राजनीति

कांग्रेसभित्र सभापतिको खिचडी पाक्दै, शशांक दीर्घकालीन योजनामा

असार १२, २०७५

    काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला पछिल्लो सयम पार्टीभित्र मध्यस्तकर्ताको भूमिकामा देखिएका छन्। कांग्रेसमा देखिएको विभिन्न गुटलाई व्यवस्थापन गर्दै पार्टीलाई एक बनाउन उनी प्रयासरत छन्। 

    कांग्रेसका संस्थापक नेता विपी कोइरालाका पुत्रसमेत रहेका डा. शशांकले पार्टी सभापति शेरबहादुर देउवा र देउवाइतर सशक्त गुट लगाउँदै आएको वरिष्ठ नेता रामचन्द्र पौडेललाई एउटा कार्यक्रममा राखेरसमेत गुटगत राजनीतिलाई अन्त्य गर्न आग्रह गर्दै आएका छन्। 

    वरिष्ठ नेता पौडेल समूहबाट १३ औँ महाधिवेशनमा महामन्त्रीमा विजयी भएका कोइराला पछिल्लो समय पौडेल समूहबाट केही टाढिएको चर्चा छ। पार्टी संसदीय दलको निर्वाचनमा पौडेल समूहका नेता प्रकाशमान सिंहलाई असहयोग गरेर कोइराला सभापति देउवा पक्षमा लागेको पौडेल समूहले आरोप लगाउँदै आएको छ। 
    कांग्रेसका कतिपय नेताले महामन्त्री कोइराला पार्टीको १४ औँ महाधिवेशमा सभापति उठ्नका लागि पनि देउवासँग अलिक नजिक भएको तर्क गर्दै आएका छन्। उनी स्वयमले पनि अब आउने महाधिवेशनमा पार्टी कार्यकर्तासँग छलफल गरेर पार्टी सभापतिमा उठ्ने बताउँदै आएका छन्। 

    तर डा. कोइरालाले १४ औँ महाधिवेशमा सभापति लड्नका लागि देउवासँग नजिक नभएको बताए। ‘देउवाजीसँग नजिक हुँदैमा ला खा भनेर त सभापति दिँदैनन् होला’, उनले भने, ‘उहाँसँग नजिक भएर, टाढा भएर अनि रामचन्द्र दाईसँग टाढा र नजिक हुँदा मैले के पाउँछु र!’

    पार्टीको आगामी महाधिवेशमा कोइराला परिवारबाट एक जनाले नेतृत्व गनुपर्ने निष्कर्षका साथ पार्टी महामन्त्री तथा विपीपुत्र डा. शंशाक कोइराला, केशव–नोनापुत्र शेखर कोइराला र गिरिजापुत्री सुजता कोइराला छलफलमा पनि जुटेका छन्। उनीहरूले अब आफूहरू एक भएको कार्यकर्ता तहमा संकेत दिएका छन्। यसले पनि डा. शशांक सभापति बन्ने लक्ष्यमा रहेको प्रष्ट हुन्छ।

    यस्तै कांग्रेसका कतिपय नेताहरूले कोइरालाको स्वाभाव नै नरम भएका कारण दुवैतिर लचिलो देखिएको बताउँदै आएका छन्। उनी पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्ने पक्षमा रहेकाले मध्यस्तकर्ताको भूमिकामा रहेको बताउँदै आएका छन्। पार्टीका एक युवा नेता भन्छन्, ‘उहाँले पटकपटक पार्टीलाई एक बनाएर लैजानुपर्छ भन्दै आउनुभएको छ। उहाँ गुटलाई प्रस्रय दिनुभन्दा एक भएर अघि बढ्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ।’

    ती नेताले कोइरालालाई गुट छाडेको भन्नुभन्दा सबैलाई एक बनाएर लाने प्रयासमा रहेको भन्न उचित हुने बताए। ‘उहाँलाई नजिकबाट नचिन्नेले गुट छाड्यो भन्छन्। तर होइन उहाँको स्वभाव नै यस्तै हो’, उनले भने, ‘गुटगत विवादलाई समाधान गरेर पार्टीलाई एक बनाउन उहाँ लाग्नुभएको छ।’ 

    यस्तै केही नेताहरूले भने डा. कोइराला महामन्त्री भएका कारण पनि मध्यस्तकर्ताको भूमिकामा रहेको बताउँछन्। कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले गुट छाडेको भन्दा पनि महामन्त्रीको भूमिका निर्वाह गरेको बताए। उनले भने, ‘उहाँ जुन गुटमा हुनुहुन्थ्यो त्यहीँ हुनुहुन्छ। उहाँ पार्टीको महामन्त्री हो। त्यो भएर पनि उहाँले मध्यस्तको भूमिका खेल्नुभएको हो। पार्टीका सबै विवादलाई मिलार लानु उहाँको जिम्मेवारी पनि त हो।’

    गिरीले महामन्त्रीको हैसियतले पनि कोइराला देउवासँग नजिक रहेको बताए। उनले भने, ‘उहाँ महामन्त्री, पार्टीको पदाधिकारी भएर सभापतिसँग टाडा हुँदा त कसरी काम गर्न सकिन्छ। त्यसैले उहाँ सभापतिसँग नजिक हुनुभएको हो। तर आगामी नेतृत्वका लागि सहयोग माग्नचाहिँ होइन होला कि!’

    डा.कोइराला पार्टीभित्र आफू मध्यस्तकर्ताको भूमिकामा रहने बताउँछन्। पार्टीमा देखिएका गुटलाई अन्त्य गर्दै अब पार्टीलाई एक ढिक्का बनाउन आफू प्रयासरत रहेको बताए। उनले भने, ‘म देशभर घुमेर कार्यकर्ताको राय बुझ्छु। हुन त सबै कार्यकर्ताको धारणा गुट अन्त्य गर्नुपर्छ भन्ने छ। म गुट अन्त्य गर्न त्यसपछि एउटा रणनीति तय गर्छु।’

    कांग्रेस लोकतान्त्रिक पार्टीको हो। पार्टीको नेतृत्व चयन पनि लोकतान्त्रिक पद्धतिबाटै हुन्छ। अहिलेसम्म कांग्रेसमा यसैपद्धतिबाट नेतृत्व चयन प्रक्रिया हुँदै आएको छ। यस अवस्थामा पक्षविपक्ष त आवश्यक छ। तर त्यो गुटलाई सधैँ चलाइरहन नहुने कोइरालाको धारणा छ। भन्छन्, ‘पार्टीभित्र गुट त विपीको पालामा पनि थियो। उहाँले त आफ्नै दाईलाई हराएर सभापति बन्नुभयो। तर त्यो गुटलाई पार्टीको निर्वाचनको बेलासम्म मात्र चलाउनुपर्छ। त्यसपछि एक भएर अघि बढ्नुपर्छ।’

    पछिल्लो समय कांग्रेस गुटगत राजनीतिले कमजोर बनेको छ। एउटै पार्टीमा रहेर पनि सभापति देउवा र वरिष्ठ नेता पौडेल ३ र ६ को आँकडामा बसेका छन्। उनीहरू एकले अर्कालाई सधैँ आलोचना मात्र गरिरहन्छन्। र अब पार्टी एक भएरअघि बढे मात्र पार्टीलाई दह्रो बनाउन सकिने महामन्त्री डा. कोइरालाको धारणा छ। 
    ‘एकले अर्कालाई देख्नै नसक्ने उत्तर कोरियाका सर्वोच्चन नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त एक ठाउँमा आइसके अब एउटै सिद्धान्त भएका एउटै पार्टीका नेता किन एक ठाउँमा नआउनु ?’, उनले भने, ‘अब पार्टीलाई एक बनाएर एक हुनुको विकल्प छैन।’ 

चिरञ्जिबी घिमिरे

घिमिरे थाहाखबरमा ०७५ माघसम्म कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]