राजनीति

जब भूमिव्यवस्था मन्त्री अर्याल मालपोत कार्यालय चाबहिल पुगिन्

माघ २१, २०७५

    काठमाडौं

    चाबहिलस्थित मालपोत कार्यालय। सोमबार बिहान १०ः३० बजे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालसहितको एक टोली कार्यालयमा प्रवेश गर्‍यो। मन्त्रीले प्रयोग गर्ने झन्डावाला गाडीभन्दा अर्को गाडीमा गएको मन्त्रीको टोली अनौपचारिक पोसाकमा कार्यालयमा पुग्यो। जति बेला कार्यालय सेवाग्राहीले खचाखच भरिएको थियो।

     

    सेवाग्राहीले भरिएको कार्यालयमा मन्त्री अर्याल मास्क लगाएर साधारण पोसाकमा उपस्थित भएर कार्यालयको कामकारबाही अनुगमन गर्दा धेरैले जानकारी समेत पाएनन्। मन्त्री अर्यालले सोमबार मालपोत कार्यालय चाबहिलको छड्के जाँच गर्दा धेरैबेरसम्म छड्के जाँच भएको जानकारी समेत पाएनन्। मालपोत कार्यालय पुगेको मन्त्री अर्यालसहितको टोलीले कार्यालयमा भइरहेका दैनिक गतिविधिहरूको अनुगमन गरेको थियो।

     

    सिभिल पोसाकमा गएको मन्त्रीको टोलीले कार्यालय प्रवेश गरेर सेवाग्राहीले सेवा लिने प्रत्येक कक्षमा सेवाग्राहीसँग बसेर त्यहाँको गतिविधिको अनुगमन गरेको थियो। सचिव गोपीनाथ मैनालीसहित अनुगमनमा गएकी मन्त्री अर्यालले सेवाग्राहीसँग सेवा प्रवाहका बारेमा जानकारी समेत लिएकी थिइन्। त्यसक्रममा कार्यालयमा मन्त्री अर्याल अनुगमनमा आएको खबर पाएपछि लेखापढी व्यवसायीहरूले कार्यालयमा व्यवसाय गर्न असहज भएको, व्यवस्थापन राम्रो नभएको, भवन सेवा मैत्री नभएको भन्दै अनेक गुनासा राखेका थिए।

    विशेषगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अर्यालले पछिल्लो समय प्रयोगमा ल्याएको सेवाग्राही आफैले भर्नसक्ने फारामका कारण आफ्नो व्यवसाय समस्यामा परेकोप्रति उनीहरूको गुनासो लक्षित थियो। 

    अनुगमनका क्रममा कर्मचारीले अनलाइन सिस्टमले काम गर्न सहज भए पनि बेलाबेला सर्भर डाउन हुँदा काम गर्न समस्या उत्पन्न भएको बताएका थिए। कर्मचारीहरूले विशेषतः अनलाइन सिस्टममा काम गर्नका निम्ति एकचोटी लिएको तालिम पर्याप्त नभएको र थप तालिमको आवश्यकता रहेको बताएका थिए।

    अनुगमन पश्चात् मन्त्री अर्यालले सेवाग्राहीलाई कसरी खुसी बनाउन सकिन्छ भन्ने मन्त्रालयको मूल लक्ष्य भएको भन्दै त्यसका निम्ति विभिन्न कार्यालयहरूको निरन्तर अनुगमन गर्ने क्रम थालिएको बताएकी थिइन्।

    व्यवहारमा देखिएका समस्याका कुरा स्कुलिङबाट सुधार गर्ने र सेवासँग जोडिएका संरचनागत कुरालाई संरचना सुधारका अभियान सञ्चालन गरिने मन्त्री अर्यालले बताइन्। अनुगमनको क्रममा कामको प्रकृतिअनुसार कार्यालय उपयुक्त नभएकाले कार्यालय अर्को ठाउँमा सार्ने विकल्प खोज्न मन्त्री अर्यालले कार्यालय प्रमुखलाई निर्देशन दिइन्। सेवाग्राहीलाई पनि सास्ती र कर्मचारीलाई पनि आफ्नो काम सम्पादन गर्न समस्या भएकोले भवन निर्माण सम्पन्न हुन ढिला हुने भए पनि अर्को भवनको विकल्प खोज्न मन्त्री अर्यालले निर्देशन दिइन्।

    सेवालाई प्रभावकारी बनाउने कार्यको थालनी मन्त्रालयले गरेको भन्दै मन्त्री अर्यालले कार्यालयलाई प्रविधिमा ढाल्ने कार्यको सुरुवात गरिएको उनको भनाइ थियो। ‘अनलाइन सुरु गरेपछि सर्भरका कारणले सेवामा समस्या आयो सेवा दिन सकिएन भन्ने कुरा आएको छ । थप तालिमको आवश्यकता रहेको देखियो’, मन्त्री अर्यालले भनिन्, ‘सर्भरसँग जोडिएर आउने समस्याको समाधानका निम्ति मन्त्रालयले थप तालिम दिने आवश्यकता देखियो।’

    सेवासँगै जोडिएर अहिले उठेको सुशासनमाथिको प्रश्नको कुरालाई निरूपण गर्न सेवामा प्रविधिको प्रयोग लगाउन खोजेका उनको भनाइ थियो। उनले भने, ‘कार्यालयमा देखिएका कमीकमजोरी के छन्, मन्त्रालयका तर्फबाट सुधार गर्नुपर्ने विषयहरू के छन् र कर्मचारी र सेवाग्राहीहरुबीचको सम्बन्ध कस्तो छ भनेर व्यवहारका विषयहरू समेत अध्ययन गर्ने कार्यको थालनी गरेका छौँ।’

    भविष्यमा मन्त्रालय अन्तर्गतका सम्पूर्ण सेवा पेपरलेश हुनुपर्छ भन्ने उद्देश्यका साथ मन्त्रालयले कार्य अगाडि बढाएको मन्त्री अर्यालले बताइन्।  ‘हाम्रा कार्यालयको सेवामा प्रविधिको प्रयोग गर्ने भनेर डिजिटल सिस्टम अगाडि बढाएका छौँ। अनलाइनका कामहरू अगाडि बढाएका छौँ। यसलाई बिस्तार गर्दै गएर यसको  गुणस्तरलाई वृद्धि गरेर हाम्रा सेवालाई आइटीमै लैजाने हो,’ उनले भने, ‘त्यसलाई परिपूर्ति गर्नका निम्ति हाम्रा सेवाग्राही के भन्नुहुन्छ। हाम्रा कर्मचारी के हुनुहुन्छ, हाम्रा संरचना कस्तो छ भनेर अध्ययन गरिरहेका छौँ। त्यही सिलसिलामा हामी अगाडि बढेका छौँ।’

    त्यस अवसरमा मालपोत कार्यालय चाबहिलका कार्यालय प्रमुख पदमप्रसाद अर्यालले अहिले भाडामा रहेको कार्यालयको संरचना सेवा मैत्री नहुँदा सेवाप्रवाहमा समस्या भएको बताए। उनले नयाँ बन्दै गरेको कार्यालयको भवन निर्माण सम्पन्न हुन नसकेको गुनासो गरे। ठेकेदारले समयमा भवन निर्माण सम्पन्न गर्न नसकेको कार्यालय प्रमुख अर्यालले बताएका थिए। मन्त्रालयका सचिव गोपीनाथ मैनालीले कार्यालय अनुगमनका क्रममा केही कर्मचारी अनुपस्थित देखिएको र केहीले हाजिर नगरेरै काम गरिरहेको पाइएको बताए। उनले समयमा कार्यालयमा उपस्थित नहुने कर्मचारीलाई कारबाही गरिने समेत बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]