मनोरञ्जन

पाँच फिल्म फ्लप भएपछि छैटौँमा अड्केको आस

असार ७, २०७५

    काठमाडौं : मिस नेपाल मलिना जोशी फिल्म क्षेत्रमा सक्रिय छिन्। उनले धेरै फिल्ममा काम गरिसकेकी छिन्। तर, विडम्बना उनले अभिनय गरेको कुनै पनि फिल्म सफल छैनन्। उनलाई हिरोइन भनेर चिन्ने दर्शक विरलै होलान्।

    उनै मलिना अभिनित फिल्म 'तिमी हुन्छौ जहाँ जहाँ' यही शुक्रबारबाट रिलिज हुँदै छ। फिल्म 'तिमी हुन्छौ जहाँ जहाँ'बाट उनी निकै आशावादी छिन्। भन्छिन्, 'फिल्ममा राम्रो काम गरिएको छ। आशा गरौँ फिल्मले सफलता दिनेछ।'

    यस फिल्ममा मलिना आफ्नै वास्तविक भूमिकामा देखिन् लागेको बताउँछिन्। 'यस फिल्ममा मेरो रियल क्यारेक्टरजस्तै छ', उनी भन्छिन् 'एउटा सपना बोकेर राजधानी छिरेर संघर्ष गरिरहेकी एक युवतीको भूमिकामा म छुँ।'

    धरानमा जन्मिएकी मलिनालाई सानै उमेरदेखि मिस नेपाल बन्ने ठूलो सपना थियो। मिस नेपाल बनेपछि करिअरमा उनको सोच 'मार्केटिङ एक्जुकेटिभ' बन्ने थियो। उनी भन्छिन्, 'मेरो सपना मिस नेपाल बन्ने थियो। त्यो पछि कुनै मार्केटिङ कम्पनीमा राम्रो पोष्टमा काम गर्ने लक्ष्य थियो।' उनले काठमाडौं आएपछि मार्केटिङ विषयमा नै मास्टर गरिन्। उनी मिस नेपाल पनि बनिन्।

    मिस नेपालपछि फिल्म

    स्वाभाविक नै, मिस नेपाल भएपछि जो कोही मिस नेपाललाई पनि फिल्मको अफर आउने गर्छ। मलिनालाई पनि फिल्मको अफर धेरै आए। तर,अफर आएका धेरै फिल्ममध्ये उनले फिल्म ऋतु छनोट गरिन्। ऋतुमा मुख्य भूमिका निर्वाह गर्दै उनले फिल्म क्षेत्रमा डेब्यु गरिन्। भन्छिन्, 'ऋतु फिल्मको स्कृप्ट धेरै मन परेकाले नै उक्त फिल्ममा काम गर्न तयार भएकी थिएँ।'

    ऋतु फिल्ममा अनुबन्धित हुँदासम्म उनलाई अरू फिल्ममा काम गर्ने वा फिल्म क्षेत्रमा नै रहेर काम गर्ने सोच थिएन। उनको लक्ष्य फरक भएका कारण पनि फिल्ममा त्यति चासो थिएन। 'ऋतु साइन गर्दा पनि यही एक फिल्म मात्र गर्छु भन्ने थियो' उनी सम्झिन्छिन्, 'ऋतुपछि पनि राम्रो फिल्मको अफर आइरहे र काम गर्न मन लाग्यो।'

    उनले कहिल्यै सोचेकी थिइनन् कि, 'फिल्म क्षेत्रमा यसरी काम गरिरहन्छु।' एक-दुई फिल्म राम्रो स्कृप्ट पाएर काम गरेकी उनलाईपछि अभिनयको रस चड्यो। फिल्मप्रति मोह जाग्यो। 'एक दुई फिल्ममा काम गरेपछि एक्टिङमा रस बस्यो। त्यसैले लगातार फिल्म गरिरहेको छु', उनले सुनाइन्।

    सबै फिल्म फ्लप छन्

    नायिका बनेर मलिनाले आधा दर्जन फिल्ममा काम गरिसकेकी छिन्। उनले अभिनय गरेको फिल्ममा ऋतु, द विनर, झुम्की, रानी, लिला र तिमी हुन्छौ जहाँ जहाँ हुन्। पाँच फिल्म प्रदर्शनमा आइसकेका छन् भने तिमी हुन्छौ जहाँ जहाँ प्रदर्शनको तयारीमा छ।

    सबै फिल्म असफल हुँदा पनि फिल्ममा काम गरिरहेकी मलिना भन्छिन्, 'मेरो कारणले मात्र फिल्म फ्लप भएको हैन। यसमा मेरो दोष छैन।' टिम राम्रो नभएर पनि फिल्म असफल भएको उनको धारणा छ। 'सुरुमा राम्रोसँग स्कृप्टहरू सुनाउनुहुन्छ। काम पनि राम्रै हुन्छ। तर, प्रचारप्रसारमा राम्रो गरेन भने फिल्म फल्प भइहाल्छ नि'

    अब गर्ने के?

    मलिना अझै केही वर्ष फिल्म क्षेत्रमा नै रहेर काम गर्ने बताउँछिन्। भन्छिन्, 'अबको केही वर्ष फिल्म क्षेत्रमा नै रहेर काम गर्छ। अहिलेलाई फिल्मबाहेक अरू सोचेको छैन।'

    यति धेरै फिल्ममा काम गर्दा पनि असफलता बेहोरिरहेकी मलिनालाई फिल्मसँग दिक्क लाग्छ। भन्छिन् 'यत्तिका फिल्ममा काम गरिसकियो तर खासै सफलता पाउन सकिएन। टिम राम्रो नभएर र प्रचार-प्रसार नगरेर पनि होला सफलता नपाएको।'

    अबको दिनमा काम गर्दा आफू निकै विचार गरेर मात्र काम गर्ने मलिनाको सोच छ। भन्छिन्, 'अहिलेसम्म मैले कुनै फिल्ममा साइन गरेको छैन। अब भने फिल्म छनोट गर्दा निकै विचार गर्छु।' उनले छनोट गर्दा राम्रो टिम र राम्रो स्कृप्ट छान्ने बताउँछिन्।

    उनले आफूले सानैदेखि देखेको सपना पनि बिर्सिएकी छैनन्। उनको सपना मार्केटिङ एक्जुकेटिभ बन्ने पनि छ। 'त्यो त केही वर्षपछि गरे पनि हुन्छ। हिरोइन बन्न त मिलेन नि', उनी भन्छिन्, 'त्यसैले अहिले फिल्ममा फोकस हुन्छु। अनि पछि सपना पूरा गर्न लाग्छु।'

दिप्सन लुइटेल

पत्रकार लुइँटेल थाहाखबरमा कला, मनोरञ्जन संवाददाताका रूपमा ०७५ मंसिरसम्म कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]