राजनीति

कर्णालीमा ढिलो गरी बजेटमाथि छलफल सुरु

सरकारको कडा आलोचना

File Photo
असार ११, २०७६

    सुर्खेत : कर्णाली प्रदेशसभामा विनियोजन विधेयकमाथि छलफल बुधबारदेखि सुरु भएको छ। छलफलमा भाग लिँदै सांसदले बजेटको चर्को विरोध गरेका छन्। बजेट सन्तुलित नभएको र मुख्यमन्त्री, मन्त्री, प्रखुम प्रतिपक्षी दलका नेतालगायत शीर्ष नेतृत्व केन्द्रित भएको सांसदले आरोप लगाएका छन्।

    बजेटमाथिको छलफलमा भाग लिँदै प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। उनले विकास निर्माणका कार्यभन्दा पनि सरकार अनावश्यक कार्यमा भुलिरहेको भन्दै उनले आलोचना गरे। प्रदेशका मन्त्रीहरू हेलिकोप्टर लिएर अनावश्यक रूपमा घुमिरहेको शाहीको आरोप छ।

    सरकारको कार्यशैलीप्रति व्यग्य गर्दै शाहीले सरकारका प्रमुखले सार्वजनिक कार्यक्रममा ठूला पूर्वाधारका योजना हामीले बनाउदैनौँ संघले गर्छ भनेर पन्छिन खोजेको भन्दै कडा आलोचना गरे। ‘उसो भए सरकार भएको के अर्थ भयो र काम नगर्ने भए', उनले प्रश्न गरे 'सरकारको औचित्य के? हामी माननीयको औचित्य के?' सरकार बलियो भए मात्र प्रदेश बलियो हुने भन्दै शाहीले सफलताको विन्दुमा पुग्न सरकारले गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताए।

    भौतिक पूर्वाधार मन्त्रालयले काम गर्न नसकेर मुख्यमन्त्री कार्यलयमा जम्मै बजेट राखियो भनेर प्रदेश योजना आयोगका कुनै सदस्यले बोलेको भन्दै उनले प्रश्न गरे ‘सन्तुलित बजेट हुनुपर्छ सबैलाई सन्तुलित बजेट दिनुपर्दछ, नत्र किन यत्रो मन्त्रालय चाहियो ?, मुख्यमन्त्रीको कार्यालय र आर्थिक मन्त्रालयबाहेक अरू सबै मन्त्रालय हटाए हुँदैन?'

    डल्लो बजेट बनार राखेर विकास नहुने भन्दै सबै मन्त्रालयलाई समानुपातिक रूपमा बजेट विनियोजन गर्नुपर्ने उनको भनाई थियो। केही मन्त्रालयले चालु आवको बजेट ५० प्रतिशत रकमान्तर गरेको भन्दै उनले के कारण रकमान्तर गरियो भनेर प्रश्नसमेत गरे।

    अहिलेको बजेटमा पनि धेरै अव्यवाहारिक कुरा आएको उनको तर्क छ। बैंक खाता छोरीको सुरक्षा जीवन भरीको कार्यक्रमप्रति लक्षित गर्दै शाहीले कर्णालीमा प्रतिवर्ष लगभग २५ हजार छोरी जन्मन्छन् उनीहरूलाई बैंकमा कसरी जम्मा गर्ने स्रोत कसरी आउँछ? भनेर प्रश्न गरे।

    हाम्रो आन्तरिक स्रोत मात्रै २८ करोड देखिन्छ कसरी यसलाई पूरा गर्न सकिन्छ? प्रश्न गर्दै उनले भावना बहकिएर मात्र नहुने भन्दै निश्चित र गर्न सक्ने योजना मात्रै सञ्चालन गर्न सुझाव दिए।

    सत्तापक्षकै सांसद ठम्मर बहादुर विष्टले सरकारको कडा आलोचनामा उत्रिएका छन्। मन्त्री र शक्तिमा भएकाको निर्वाचन क्षेत्रमा मात्रै बजेट कार्यक्रम पारिएको भन्दै आपत्ति जनाए। विष्टले बजेट शीर्षकमै असन्तुलित भएको बताए। योजना र बजेट मन्त्री र  शिर्ष नेतृत्वकर्ताको क्षेत्र र जिल्लामा केन्द्रित भएको भन्दै सांसद विष्टले पैसाभरी मुख्यमन्त्री र अर्थ मन्त्रीले आफूमातहत राखेर सबैथोक विकास कसरी हुन्छ भन्दै सरकारलाई प्रश्न समेत गरे। सांसद विष्टले प्रमुख प्रतिपक्षी दलका नेताले आफ्नो स्वार्थका लागि मात्र सम्झौता गरेको आरोप लगाए।

    मेरो निर्वाचन क्षेत्रमा २ स्थानीय तह छन खै योजना? सबैभन्दा ठूलो गुफा भएको र राजकाँडा दरबार भएको स्थानमा पर्यटन मन्त्रालयले कुनै पनि योजना नदिएको भन्दै उनले आक्रोस पोखे।

    'मन्त्री ज्युहरूका ठाउँमा ढुंगो माटो पनि पर्यटकीय स्रोत्र हुने, हाम्रो किन नहुने, बजेट र नीति कार्यक्रम रामायण र बाइबल जस्तै बनाउन खाजेको हो' उनले भने।

    सबै बजेट डल्लो बनाएर राख्ने पुँजीगत बजेटलाई घटाएर कसरी विकास हुन्छ भन्दै सांसद विष्टले कर्मचारी र संरचना अभावले काम गर्न सकिएन भनेर जनतालाई झुटो कहिलेसम्म बोल्ने अब हामी अक्षम र अयोग्य मन्त्री भयौँ भनेर स्पष्ट भन्नुपर्ने बताए।

    बजेटमाथि आफ्नो धारणा राख्दै सांसद गोपाल शर्माले अघिल्लो आवको भन्दा झण्डै १७ दशमलब ६७ प्रतिशतले बजेट वृद्धि भएर आएकाले सरकारलाई धन्यवाद दिए। छोरी जन्मिए बैंक खातामा पैसा जम्मा गर्ने कार्यक्रम प्रति उनले पनि असन्तुष्टि जनाए। वर्षमा कर्णाली प्रदेशमा कति छोरीको जन्म हुन्छ त्यो सबै पैसा बैंकलाई राख्न दिएर कस्तो खालको समृद्धि ल्याउन खोजेको हो भन्दै उनले सरकारलाई प्रश्न गरे? 

    'छोरीको नाममा करोडौँ रुपैयाँ बैंक खातामा राख्दा सरकारलाई फाइदा हुन्छ की बैंकलाई', उनले भने 'यसरी अनुत्पादक क्षेत्रमा बजेटर राखेर प्रदेशको ढुकुटी सकिन्छ, बरू छोरीलाई आत्मनिर्भर हुने खालको कार्यक्रम बनाऊँ, राम्रो शिक्षा दिऊँ, यो वर्ग विभेद भयो।'

    राप्रपाबाट निर्वाचित सांसद सोशीला शाहीले बजेट सम्रगमा राम्रो आएको भन्दै सरकारलाई धन्यवाद दिइन्। शाहीले नीति तथा कार्यक्रम र बजेट ल्याउनु पूर्व आफूहरूले दिएको सल्लाह सुझावको अवमूल्यन गरिएको बताइन्। सांसद शाहीले सडक पुगेको प्रत्येक स्थानीय तहमा एम्बुलेन्स सञ्चालन गर्नुपर्ने बताइन्। सरकार जनताको चाहना र भावनाअनुसार अगाडि नबढी आफैँ सुख्ख सयलमा रुमलिएको सांसद शाहीको ठहर थियो।

    सत्तापक्षकै सांसद बिन्दमान विष्टले प्रदेशका २४ निर्वाचन क्षेत्रमा समन्वयीक ठंगबाट बजेट र योजना वितरण हुनुपर्ने बताए। सम्रगमा बजेटले पूर्वाधार, रोजगारी सिर्जना, शिक्षा स्वास्थ क्षेत्रलाई समेटेको प्रतिक्रिया दिए। सांसद विष्टले छोरी जन्मे खातामा पैसा राख्ने योजनालाई व्यग्य गर्दै यो दाइजो दिएजस्तै भएको बताए। 'यदि छोरीलार्य पैसा दिनेभन्दा पनि आफ्नै खुट्टामा उभिने र शसक्त हुने खालका योजना नीति बनाउनुपर्छ। यो २० वर्षसम्म दाइजो दिएर के हुन्छ?' उनले भने ।

    सांसद विष्टले आन्तरिक राजस्वलाई बढवा दिने कुरामा सरकारले सोच्नुपर्ने बताए। उनले चालु खर्चलाई कटौती गरेर पूँजीगततर्फको पूर्वाधारलाई प्रथामिकता दिनुपर्ने बताए। ‘जनता सडकलाई पहिलो वर्ष ५ करोड थियो। अहिले दोब्बर बढाउनु पर्थ्यो। झन झारेर २ करोड बनाइयो यो हुन सक्दैन यसमा पुनः विचार गर्नुपर्छ’ विष्टले भने। 

    यस्तै, सांसद अमर थापाले जनता र सडकलाई प्रथामिकतामा राख्न सुझाव दिए। प्रदेश सरकारले बजेट भाषणमा ल्याएको १ भोट १ बोट नारालाई हास्यास्पद भएको भन्दै उनले भने ‘हामीले पाएको भोटका बोट होइन हाम्रो प्रतिद्वन्द्वीलाई हालेका भोट पनि अहिले हामी सांसद भए हाम्रै भएका हुन् यसलाई सच्याउन अनुरोध गर्दछु।'

    त्यस्तै, सांसद गणेशप्रसाद सिंहले प्रशासनीक खर्चबाहेक अरू सबै रकम पुँजीगतमा हाल्नुपर्ने सुझाव दिए। एक भोट एक बोट नारालाई  सच्याएर निर्वाचन क्षेत्र वृक्षारोपन कार्यक्रम नाम राख्न उनले सुझाव दिए।

    सांसद कृष्णा शाहाले ‘बैंक खाता छोरीको सुरक्षा जीवन भरीको’ कार्यक्रमको विषयमा सांसदले दिएको अभिव्यक्ति प्रति आपत्ति जनाइन्। अझै पनि गर्भमा छोरी भए भ्रुण हत्या गर्ने कारणले छोरी मरिरहेको भन्दै यो कार्यक्रमले छोरी जन्माउनेलाई प्रोत्साहन गरेको बताइन्। ‘कर्णालीमा अझै पनि गर्भमै छोरीलाई हत्या गर्ने चलन छ, यो कार्यक्रम छोरीका लागि हो। यसमा कुनै विरोध गर्ने कारण छैन', उनले भनिन्  'यो कार्यक्रम कुनै पनि हालतमा बन्द हुनुहुँदैन।’ 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]