फिचर

सुशीलदा’ले दिएको त्यो पाँच हजार

आन्दोलनमा प्रहरीले प्रहार गरेको त्यो इँटा

साउन २७, २०७५

    काठमाडौं : वि.सं. २०६० को अन्त्यतिर तत्कालीन राजा ज्ञानेन्द्र शाहको विरुद्धमा आन्दोलनको सुरुवात भयो। त्यो आन्दोलन खासै ठूलो थिएन। केही जनता सडकमा निस्कन्थे, झण्डा देखाउँथे र केही नारा पनि लगाउँथे। त्यस बेलासम्म शान्तिपूर्ण आन्दोलन भए पनि तत्कालीन शाही सरकारले भने देखिसहँदैनथ्यो। 

    त्यो बेलाका आन्दोलनकारीले लुकीलुकी हिँड्नुपर्ने अवस्था थियो। प्रहरीले पक्राउ गरे ज्यान लिन्छ कि भन्ने डर पनि थियो। त्यही आन्दोलनमा सहभागी थिइन् एक २०-२१ वर्षकी युवती। आन्दोलन गर्न जोश उत्तिकै थियो। त्यही जोशले दैनिकजसो उनी सडकमा उत्रन्थिन्। 

    उनी अर्थात् नेपाल विद्यार्थी संघकी उपाध्यक्ष उर्मिला थपलिया। महिला भएकै कारण अन्दोलनमा सहभागी हुन धेरै बाधा थिए। तर, त्यो बाधालाई छिचोल्दै उनी दैनिकजसो सडकमा उत्रन्थिन्। ‘इतिहास निर्माताले ज्यानको माया नगरी राणा शासन त फालेका थिए’, उनले भनिन्, ‘गणतन्त्र स्थापनाका लागि हामीले गरेको आन्दोलन त सानो थियो।’ सुरुका समयमा राजाविरुद्धको त्यो आन्दोलन जनआन्दोलनमा परिणत भइसकेको थिएन तर क्रमश: आन्दोलन चर्किंदै गएको थियो। 

    २०६० चैत ३० गते थपलिया सधैँ जस्तै आफ्नो डेराबाट आन्दोलनका लागि भन्दै बागबजारको पद्मकन्या क्याम्पस छेउ आइन्। त्यो बेला आन्दोलन उठाउने एउटा ठाउँ हो बागबजार। आन्दोलनका लागि उनी आफ्नो डेरा कलंकीबाट हिँड्दै बागबजारसम्म सधैँ आउँथिन्। ‘गाडीमा आउँदा प्रहरीले सबै चेक गर्थ्यो’, उनले भनिन्, ‘हामी कम्मरमा झण्डा बोकेर हिँड्दै लुकेर बागबजारसम्म आउँथ्यौँ।’ 

    तर त्यो दिन उनका लागि निकै अविष्मरणीय क्षण बन्यो। त्यो दिनलाई उनी आजसम्म बिर्सन सक्दिनन्। सधैँजस्तै पद्मकन्या क्याम्पस अगाडि आन्दोलन सुरु भयो। प्रहरी र आन्दोलनकारीबीच सामान्य झडप हुँदै थियो। आन्दोलनकारीले प्रहरीमाथि ढुंगा बर्साउँदै थिए। प्रहरी पनि के कम, आन्दोलनकरीले नै प्रहार गरेको ढुंगा टिप्दै फर्काउँदै थिए।

    थपलिया पनि निरंकुश सरकारको विरुद्ध ढुंगा बर्साउन व्यस्त थिइन्। त्यही क्रममा एउटा प्रहरी लुकेर आयो र इँट्टा प्रहार गर्‍यो। इँट्टाले उनको अनुहारमा लाग्यो। आँखाको छेउमा लागेका कारण गम्भीर चोट लागेको थियो। उनी रक्ताम्य बनिन् तर हिम्मत हारिनन्। धेरैले उनको दायाँ आँखै गुम्यो कि भन्ने शंका गरेका थिए। उनलाई पनि आँखा गुम्यो कि भन्ने धेरै चिन्ता लागेको रहेछ। 

    त्यस्तो अवस्थामा पनि अस्पताल लैजान पनि प्रहरीले अवरोध गरिरहेको थियो तर जसोतसो उनलाई अस्पतालसम्म पुर्‍याइयो। ‘मलाई त्यहीँ छेउको एउटा अस्पताल लगियो’, उनले ती दिन सम्झँदै भनिन्,‘ मलाई मेरो आँखा गुम्यो कि भन्ने धेरै डर लागेको थियो। त्यसैले डाक्टरलाई मेरो आँखा पहिला सोधेँ।’

    फोटो : थपलियाको फेसबुकबाट

    'धन्न आँखा सकुशल रहेछ! तर आँखीभौँमा गम्भीर चोट लागेकाले टाँचा लगाउनै पर्ने भयो', उनले भनिन्। त्यही रात उनी अस्पतालबाट डिस्चार्ज भइन्। तर, अर्को समस्या थपियो- हतारमा टाँचा लगाउँदा नसालाई सिलाइएको रहेछ। उनको मुख क्रमश: बांगो हुँदै गयो। उनलाई रातारात टिचिङ अस्पताल पुर्‍याइयो। तीन महिनासम्मको अस्पताल बसाइपछि उनी ठीक भइन् र आन्दोलनमा निरन्तर अघि बढिरहइन्। ‘म घाइते भएको दिन सुशील कोइराला, दीपक गिरीलगायत नेता मलाई भेट्न पुग्नुभयो’, उनले भनिन्, ‘अस्पतालमा त गिरिजाबाबु पनि जानुभयो, त्यसले निकै हौसला मिल्यो।’ 

    तर त्यसबेला आन्दोलन गर्न थपलियामा जति उत्साह थियो, अहिलेको समयमा आएर त्यो उत्साह निराशामा बदलिएको छ। ‘त्यो बेला नेताहरूले पनि त्यस्तै हौसला दिनुहुन्थ्यो’, उनी भन्छिन्, ‘अहिले त नेताले कार्यकर्ता नचिन्ने दिन आए। यसले आमकार्यकर्तामा निराशा छाएको छ।’

    सुशील दा’को त्यो पाँच हजार

    २०७२ सालको अन्त्यतिर नेपाली कांग्रेसको १३औँ महाधिवेशनको गर्मीले कांग्रेसभित्र हपहप बनाएको थियो। त्यो गर्मीको पर्वाहै नगरी थपलिया पनि चुनावमा होमिइन्। उनको लक्ष्य थियो, क्षेत्रीय प्रतिनिधि हुँदै केन्द्रीय प्रतिनिधिसम्म बन्ने। तर, त्यो उद्देश्यमा क्षेत्रीय प्रतिनिधि भएपछि ब्रेक लाग्यो। 

    उनी कोइराला परिवारसँग निकै नजिक। अझ सुशील कोइरालासँग त उनको पारिवारिक सम्बन्धजस्तै। कोइराला फुर्सद भएका बेला उर्मिलासँग घण्टौँ गफ गरेर बस्ने गर्थे। कोइरालाले राजनीतिमा अघि बढ्न थपलियालाई सधैँ हैस्याउँथे। तत्कालीन पार्टी सभापति कोइरालाले उनलाई क्षेत्रीय प्रतिनिधिमा निर्वाचन लड्न भनेर पाँच हजार रुपैयाँ दिएका थिए। 

    ‘म पार्टीको निर्वाचन लड्न धादिङ जाने बेलामा सुशीलदा’ले बोलाउनुभयो। साथीहरूलाई चिया खुवाउन काम लाग्छ यो राख भनेर मलाई पाँच हजार रुपैयाँ दिनुभयो’, उनले भनिन्, ‘विश्वको सबैभन्दा गरिब प्रधानमन्त्रीको परिचय बनाउनुभएका व्यक्तिले दिएको त्यो पाँच हजार मलाई पाँच करोड झैँ लाग्यो।’

    कोइरालाका बारेमा कुरा गर्दै गर्दा थपलिया निकै भावुक देखिन्थिन्। उनका आँखाभरि आँसु टिलपिल देखिन्थे। तर, सम्हालिएर उनले आफ्ना कुरा अघि बढाइन्। कोइरालाले दिएको त्यो पाँच हजार उनले अहिलेसम्म पनि राखेकी रहिछन्।

    ‘त्यो पैसाको यति महत्त्व लाग्यो कि मैले खर्च नगरी राखेँ। अझै पनि राखेकै छु’, उनले भनिन्, ‘क्षेत्रीय प्रतिनिधि भएपछि म काठमाडौं आएर सुशीलदा’कहाँ गएँ। उहाँले महाधिवेशन प्रतिनिधि जितेर आइज भन्नुभयो तर म हारेँ।’ कोइरालाले जीवनको अन्तिम क्षणमा पनि थपलियालाई सहयोग गरेका थिए। थपलियालाई उनी निकै नजिकको ठान्थे। थपलियाका श्रीमान मोहन आचार्य कोइराला निकट भएर लामो समय काम गरेका थिए। कोइरालाको जीवनको अन्तिम दिनसम्म मोहनलाई उनले उर्मिलालाई राजनीति गर्न दिन आग्रह गरेका रहेछन्।

    ‘उहाँको निधन भएको दिन नै मेरो श्रीमानलाई सुशीलदा’ले उर्मिलालाई राजनीति गर्न छाडिदिनु भन्नुभएको रहेछ’, भावुक बन्दै उनले भनिन्, ‘उहाँले श्रीमानसँग उर्मिलाको उत्साह र ऊर्जा राजनीतिमा छ भन्नुभएको रहेछ।’ 

    उनको निधनको अघिल्लो दिन, जुन दिन उर्मिलाले महाधिवेशन प्रतिनिधिका लागि चुनाव हारेकी थिइन्, कोइरालाले फोन गरेर उनलाई हौसला दिएका रहेछन्। त्यो क्षणलाई उनले यसरी बेलिविस्तार लगाइन्, ‘सुशीलदा’ले मैले निर्वाचन हारेपछि कल गर्नुभयो। उहाँले तँलाई के बन्ने इच्छा छ भन्नुभयो। मैले नेविसंघको महामन्त्री बन्ने इच्छा छ भनेँ। उहाँले निर्वाचन हारेर केही हुन्न, अब नेविसंघको राजनीति गर्नुपर्छ भन्नुभयो। आफू हार्नुहुन्न, चुनाव हारेर केही हुन्न भन्नुभयो उहाँले।’

    २०७२ माघ २६ गते कांग्रेस जिल्लाको निर्वाचन सकियो। निर्वाचन सकिँदा रातको ९ बज्नै लागेको थियो। थपलियालाई धादिङमा बस्न मन नै लागेन। काठमाडौं जाऊँ जाऊँ लाग्यो र उनीसहित उनका दाजु मेघनाथ थपलिया र झंक भट्ट काठमाडौं आए। उनीहरू काठमाडौं आएको केही छिनमै कोइरालाको निधनको खबर आयो। 'सायद समयले मलाई सुशीलदा'को निधनको संकेत गरिसकेको थियो', उनले भनिन्।

चिरञ्जिबी घिमिरे

घिमिरे थाहाखबरमा ०७५ माघसम्म कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]