मनोरञ्जन : मेरो डेब्यु

फिल्मी शैलीमै साम्राज्ञीको फिल्म क्षेत्रमा प्रवेश

साउन १, २०७५

    काठमाडौं : अहिले सर्वाधिक व्यस्त अनि खोजिने नायिका हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह। उनले फिल्म ‘ड्रिम्स’बाट आफ्नो फिल्म यात्रा सुरु गरेकी थिइन्। ‘ड्रिम्स’ एकदमै हिट भइदियो। यस फिल्ममा उनी नायक अनमोल केसीको जोडीको रूपमा प्रस्तुत भएकी थिइन्।

    ड्रिम्सपश्चात ए मेरो हजुर २, तिमीसँग, कायरा, इन्टु मिन्टु लण्डनमा जस्ता फिल्ममा काम गरिसकेकी उनको हाल फिल्म बजारमा माग बढिरहेकै छ। उनका फ्यान र फलोअर्स पनि उत्तिकै छन्।

    डेब्यु नै फिल्मी

    कक्षा १२ को परीक्षा सकेर उत्साहित मुद्रामा उनी घर फर्किएकी थिइन्। परीक्षा सकिएको खुसी उनीमा उत्तिकै थियो। उनले घर छिरेर आमालाई आफू पास हुने आश्वन दिइन्। 'ममी, परीक्षा सकियो। म पास हुन्छु नि!' उनको यो बोली नसकिँदै उनको ममी नजिक आएर सानो स्वरमा भुवन केसीको फोन आएको बताइन्।आमाले भनिन्, ‘तलाई फिल्म खेलाउन फोन गर्‍या रे।’ साम्राज्ञी अकमक्क परिन्।

    साम्राज्ञीले भुवन केसीसँग कुरा गरिन्। भविष्यमा के गर्ने भन्ने कुनै योजना नभएकी साम्राज्ञीले केही नसोची 'हुन्छ' भनिन्। भुवनले भेट्न बोलाए। उनी गइन्। भुवनको अफिसमा बसेर साम्राज्ञी र उनकी मामुले फिल्मको स्क्रिप्ट सुने। साम्राज्ञीलाई स्क्रिप्ट मनपर्‍यो। फिल्ममा काम गर्न राजी भइन्।

    करियर सुरुवातमा थिएन बाबाको साथ

    साम्राज्ञीका बुबाले एउटा विज्ञापनमा काम गरेका थिए। उनलाई थाहा थियो, काम गर्दाको पीडा। तर, साम्राज्ञी यस कुरामा अनभिज्ञ थिइन्। बुबाले दु:ख थाहा पाएरै होला, फिल्ममा काम नगर भनेको। तर, बुबाको कुरालाई अस्वीकार गर्दै उनले फिल्म खेल्न जिद्दी गरिन्। ममीले पनि साम्राज्ञीलाई साथ दिइन्। पछि उनीहरूले बाबालाई मनाएर फिल्ममा काम गरिन्।

    काम गर्न साह्रै गाह्रो

    भुवनले उनलाई फिल्ममा काम गर्नु भनेको 'लेवर वर्क' हो भनेका थिए। तर, उनले सोचेकी थिइनन् यत्ति गाह्रो हुन्छ भनेर। 'गाह्रो हुन्छ भन्नुभएको थियो, तर त्यति गाह्रो होला भन्ने सोचेकी थिइनँ।' जाडो/गर्मी केही भन्न नपाउने। घाम भयो भन्न नपाउने। हिँडेर कहाँकहाँसम्म पुग्नुपर्ने। यो सबै साम्राज्ञीका लागि पीडा नै थियो। हेर्दा जति सजिलो छ, आफैँले गर्दा त्यो भन्दा सयौँ गुणा गाह्रो पाइन् उनले काम गर्दा। 'एउटा टेक लिन पनि चारतिरबाट क्यामेरा फिट गरिएको छ। सानो कुरा नमिले पनि फेरि खिचेको छ। ओहो! एकचोटि त सक्दिनँ जस्तै लागिसकेको थियो', उनले अनुभव सुनाइन्।

    व्यवहार पनि असमान थियो

    साम्राज्ञी फिल्ममा नयाँ थिइन्। उनलाई उनको 'को-एक्टर'को जस्तो सुविधा उपलब्ध थिएन। टेक सकिएपछि अनमोललाई जुस पिउने सोध्न आइपुग्थे। तर साम्राज्ञीलाई सोध्ने कोही थिएन। 'टेक सकिएपछि अनमोललाई छाता ओडाइथ्यो', उनी सम्झिन्छिन्, 'मलाई कसैले केही वास्ता गर्दैनथे। त्यो बेलाचाहिँ धेरै दु:ख लाग्थ्यो।'

    अनमोलका लागि ड्रेस उपलब्ध गराइएको हुन्थ्यो। साम्रज्ञीले आफ्ना लागि ड्रेस आफैँ मिलाउनुपर्ने हुन्थ्यो। आफूले ल्याएको ड्रेस पनि ड्रेसम्यानले राम्रोसँग राखिदिँदैनथे। 'मैले ल्याएका ड्रेसहरू पछि ड्रेसम्यानसँग माग्दा फिर्ता पाउँदिनथेँ', भन्छिन्, 'कहिले हरायो भनेर त कहिले के भनेर टार्थे।'

    सफलताले भुलाइदियो पिडा

    जब फिल्म प्रदर्शनमा आयो उनको कामको चर्चा निकै बढ्यो। फिल्म क्षेत्रले नयाँ स्टार पाएको सबैले प्रतिक्रिया दिए। निर्माण टिमसँग असन्तुष्ट उनी फिल्म हिट भएपछि चाहिँ सन्तुष्ट नै भइन। ‘जे गरेछु राम्रै गेरछु’ उनी भन्छिन् ‘अहिले त्यहीँ फिल्मको कारण म यो लेभलमा छु।'

दिप्सन लुइटेल

पत्रकार लुइँटेल थाहाखबरमा कला, मनोरञ्जन संवाददाताका रूपमा ०७५ मंसिरसम्म कार्यरत थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]