुरुष र ७२ जना महिला गरी दुई हजार ३६७ जना वैदेशिक रोजगारीमा गएका छन्।

    २०७३/०७४ मा छ हजार ४४५ पुरुष र एक हजार २८२ जना महिला गरी सात हजार ७२७ जनाले जिल्ला प्रसासन कार्यालयबाट राहदानी लिएका छन्। उनीहरूमध्ये तीन हजार ८१२ जना पुरुष र १७८ महिला गरी तीन हजार ९८८ जना वैदेशिक रोजगारीमा गएका छन्।

    यस आर्थिक वर्षमा तीन हजार ४६१ जना पुरुष र ५१८ जना महिला गरी तीन हजार ९७८ जनाले राहदानी बनाएका छन्। तीमध्ये एक हजार ३९६ जना पुरुष र ३३१ जना महिला गरी एक हजार ७२७ जना पलायन भएका छन्।

    पछिल्लो छ वर्षको अवधिलाई हेर्दा ४२ हजार ८३३ जना पुरुष र पाँच हजार २०८ जना महिला गरी ४८ हजार ४१ जनाले राहदानी बनाएका छन्। उनीहरूमध्ये छ वर्षको अवधिमा ३४ हजार ९६३ पुरुष र एक हजार ३८ महिला गरी ३६ हजार एक जना वैदेशिक रोजगारीमा गएको तथ्यांकमा उल्लेख छ। यसमध्ये करिब ९० प्रतिशत मलेसिया, युएई, कुवेत, कतार, साउदी अरब, ओमन, बहराइनमा गएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]