समाज

यसपालि बालगोपालेश्वरको दर्शन गर्न नपाइने भो
SHARES

भदौ ३१, २०७५

    काठमाडौं : पुनर्निर्माण हुन नसक्दा यस वर्ष पनि सर्वसाधारणले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको दर्शन गर्न नपाउने निश्चित भएको छ।

    गोरखा भूकम्प भएको तीन वर्ष बितिसक्दा पनि काठमाडौं महानगरपालिका र पुरातत्त्व विभागबीच सकारात्मक छलफल हुन नसक्दा निर्माणको कामले गति लिन सकेको छैन। यसअघि काठमाडौं महानगरपालिकाले मन्दिरसहित रानीपोखरीको पुनर्निर्माण गर्दा विभागले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाएको र निर्माणका क्रममा सिमेन्ट प्रयोग गरेको भन्दै विवाद सिर्जना भएपछि निर्माणको सम्पूर्ण काममा रोक लगाएको थियो।

    कामपाले व्यापारिक दृष्टिकोणले सोहीअनुरूप पोखरी क्षेत्रको निर्माण सुरु गरे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरेको भन्दै चौतर्फी विरोध आएपछि सुरु गरिएको निर्माण रोकिएको हो।  वि.सं. २०७२ माघ महिनामा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीमा पुनर्निर्माणको शुभारम्भ गरेकी थिइन्।

    उक्त मन्दिर हरेक वर्ष तिहारमा भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ। मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले भाइटीका लगाउँछन्।

    कामपा, भौतिक पूर्वाधार तथा पुनर्निर्माण विभागका प्रमुख राम थापाले यसअघि पुनर्निर्माणका क्रममा प्रयोग भएको आधुनिक निर्माण सामग्री पनि हटाइसकेको हुनाले अब छिटो निर्माणको काम गर्ने तयारी भइसकेको जानकारी दिए। 

    उनका अनुसार अहिले पोखरी निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ, अबको केही दिनमा बोलपत्रको समय सकिन्छ र आवश्यक सहमतिपछि निर्माण सुरु गरिन्छ।

    केही दिनअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण गर्दा प्राचीन शैली र ऐतिहासिक महत्त्वलाई कायम राख्न आवश्यक भएको बताएका थिए।

    भूकम्प जाँदाको बेला पोखरीको स्वरूप जस्तो थियो, सोहीअनुरूप निर्माण छिटो गर्न  समय समयमा सम्पदाप्रेमी र राजनीतिक दलका प्रतिनिधिले ज्ञापनपत्र पनि पेस गरेका छन्।  पुनर्निर्माणलाई प्रभावकारी र सहज बनाउनका लागि गत पुस १३ गते विज्ञ समूह गठन गरिएको थियो। उक्त विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भन्दै सोहीअनुरूप निर्माण गर्न सुझाव दिएको थियो।

    प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन वि.सं. १७२७ मा रानीपोखरीको निर्माण गराइएको शिलालेखमा उल्लेख छ। पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो। पोखरीको निर्माण करिब पाँच वर्षभित्र अर्थात् वि.सं. १७२५ मा सम्पन्न भएको थियो र वि.सं. १७२७ मा शिलापत्र राखिएको थियो। नेपाल संवत् ८११ मा उक्त पोखरीलाई न्हुरपुखुर (न्हुपुखु) भनिएको छ, जसको अर्थ नयाँ पोखरी भन्ने हुन्छ। रानीको शोक हटाउन बनाइएको हुनाले बोलीचालीमा यसलाई रानीपोखरी नै भन्ने गरिएको छ।

    बालगोपालेश्वर मन्दिरको स्वरूप ग्रन्थकूट शैलीको थियो। यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्छ। उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको रेखाचित्रबाट पनि प्रष्ट हुन्छ। पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन्। 

    प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ। तीमध्ये उत्तरपश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तरपूर्व कुनामा भैरवको मन्दिर, दक्षिणपूर्व कुनामा देवीको मन्दिर र दक्षिणपश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ। पोखरीको दक्षिण भागमा प्रताप मल्ल आफ्ना छोराहरूसहित चढेको सेतो हात्तीको मूर्ति पनि छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]