अर्थ

पर्यटन प्रवर्द्धनमा अग्रसर बैतडीकाे दोगडाकेदार

भदौ ५, २०७५

    बैतडी : जिल्लाकाे दोगडाकेदार गाउँपालिकाले धार्मिक, पर्यटन तथा संस्कृति प्रवर्द्धनमा जोड दिएको छ। गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए। गाउँपालिकाभित्र रहेका गन्तव्य स्थानको पहिचान गरी पर्यटन भित्र्याउन सकिने उनको भनाइ छ।  

    'गत वर्ष मात्रै एक करोड रुपैयाँ बढी रकम धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण तथा संस्कृति प्रवर्द्धनका लागि छुट्याएका थियौँ', उनले भने, 'यस वर्ष मात्रै २२ वटा बाटो मर्मत (पिसिसी) गरिसकेका छौँ।' दोगडाकेदार गाउँपालिकामा रहेका मुख्य धार्मिक पर्यटकीय क्षेत्रहरू दोगडाधाम, भिटाकेदार, खोचलेक (गुफा) केदार, रौलाकेदार, देउलेक केदारलगायतका मन्दिरहरू मर्मत तथा बाटो निर्माणको काम गरिएको उनले बताए।

    यसबाट धर्म, संस्कृति संरक्षणका साथै धार्मिक पर्यटनमा सेवा पुग्नेछ। गाउँपालिकाभित्र रहेका हरेक वडाको प्रमुख मन्दिर जोड्ने बाटोहरू निर्माण गरिसकेको छ। यसका साथै रौला-केदारधाम जोड्ने सडकसमेत निर्माण गरिएको छ। रौलाकेदार, देउलेककेदारदेखि दोगडाधाम र सित्तडदेखि दोगडाधाम जोड्ने बाटोलाई यस वर्षको बजेटबाट पिसिसी गरिनुका साथै मन्दिर परिसर सुधारको योजना रहेको उनले बताए।

    गाउँपालिकाको नाम नै प्रमुख दुई दोगडा र केदार देवताको नामबाट नामकरण गरिएको र यस क्षेत्रमा रहेका देवी देवताको बसोबास रहेको जनविश्वासअनुसार धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ। दोगडाकेदार गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रका लागि थालेको काम निकै राम्रो रहेको दोगडाकेदारका स्थानीय पर्शुराम जोशीले बताए।

    बाबुबाजेदेखि चल्दै आएको धर्म संस्कृति पछिल्लो पुस्ताले बिर्सिंदै गएकाले त्यसको प्रवर्द्धन गर्न गाउँपालिकाले जोड दिएको छ। दोगडाकेदारमा थुप्रै देवी देवताको मन्दिर संरक्षणका लागि गाउँपालिकाले जोड दिइरहेको छ। 

    महाकाली राजमार्गसँग जोडिएको गाउँपालिका भएकाले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने श्रीकोटका अनिलकुमार जोशीको भनाइ छ। माअाेवादी सशस्त्र द्वन्द्वकालदेखि नै जीर्ण रहेका मठ मन्दिरको संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि प्रदेश सरकारले पनि सहयोग गर्न आवश्यक रहेको उनले बताए। 

    बैतडीकै पहिलो होमस्टे दोगडाकेदारमा 

    प्रदेश- ७ (सुदूरपश्चिम)को स्थानीय कला, भाषा, संस्कृति तथा खानाका परिकारको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले बैतडी जिल्लामै पहिलो होमस्टे (घरबास) गत वर्षदेखि नै दोगडाकेदारमा संचालनमा आएको छ। दोगडाकेदार गाउँपालिका- ६ सित्तडमा संचालनमा रहेको उक्त होमस्टेमा स्थानीय कला, संस्कृति, पुराना रीतिरिवाज, वेशभूषा, रहनसहन र यहाँका स्थानीय खानाका परिकारहरू रहेका होमस्टे संचालक सुशीला मडैले जानकारी दिइन्।  

    सुशीला होमस्टे नाम दिएर संचालनमा रहेको उक्त होमस्टेमा डोटेली कला संस्कृतिहरू सगुन, फाग, छलिया नृत्यका साथै सुदूरपश्चिमको मुख्य खेल डेउडा आकर्षणका रूपमा रहेका छन्। स्थानीय पोसाक घाक्रा, चोली, आङणोका साथै स्थानीय खानाका परिकारहरू माणा, कोदोकाे राटी, मकैको रोटी, डुब्का, बटुकलगायतका परिकारहरू रहेका होमस्टे संचालक मडैले जानकारी दिइन्। 

    जिल्ला लघु उद्यमी समूह संघ बैतडी, दोगडाकेदार गाउँपालिका र अन्य केही संघसंस्थाको सहयोगमा सुशीलाकाे उक्त होमस्टे संचालनमा छ। दोगडाकेदार गाउँपालिका- ६ सित्तडमा रहेको होमस्टेबाट बैतडीको दोगडाधाम, चमेलिया नदीलगायत दार्चुलाको अपी हिमाल, राष्ट्रकै सातौँ धाम मालिकार्जुन, बझाङको सैपाल हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ। 

    पर्यटन विकासका साथसाथै जिल्लाको पहिचान झल्काउने बैतडी जिल्लामै पहिलो पटक संचालनमा आएकाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सजिलो हुने जिल्ला लघु उद्यमी समूह संघ बैतडीका अध्यक्ष ईन्द्रदेवशरण भट्टको भनाइ रहेको छ। परम्परागत शैली तथा स्थानीय परिकारको संरक्षणका लागि जिल्लामै पहिले होमस्टे दोगडाकेदार गाउँपालिकामा संचालनमा रहेको र अगामी दिनमा एउटा मात्रै घरमा रहेकोमा होमस्टेलाई अब पूरै गाउँमा नै संचालनमा ल्याउनुपर्ने दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए।

     

विनोद सिंह विष्ट

विष्ट थाहा खबरका बैतडी समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]