थाहा संवाद

‘वीपीको नीति राजा फाल्ने थिएन, मरेपछि अनर्गल प्रचार गरियो'

'पहिला पनि पार्टीभित्र विवाद हुन्थ्यो तर मुद्दामा'

पुस १६, २०७५

    काठमाडौं : राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर नेपाली कांग्रेसले सोमबार देशभर कार्यक्रमको आयोजना गरेको छ। प्रत्येक वर्ष मनाउँदै आएको दिवसलाई कांग्रेसले यस वर्ष भने देशव्यापी रूपमा मनाउँदै छ।

     २०३३ साल पुस १६ गते मेलमिलापको नीति लिएर वीपी कोइराला आफ्नो निर्वासन जीवन त्याग्दै स्वदेश फर्किएपछि कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आएको छ।

    मेलमिलाप दिवस अहिलेको सन्दर्भमा कतिको उचित छ? सधैँ वीपी, सुर्वण, गणेशमानलगायत नेताको नाम लिने कांग्रेसका नेताहरू अहिले उनीहरूले देखाएको बाटोमा हिँड्न सफल भएको छ त? यसै वियषयमा वीपीसँग नजिक भएर काम गरेका नेता कुलबहादुर गुरुङसँग थाहाखबरका चिरञ्जिबी घिमिरेले गरेको कुराकानी:

    कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस किन मनाउँदै छ?

    २०३३ साल पुस १६ गते जब वीपी कोइराला लामो निर्वासित जीवन बिताएर आउनुभयो त्यो बेला नै उहाँले मेलमिलापको दिवस बनाइनुपर्छ भन्नुभएको थियो। यसपालि चाहिँ राष्ट्रिय रूपमा कांग्रेसले मनाउन लागेको छ। यो निकै खुसीको कुरा हो। यो के बुझेर, के उद्देश्यले हो त्यो चाहिँ मैलाई थाहा भएन।

    वीपी नेपाल आउनुभन्दाअघि कात्तिक २५ गते म, बासु कोइराला र धर्म गौतम नेपाल फर्किएका थियौँ। वीपीको मनमा आफू पहिला कोही नेपाल फर्कियोस् भन्ने थियो। त्यही बुझेर हामी आएका थियौँ। त्यो बेला मेलमिलाप एउटा रणनिति मात्र थियो भन्ने सम्झन्थे। तर अब मेलमिलाप दिवस चाहिँ एउटा दर्शनको रूपमा आएको छ। त्यही भएर होला कमल थापाहरूले पनि दिवस मनाउन लागेका छन् भन्ने सुनेको छु।

    त्यो बेला मैले राजा फाल्ने प्रस्तावमा सबैलाई बोल्न दिनुपर्छ भनेको थिएँ। देशमा राजा चाहिन्छ/चाहिँदैन भनेर सबै जनताले बोल्न पाउनुपर्छ भनेर मैले भनेँ। एक जनालाई पनि बोल्न दिएनन्। मैले बोल्दै गर्दा हुटिङ गरे। बोल्न दिएनन्। तुरुन्त प्रस्ताव पेस भयो र पास पनि भयो।

    त्यो बेलाको मेलमिलापको नीतिको सान्दर्भिकता अहिलेको कस्तो छ?

    राष्ट्रिय मेलमिलाप दिवस त्यो बेला रणनीति  मात्र सोच्थे। अब त्यो दर्शनको रूपमा आएको छ। वीपीले मेलमिलापको सुरु गरे। त्यसबेलाको नीतिलाई  पन्छाउनाले देश के भयो ? भोली कहाँ पुग्ने ? दलकाे नीति र गतिविधि नराम्रो ढंगबाट विकास भइरहेको छ।

    वीपीको मेलमिलाप नीतिलाई अहिले अनुशरण गरिएन र?

    मैले त्यसबेला पनि भनेको थिएँ। मेलमिलाप त्यसबेलाको आवश्यकता थियो। हामी सशस्त्र क्रान्ति गर्न लागेका मान्छेले क्रान्ति छोडेर आएका थियौँ। अहिले पनि हरेक क्षेत्रमा नेपालमा मेलमिलाप आवश्यकता छ। अहिले देशमा धेरै अप्ठ्यारो परिस्थिति आएको छ। अत्यन्तै नाजुक परिस्थितिमा नेपाल गुज्रँदै छ।

    त्यसबेलाका जल्दाबल्दा नेताहरूले के सोचेर संविधान बनाए ? त्यो बेलाको संविधानलाई के भनेर बाइपास गरे? त्यो बेला मैले राजा फाल्ने प्रस्तावमा सबैलाई बोल्न दिनुपर्छ भनेको थिएँ। देशमा राजा चाहिन्छ/चाहिँदैन भनेर सबै जनताले बोल्न पाउनुपर्छ भनेर मैले भनेँ। एक जनालाई पनि बोल्न दिएनन्। मैले बोल्दै गर्दा हुटिङ गरे। बोल्न दिएनन्। तुरुन्त प्रस्ताव पेस भयो र पास पनि भयो। त्योबेलाका सांसद त्रसित मनस्थितिमा थिए। राजा फाल्ने निर्णय हतारमा भयो। मैले पूर्वदेखि पश्चिमसम्मका जनताले थाहा पाउनुपर्छ भनेको थिएँ।

    जनताले थाहा नपाई राजा फालिएका हुन्?

    तपाईंहरू आफैँ विचार गर्नुहोस् न, २०५६ सालको निर्वाचित सांसदको पहिलो बैठक बस्यो। उनीहरूले गिरिजाप्रसाद कोइरालालाई संसदबाट प्रधानमन्त्री बनाएको इतिहास छ।

    अब राजाको उत्तराधिकारी छोरो होस् या छोरी राजा संसदले बनाउँछ, राजाको सम्पत्तिमा कर लाग्छ भनेर संसदले पास गरेको थियो। त्यहाँभन्दा अघि राजपरिषद्ले गर्थ्यो। त्यसको अध्यक्ष राजा हुन्थे। यो पास गर्दा कांग्रेस, एमाले, जनमोर्चा पनि थिए। यो निर्णय सर्वसम्मत थियो।

    त्यसो भए किन राजा फालियो त?

    हो यही प्रश्न म पनि गर्दै आएको छु। यो विषयलाई लिएर म पश्चिमबाट झापासम्म गएँ। मैले पोखराको आमसभामा भनेँ। त्यहाँका सांसदहरूले यसले नभन्ने कुरा गर्‍यो अब यो पार्टीबाट आउट हुन्छ भने। भोलिपल्ट मलाई खरो रूपमा उनीहरूले प्रश्न पनि गरे। उनीहरूले मलाई भन्न नहुने कुरा गर्नुभयो भने। मैले निर्वाचित सांसदले २०५६ सालमा पास गरेको स्मरण गराएँ। आज उनीहरू गल्ती गरेको महसुस गर्दै छन्।

    राजा चाहिँन्छ मैले भन्न खोजेको हैन। तर त्यो परिस्थितिमा गरिएको निर्णय गलत थियो। प्रक्रिया गलत थियो। राजतन्त्रका विषयमा जनमत संग्रह गर्छौँ भनेको भए त हुन्थ्यो नि! तर एकैपटक यस्तो निर्णय सांसदहरूले नै गरे। इतिहासमा यस्तो विडम्बना हुनु हाम्रो गल्ती हो। यो गल्ती सच्याउने ठाउँ छैन। अबका दिन धेरै नराम्रा हुँदै छन् भन्ने मलाई लाग्छ।

    फेरि राजा चाहिन्छ भन्न खोज्नुभएको हो?

    राजा चाहिन्छ मैले भन्न खोजेको हैन। तर, त्यो परिस्थितिमा गरिएको निर्णय गलत थियो। प्रक्रिया गलत थियो। राजतन्त्रका विषयमा जनमत संग्रह गर्छौँ भनेको भए त हुन्थ्यो नि! तर एकैपटक यस्तो निर्णय सांसदहरूले नै गरे। इतिहासमा यस्तो विडम्बना हुनु हाम्रो गल्ती हो। यो गल्ती सच्याउने ठाउँ छैन। अबका दिन धेरै नराम्रा हुँदै छन् भन्ने मलाई लाग्छ।

    जनमतसंग्रहको आवश्यकता अझै देख्नुहुन्छ?

    यसमा मलाई अब विश्वास लाग्दैन। राजाले के गर्दैछन् मलाई थाहा छैन। म राजासँग र उनको मान्छेसँग सम्पर्कमा पनि छैन। तर, त्येबेला वीपीले प्रतिपादन गरेको कुरालाई मात्र मानिरहेको छु। वीपी हुनुभएको भए अहिले के गर्नुहुन्थ्यो म भन्न सक्दिनँ। तर यो गल्तीले हामीलाई कति दुःख दिन्छ त्यो सोच्दै म रुमलिएको छु।

    जनताले चाहनाले भएको कदमलाई कसरी गल्ती भन्ने?

    गल्ती नै हो। गल्तीलाई सुधार्ने बाटो नै देखिँदैन। जाति, धर्मका बीचमा नराम्रो द्वन्द्व आएको छ। यस विषयमा कसैले पनि भन्न सकेको छैन र भन्दै भन्दैनन्। कसैले भन्यो भने पनि कसैको पैसा खाएर भन्यो भन्छन्। यथार्थ कुरा त यसरी बाहिरै आउँदैन। सबै नेतृत्व सामाजिक क्षेत्रका व्यक्तिहरू एकठाउँमा बसेर छलफल गर्ने हो भने बाहिर आउन सक्छ। तर, कोही बाहिर ल्याउने पक्षमा छैनन्। उनीहरूलाई एकले अर्काको आलोचना गर्दै फुर्सद छैन। त्यसकारण अहिलेको परिस्थिति निकै अप्ठ्यारो छ।

    तपाईंले देखेको अप्ठ्यारो चाहिँ के हो?

    अहिले चलिरहेको अवस्था नै अप्ठ्यारो हो नि! यसलाई कसरी समाधान गर्नुपर्छ भन्ने कसैलाई थाहा छैन।

    थाहा भएकाले पनि भन्दैनन् किनकि अहिले एकअर्कामा निकै ठूलो विभाजन आएको छ। जुन अदृष्य शक्तिले यसलाई आफ्नो स्वार्थका कारण चलाइरहेको छ।

    राजतन्त्रको विषयमा वीपीको चाहना के थियो?

    राजा देशको राष्ट्रवादी शक्ति हुन् र आफू प्रजातात्रवादी हो भनेर वीपी सधैँ भन्ने गर्नुहुन्थ्यो।

    वीपीले राजा राष्ट्रवादी हो उसको कहीँ जाने ठाउँ छैन भन्नुहुन्थ्यो। उहाँले राजा प्रजातन्त्रवादी हुनुपर्छ भन्ने हामीलाई भन्नुहुन्थ्यो। हाम्रो राजासँग झगडा त्यति मात्रै थियो। राजाले वीपीलाई चिन्नै सकेनन्। केही समयअघि एकजना राजावादीले हामीले वीपीलाई चिन्यौँ भनेको सबैलाई थाहा छ नि! वीपीलाई इन्डियन दलाल भन्नेहरू सबैभन्दा ठूलो राष्ट्रवादी बनेका छन्। तर, उसलाई राष्ट्रको कुरा केही थाहा छैन। उसले हिजो के के गरेको थियो भन्ने केलाउने हो भने ऊ रहँदैन। तर, केलाइदिँदैनन्।

    कांग्रेस वीपीको बाटोमा हिँडेको छ?

    छैन। वीपीले लिएको सिद्धान्त र विचारबाट विमुख भएर बीचमै अरूसँग मिलिहाले नि! राजा हाम्रो विरोधी त हो तर उसलाई प्रजातन्त्रवादी बनाउनुपर्छ भन्ने हो।

    वीपीले कांग्रेस यस्तो हुन्छ भन्ने कल्पना गर्नुभएको थियो?

    उहाँले कांग्रेस यस्तो हुन्छ भन्ने कल्पना पहिला नै गर्नुभएको थियो। म मरेपछि मेरो विचारको अनर्गल प्रचार हुन्छ भन्नेर भन्नुहुन्थ्यो।

    ओखलढुंगा काण्डपछि धेरैले गिज्याएर कांग्रेस सकियो भनेका थिए। उहाँ हो, सकिएजस्तै भएको छ भन्ने गर्नुहुन्थ्यो। तर यो सकिँदैन। गाउँमा एउटा कांग्रेस छ भने त्यसलाई म न्युक्लियस मान्छु, त्यसबाट कांग्रेस फेरि फैलिन्छ भन्नुभएको थियो।

    उहाँले म मरेपछि कांग्रेसमा सुकिलामुकिलाहरूको हालीमुहाली हुन्छ भन्नुभएको थियो। त्यसविरुद्ध संघर्ष गर्नुपर्छ त्यसपछि मात्र साँचो प्रजातन्त्रवादीको जन्म हुन्छ र त्यसले मात्र देश सम्हाल्न सक्छ भनेर उहाँ भन्नुहुन्थ्यो। 'आफ्नो देशको बारेमा दह्रो भएर उभिनु, अलमल परे एक मुठी माटो लिएर शहीदलाई सम्झ र मनमस्तिस्कले के भन्छ त्यही गर' भनेर वीपीले भन्नु भएकै छ नि!

    सबैलाई राम्रोसँग सम्झाएर र सम्हालेर लानुपर्छ। आफ्नो ढिपीलाई नेतृत्वले छाड्नुपर्छ। अहिलेको अवस्थामा स्वार्थलाई पूरै छाडिदिनुस्, नसक्ने भए आधा त छाड्नुस्।

    भनेपछि अहिलेका कांग्रेस नेताले वीपीको अनर्गल प्रचार गरे?

    आफ्नो स्वार्थका लागि कांग्रेस नेताहरूले वीपीबारे अनर्गल प्रचार गरे। पार्टीलाई स्वार्थमा हिँडाउन खोजेका छन्। तर, अहिले मेलमिलाप गराउनुपर्छ भनेर गाउँ जाँदै छन्। मेलमिलापबारे वीपीले के भन्नुभएको थियो र हामी के गर्दैछौँ भन्ने विषय उठेको छ भने ठीक छ। तर, यसलाई दिवसको रूप मात्र दिने हो भने त्यसको अर्थ छैन।

    पूर्वराष्ट्रपति रामवरण यादवले केही समयअघि कांग्रेसको अवस्था देखेर चिन्ता लागेको छ भन्नुभएको थियो। कांग्रेसको अहिलेको अवस्था दयनीय हो?

    कांग्रेस अहिले दयनीय अवस्थामा पुगेको पक्कै हो। महासमिति बैठक त भयो, त्यसमा हात मिलाउने काम पनि भयो। तर केही दिनमा फेरि नेताहरूको अभिव्यक्ति त बेग्लाबेग्लै आयो नि!

    त्यसो भए कांग्रेस गुटको बन्धक भयो?

    यो त पानीमा निक्लिएको छाया जस्तै छ, मैले के भन्ने र!

    पार्टीमा त वीपीको पालामा पनि त विवाद थियो नि?

    त्यो बेलामा सिद्धान्त, दर्शन र रणनीतिका लागि मुद्दाहरू उठ्थे छलफल हुन्थे। कसैले राजालाई सिधै सहयोग गर्नुपर्छ भन्थे त कसैले राजालाई सिधै सहयोग गर्न हुँदैन भन्थे। मैलेचाहिँ तीनजना नेताबीच कहिल्यै विवाद देखिनँ।

    कांग्रेस त्यो अवस्थाबाट यो अवस्थामा आउनुको कारण के हो?

    कांग्रेसीले कांग्रेस बिर्सेपछि त यस्तो अवस्थामा आउने भइगयो नि! वीपी, सुर्वण, गणेशमानजीहरूले कांग्रेसलाई २००७ देखि जुन ढंगले लिएर आए त्यसलाई बिर्सेपछि के हुन्छ त? त्योबेला एकअर्कालाई सहयोग गर्ने परिस्थिति थियो। अहिले त्यो अवस्था छैन।

    पार्टीमा अहिले नेतृत्व व्यक्तिमुखी र नातावादमा फसेको आरोप लाग्छ नि?

    त्यो त सबैले देखेकै छ नि। मैले किन भनिरहनुपर्‍यो! यो महासमिति बैठकमा पनि उठेको हो। सबैले जानेकै छ नि!

    महासमिति बैठक कतिको फलदायी भयो?

    एकअर्कामा भएका केही विषयहरू बाहिर आए। नेताहरूलाई निर्धक्कसँग कार्यकर्ताले भन्ने मौका पाए। त्यति हो अरू त के भयो र? गला मिलाएको भोलिपल्ट नै के के भयो त्यो त पत्रपत्रिकामा आएकै छ नि!

    तर शेरबहादुर देउवा र रामचन्द्र पौडेल त मिल्नुभएको छ नि?

    शेरबहादुरजी र रामचन्द्रजी सधैँ मिल्छन्। देखावटी रूपमा सधैँ बाज्छन्। उनीहरूको लेनदेनमा कहिल्यै फरक भएका छैन।

    कांग्रेसलाई सुधार्न नेताहरू सुध्रनुपर्छ। नेताहरूले लोभ गर्नु हुँदैन। देशमा कस्तो नेतृत्व चाहिन्छ भनेर एकअर्कामा छलफल गरेर नेता चुन्नुपर्छ। तर उनीहरू यसो गर्न सक्दैनन्। एकअर्कालाई पछाडि पारेर आफूअगाडि बढ्नुपर्छ भन्ने उनीहरूको भावना छ।

    तर नेताहरूले प्रजातान्त्रिक पार्टीमा गुट स्वाभाविक हो भन्ने गर्नुभएको छ नि?

    गुटहरू स्वाभाविक हैन। बिषय निक्लेको बेलामा वादविवाद हुनु सामान्य हो। जस्तो २०१४ सालमा राजा त्रिभुवनले संविधानसभा चुनाव गराउँदिन, संसदको चुनाव गराउँछु अनि संविधान म दिन्छु भनेका थिए। त्योबेला वीरगंजमा भएको महाधिवेशनमा गणेशमानजीले २००७ सालमा क्रान्ति गरेर ल्याएको अधिकारबाट विचलित हुनुहुँदैन भनेर चार घण्टा बोल्नुभएको थियो।

    त्योबेला वीपीले उहाँहरूलाई परिस्थितिअनुसार चल्नुपर्छ भनेर सम्झाउनु भएको हो। त्यहाँ गुट देखिएकै हो नि! गणेशमानले म क्रान्ति गर्न जान्छु भन्नुभएकै हो नि। तर त्यसलाई गुट मानिएन। रणनीतिका हिसाबले हुनु त सामान्य हो। अहिले त आफू निकटकाले राम्रो भने पनि नभने पनि मान्दिने, अर्कोले राम्रो भने पनि नमान्ने चलन छ।

    पार्टी नेतृत्वलाई तपाईंको के सुझाव रहन्छ?

    सबैलाई राम्रोसँग सम्झाएर र सम्हालेर लानुपर्छ। कांग्रेस कांग्रेसकै नीतिमा चल्नुपर्छ। बहकिनु पनि हुन्न र नेतृत्वले आफ्नो ढिपीलाई छाड्नुपर्छ। अहिलेको अवस्थामा नेताहरुलाई अनुरोध छ, निजी स्वार्थलाई पूरै छाडिदिनुस्, नसक्ने भए आधा त छाड्नुस्।

चिरञ्जिबी घिमिरे

घिमिरे थाहाखबरमा ०७५ माघसम्म कार्यरत थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]