राजनीति

तीन विपक्षीको एकै स्वर : सरकार सर्वसत्तावादतर्फ उन्मुख भयो

कोरोना परीक्षण अत्यन्तै ढिला भएको जिकिर

बैशाख १५, २०७७

    काठमाडौं : संसदमा प्रतिनिधित्यव गर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका तीन दलले लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई कुल्चिँदै सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको ठहर गरेको छ। 

    नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुको बैठकले यस्तो निचोड निकालेको हो।

    सरकारको सर्वसत्तावादी प्रवृत्तिको भत्सर्ना गर्दै यस्तो स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध सबै लोकतन्त्रवादी शक्ति एकजुट भई संघर्षमा उत्रिने प्रतिवद्धता जनाएका छन्।   

    सरकारले लोकतान्त्रिक मूल्य-मान्यतालाई कुल्चिएर अधिनायकवादी यात्रामा लागेर सांसद डा. सुरेन्द्र यादव अपहरण जस्तो आपराधिक कार्यमा संलग्‍न भएको जिकिर गरिएको छ। यस काण्डमा संलग्नहरुलाई तत्काल कानुनी कारवाही गर्न बैठकले माग गरेको संयुक्त विज्ञप्तीमा उल्लेख छ। 

    विज्ञप्तीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादव र शरतसिंह भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका गरेका छन्। 

    कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनमा जनताका न्यूनतम आवश्यकता पूरा गर्दै नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव न्यून गर्न आवश्यक राहतसहित ठोस कार्ययोजना सरकारले ल्याउन नसकेकोमा तीन विपक्षीले चिन्ता जनाएका छन्। उनीहरुले राहत र आर्थिक योजनाको प्याकेज ल्याउन पनि भनेका छन्। 

    कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन र परीक्षणमा भएको ढिलासुस्ती अन्त्य गरी पीसीआर परीक्षणलाई तीव्र पार्न पनि बैठकले सरकारसँग माग गरेको छ। 

    बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का,  सहमहामन्त्री डा. प्रकाशशरण महत, नेताहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, प्रवक्ता विश्वप्रकाश शर्मा र राष्ट्रिय सभामा कांग्रेस नेता राधेश्याम अधिकारी सहभागी थिए। 

    उता जनता समाजवादी पार्टीबाट महन्थ ठाकुर, डा. वावुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, शरदसिंह भण्डारी, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए। अर्को विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी सहभागी थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]