समाज

संकटमा सन्थाल संस्कृति, हराए मेलाका 'सान'

असोज २३, २०७६

    दमक : झापा कमल–३ का सरकार सोरेन स्थानीय सन्थाल वस्तीका अगुवा। उनको नाम मात्र सरकार होइन, जोगीचौन गाउँको एउटा सन्थाल वस्तीमा उनकै नेतृत्वको सरकार चल्छ। उनी टोलका प्रमुख हुन्।

    सन्थाल वस्तीमा माझीहडाम अर्थात् टोल प्रमुखकै नेतृत्वमा स्थानीय निर्णयहरू हुन्छन्। अघिल्ला वर्षहरूको घटस्थापनाकै बेलादेखि हुन्थ्यो दशैं मेलाको तयारीबारे निर्णय। तर यस वर्ष उनले दशैं मेला तथा नाच बारे कुनै निर्णय गर्न सकेनन्। गरुन् पनि कसरी, भएका ढोल, मादल लगायतका अन्य सवै बाजा फुटि सकेका थिए।

    ‘यस वर्षको दशैंमा हाम्रो टोलबाट नाच निस्किएन’ कमल–७ गेउरीयामा लागेको नवमी मेलामा भेटिएका उनले भने–‘अर्को टोलबाट आएको टोलीमा मिसिएर नाच देखायौं।’

    सोही वस्तीका सुनिल सोरेन नाचटोलीका सदस्य मध्ये निक्कै रुची राख्ने मध्येमा हुन्। दशैंको भाका पनि उनलाई अलि अलि आउँछ। माझीहडामसँगै उनले पनि नाच्ने टोलीलाई सिकाउने गर्थे।

    तर यस वर्ष न नाचको तयारी, न वस्तीमा कुनै रमाइलो। दशैंको सप्तमीका दिन राती वस्तीमा पुग्दा उनी आफ्ना पुराना बाजा सुम्सुम्यउँदै दशैंको न्याश्रो मेटिरहेका थिए।

    न बजाउने छन्, न बनाउने

    दशैंमा दुर्गा पूजा गरेपछि पुरुषहरू गीत गाउँदै समूहमा नाच्ने गर्दछन्। दूर्गाकै आरधना गर्दै नाच्दा तुम्दा नामको बाजा बजाउँछन्। हेर्दा ढोलक जस्तै देखिने सो बाजा माटोबाट बनेको हुन्छ। तर यी बाजा बनाउने मान्छे पनि अहिले पाइँदैन।

    सुनिलले भने–‘यस्ता बाजा अब कसले बनाइदेलार बजाउँनु, गाउँमा बाजा बजाउन  र बनाउन जान्ने मान्छेनै छैनन्।’

    नयाँ युवा विभिन्न कामका लागि गाउँ बाहिर हुने र गाउँ आएका बेला पनि आफ्नो नाचगान प्रति रुची नदेखाउने हुँदा बजाउने र बनाउने मान्छे पाइन छोडेको माझीहडाम् सरकारले बताए।

    अधिकांश सन्थालहरू बिपन्न र मजदुरी गरेर जिविका चलाउने गर्छन्। त्यसैले नयाँ बाजा गाजा किन्ने पैसाको पनि अभाव भएको उनले बताए। सरकारले नयाँ बाजा र पोशाक किन्न सहयोग गरे आउँदो वर्ष देखि आफ्नै टोलबाट नाचको तयारी गरि देखाउन सकिने उनी बताउँछन्।

    ‘हामीले कमाएकोले खान लाउनै धौ धौं’ सरकारले चिन्ता व्यक्त गरे–‘अब सरकारले किनिदिए र आउने दशैंमा यहि टोलबाट नाच देखाउँथ्यौं न नत्र त खोइ के गर्नु र ?’

    दशैं मेलाका सान

    झापा र मोरङ्का आदिबासी सन्थाल समुदायको नृत्य दशैंका बेला यहाँ लाग्ने मेलाहरूका मुख्य आकर्षण र शान हुन्। यहि नृत्य हेर्नकै लागि पनि टाढा पुगेकाहरू मेला बजार पुग्ने गरेका छन्। केहि वर्ष बिदेश बसेर आएका कमल–६ का मदन आचार्यले भने–‘दशैंको मेला जाने भनेकै सन्थाल नाच हेर्न त हो, अरु त के रमाईलो हुन्छ र।’

    केही वर्षअघिका दशैं मेलामा एक दर्जनभन्दा बढी नृत्य टोलीको सहभागीता हुन्थ्यो। तर अचेल फाट्फुट्ट मात्र सन्थाल नाच टोली आउने गरेका छन्। स्थानीय विशाल निरौलाले भने–‘बाटा भरि सन्थाल टोली नाचगान गर्दै हिँड्न थाले पछि मात्र बेला बजार पुगिन्थ्यो। तर अचेल त यस्ता टोली देखिनै छोड्यो।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]