समाज

नदी कटानको चपेटामा बेनी र गलेश्वर बजार
SHARES

रघुगंगा नदीको कटानका कारण जोखिममा परेको म्याग्दीको रघुगंगा गाउँपालिका–८ स्थित खरिबोट गाउँ।
भदौ ३१, २०७५
    •  कमल खत्री

    बेनी : ‘बेनीको बजार जता मायाँ उतै छ नजर’ बोलको गीतले बेनी बजारलाई नेपालभर चिनाएको छ। कालीगण्डकी र म्याग्दी नदीको दोभानमा चिटिक्क मिलेर बसेको बेनी बजारको दृश्यले यहाँ आउने जो कोहीलाई लोभ्याउने गर्छ। प्राकृतिक रुपमा मनोरम बेनी बजार पछिल्लो समय भने प्राकृतिक विपद्बाट आक्रान्त बन्न थालेको छ।

    केही वर्ष अगाडि मात्रै बेनीको क्याम्पस चोक र मंगलाघाट क्षेत्रमा भेल बाढीले बजार डुबानमा पारेको थियो। करोडौँको क्षति पुर्‍याएको बाढीको त्यो घटना बिर्सन नपाउँदै बेनीवासीले फेरि नदी कटानको जोखिम व्यहोर्नु परेको छ। भदौ २७ गते साँझ कालीगण्डकी नदीमा आएको भीषण बाढीले बेनी बजारसँगै गलेश्वरसमेत कटानको जोखिममा पर्‍यो।

    धौलागिरि हिमालको आधार शिविर रहेको म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगले क्षेत्रको माथिल्लो भेगमा आएको भीषण वर्षा र पहिराको कारण रघुगंगा नदीमा पछिल्लो चार दशक यताकै ठूलो बाढी आएको थियो। रघुगंगा नदी गलेश्वरमा आएर कालीगण्डकीसँग मिसिएको छ।

    सदरमुकाम बेनी बजार संरक्षणका लागि कालीगण्डकी नदीको किनारमा बनाइँदै गरेको पक्की पर्खाल बाढीले बगाएपछि बजार जोखिममा परेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताए। बेनीस्थित जेसीज हलदेखि म्याग्दी उद्योग वाणिज्य संघको भवन पछाडिसम्मको हालै निर्माण गरिएको १०० मिटर भन्दा लामो पक्की पर्खाल कालीगण्डकी नदीले बगाएको छ।

    “बाढी घट्दै गएको समयमा पर्खाल बगेकाले थप क्षति हुनबाट जोखिएको हो,” शुरुमै पर्खाल बगेको भए यहाँ भयावह अवस्था हुने खतरा थियो” अध्यक्ष श्रेष्ठले भने। बजार संरक्षणका लागि बनाइएको पक्की पर्खाल बगाएर कालीगण्डकीले बजारतर्फ कटान गर्न थालेपछि समस्या आएको हो।

    त्यसैगरी, रघुगंगा नदीको कटानले बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ मा रहेको गलेश्वर बजारको वारि र पारि दुबैतर्फका बस्तीलाई उच्च जोखिममा पारेको छ। बेनी–जोमसोम सडक खण्डअन्र्तगत गलेश्वरमा रघुगंगा नदीमाथिको बेलिब्रिजसँगै नदी किनारमा रहेका वस्ती नदी कटानको जोखिममा परेको स्थानीयवासी मिम प्रसाद थकालीले बताए।

    रघुगंगा नदीको मुहान क्षेत्र कुईनेमंगले र मुस्ताङको तल्लो क्षेत्रमा भीषण वर्षा हुँदा नदी कटान बढेको हो। बेनी–जोमसोम सडकखण्ड अन्तर्गत तिल्केनी, भुरुङ तातोपानी, लगायतका ठाउँमा सडक नै भत्किएका छन्।

    बेनी बजार मुलुककै उच्च जोखिमयुक्त जिल्ला सदरमुकाममध्येमा पर्छ। म्याग्दीलाई नदी कटानबाट जोगाउन स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारबाटै योजनाबद्ध तवरले तटबन्ध र रिटेनिङ पर्खाल निर्माणको कामसँगै नदी किनारमा जाने पहिरो रोकथाममा ध्यान दिन आवश्यक रहेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए।

    रघुगंगा खोलामा आएको बाढीबाट रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको घ्याँसीखर्कस्थित रितुङ माध्यमिक विद्यालयको दुई वटा भवन र एउटा शौचालय बाढीले बगाएपछि पठनपाठन प्रभावित भएको छ। विद्यालय भवन बगाएपछि नियमित पठनपाठन प्रभावित बनेको वडाध्यक्ष गमान छन्त्यालले जानकारी दिए।

    बाढीले स्थानीय सहारा स्पोर्टस् क्लबको खेलमैदान र मञ्च बगाइदिएको छ। त्यस्तै, सोही बाढीले खरिबोटमा याम बहादुर छन्त्याल र चन्द्रबहादुर छन्त्यालको घरलाई पूर्ण रुपमा क्षति पारेको र चन्द्रबहादुरको नगद १ लाख ५० हजार रुपैयाँ समेत बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    बाढीले घ्याँसीखर्कमा निर्माणाधीन अवस्थामा रहेको स्वास्थ्य चौकी र तीन वटा झोलुङ्गे पुलमा पनि क्षति पुर्‍याएको छ। रघुगंगा नदीको कटानले घ्याँसीखर्क र खरिबोट वस्तीलाई समेत उच्च जोखिममा परेको छ।

    बेनी बजारमा नदी कटानको समस्या आएको यो पहिलो पटक भने होइन। यसअघि पनि पटक पटक बेनी बजार क्षेत्रमा कालीगण्डकी र म्याग्दी नदीले कटान गर्दै आएको थियो। म्याग्दी, कालीगण्डकी र रघुगंगा जस्ता ठूला जलाधारयुक्त क्षेत्र हुनु, जिल्लाको हिमाली भेगमा भारी वर्षा हुनु, छरिएको भूगोलका जलाधारहरु एकीकृत भएर बग्नु यहाँको नदीको आयतन बढ्नुका थप कारणहरू हुन्।

    प्राकृतिक रुपमा भारी वर्षा भएपछि खोलाहरुमा बाढी आउनु स्वाभाविक हो। तर, बजारलाई नदी कटानबाट रोक्न बनाइएको पूर्वाधारहरु नै बगाउने गरी बाढी आउनुले भने यहाँ समस्यालाई थप जटिल बनाएको छ।

    बाढीले निम्त्याएको विपद् व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समितिले पहल थालेको छ। समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको पहलमा जनप्रतिनिधि, सुरक्षा निकाय र सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी बैठकले नदी कटानको उच्च जोखिममा परेका बेनी र गलेश्वर बजारमा थप क्षति हुन नदिन तत्काल संरक्षणको काम शुरु गर्ने निर्णय गरेको प्रजिअ अधिकारीले जानकारी दिए।

    तत्काल नदी कटानलाई रोक्न र थप क्षति हुनबाट जोगाउन बेनी नगरपालिकाको संयोजनमा उद्योग वाणिज्य सङ्घ, सुरक्षा निकाय र समुदायको सहभागितामा पक्की पर्खाल बगाइएको ठाउँमा ग्याविन भर्न थालिएको छ। रघुगंगा–३ गलेश्वर वस्तीतर्फको कटान रोकथामका लागि समेत गाउँपालिकासँगको समन्वयमा ग्याविन जाली भर्न थालिएको छ।

    दुई नदीको दोभानमा रहेको बेनी बजारलाई संरक्षण गर्न अहिले यहाँ सञ्चालन भइरहेको बेनी संरक्षण आयोजनाको प्रभावकारी कार्यान्वयनमा जुट्ने प्रतिवद्धता बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए।

    सदरमुकाम बेनी बजार संरक्षणको काम २०५६ सालदेखि शुरु गरिएको हो। शुरुमा स्थानीयवासीले जनस्तरबाट बेनी बजार संरक्षण समितिमार्फत नदी कटान रोकथामका लागि ग्याविन पर्खाल निर्माण गर्ने कामको थालनी गरेका थिए। पछि सरकारी तवरबाट समेत बजेट विनियोजन हुन थालेपछि सोही समितिको अगुवाईमा म्याग्दी र कालीगण्डकी नदी किनारमा ग्याविन पर्खाल बनाउने कार्यले तीव्रता पाएको थियो।

    आव २०७२-७३ देखि भने जोखिमयुक्त सदरमुकाम बचाउ अभियानअन्तर्गत केन्द्रीय स्तरबाट नै बजेट विनियोजन भएर गुरुयोजना नै तयार गरी बेनी बजार संरक्षणको काम थालनी भएको थियो। तर, पहिलेदेखि बनाइँदै आइएको ग्याविन पर्खाललाई फालेर पक्की पर्खाल बनाउने काममा लापरबाही भएका कारण अहिले नदीले जोखिम बढाएको सरोकारवालाहरुको भनाइ छ।

    आयोजना निर्माण सम्पन्न नहुँदै बनाइएका पक्की पर्खाल बगाएपछि योजनाको गुणस्तरमाथि प्रश्न उठेको बेनीका स्थानीयवासी बालकृष्ण सुवेदीले बताए। अघिल्लो वर्ष निर्माण गरेको पूर्वाधार नै नदीले बगाइदिएपछि आयोजनाको डिजाइन र ठेकेदार कम्पनीको कार्यशैलीमाथि सन्देह पैदा भएकाले छानविन हुनुपर्ने बेनी बजार संरक्षण समितिका तत्कालीन अध्यक्ष हरिकृष्ण श्रेष्ठ बताउछन्।

    बेनी र मंगलाघाट क्षेत्रमा नदी किनारमा पक्की पर्खाल बनाउने ५३ करोडको बहुवर्षीय योजनाअन्र्तगत सञ्चालित बेनी बजार संरक्षण आयोजनाले अहिलेसम्म ११ करोड खर्चिसकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनीयर याम नारायण श्रेष्ठले बताए।

    विपद् व्यवस्थापन समितिको बैठकले समेत गत आवमा निर्माण भएको पक्की पर्खाल नदीले बगाएको र संरचनाको डिजाइन र निर्माणमा देखिएको कमजोरीका सम्बन्धमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई छानविन अघि बढाउन निर्देशन दिएको छ।

    बेनी बजारलाई नदी कटानबाट जोगाउन विगतदेखि थुप्रै प्रयास भइआए पनि बनाइएका संरचनाहरु भरपर्दो र गुणस्तरीय नहुँदा करोडौँको लगानी खेर गइरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]