फिचर

जसले मान्छेको दुरुस्तै स्केच बनाउँछन्

बैशाख २०, २०७७

    काठमाडौं :  विक्रम सुवेदी मात्र १९ वर्षका भए। पृथ्वी नारायण क्याम्पस पोखरामा स्नातक चौथो वर्ष अध्ययनरत सुवेदीको परिचय विद्यार्थीमा मात्र सीमित छैन।आफूलाई राम्रो कलाकारका हैसियतमा स्थापित गर्न खोजिरहेका उनी पढाईलाई जीवनको एक हिस्सा ठान्छन्‌। भन्छन्‌, 'औपचारिक अध्ययन मात्रै सबथोक होइन, राम्रा स्केच बनाउनु मेरो रहर र लक्ष्य दुवै हो।'

    लकडाउन हुनुभन्दा केही दिनअघि पोखरास्थित उनको घर चापाकोट पुग्दा सुवेदी नायिका केकी अधिकारीको स्केच आर्ट गर्न व्यस्त थिए। यसअघि नै उनले स्थानीयहरूको स्केच बनाएर बिक्री गर्दै आइरहेको बताए।

    उनले हालसम्म २०० भन्दा बढी स्केच बनाइसके। देश तथा विदेशी चर्चित व्यक्ति र व्यक्तित्वलाई उनले कागजमा उतारिरहेका हुन्छन्‌। ५० भन्दा बढी  सेलिब्रेटीहरूको स्केच बनाइसकेका छन्‌ उनले। अधिकांश सेलिब्रेटीले उनको कलाको मुक्त कण्ठले प्रशंसा गर्ने गरेको सामाजिक संजालमा देख्न सकिन्छ।


    कलाकार जोडी धुर्मुस/सुन्तलीको स्केच ।

    भर्खरै किशोरावस्थाको चरण पार गर्दै गरेका सुवेदीले आफ्नो सपनालाई मुर्त रूप दिन सक्दो मेहनेत गरिरहेका छन्। स्थानीयस्तरमा उनको क्षमताको खुलेर प्रशंसा हुने गरेको छ।

    'पहिले पहिले गाउँ र पोखरा तिरका मान्छेहरुले स्केचको अर्डर दिनुहुन्थ्यो,' उनी भन्छन्‌, 'अहिले देशका विभिन्न जिल्लामा बस्ने व्यक्तिले आफ्नो स्केचको अर्डर दिनुहुन्छ, म अर्डर अनुसार स्केच बनाउँछु।'

    तस्बिर हेरेर त्यसलाई दुरुस्त चित्रमा उतारिदिने कला सुवेदीसँग छ। उनी स्केच आर्टलाई व्यावसायिक रुपमा अगाडी लैजान चाहन्छन्। भन्छन्, 'मैले आजसम्म स्केच आर्टका लागि तालिम लिएको छैन, अब पहिले पढाइ सकौं, अनि यसबारे थप अध्ययन गर्नेछु।'

    उनले स्केच आर्ट गर्न थालेको तीन वर्ष भइसकेको छ। सुरूवाती चरणमा सुवेदीले हिमाल, पहाड, भगवानहरुको तस्बिर बनाए। तर, यसले मात्र उनको मन भरिएन। विस्तारै सेलिब्रेटीहरुकव स्केच बनाउन थाले। उनले बनाएका स्केचहरू नजिकका साथीहरुले मन पराउन थाले।


    कलाकार जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्काको स्केच ।

    सेलिब्रेटीहरूले पनि उनको कलालाई मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन्। उनी भन्छन्, 'अग्रजहरूले दिने रेसपोन्सले झन उर्जा आउने रहेछ, अब स्केच आर्टमार्फत नै अघि बन्ने सोच बनाएको छु।'

    घरका कान्छा छोरा उनी कुनै बेला लामो समय बिरामी भए। 'लामो समय बिरामी भएपछि आफैँ पनि डिप्रेशनको शिकार भएँ, म हरेक काममा आतिन्थेँ, आफूलाई कमजोर महसुस गर्थेँ, त्यसबेला घरबाट बाहिर पनि निस्किन दिक्क लाग्थ्यो, कोठामा बसिरहदाँ के गर्ने गर्ने सोच आइरहँदा स्केच आर्ट गर्न थालेँ, यो नै मेरा लागि थेरापि बनिदियो,' उनी भन्छन्, 'अहिले पूर्णरुपमा निको भइसकेँ, मलाई स्केचले जीवन दियो। म पनि स्केचलाई जीवन दिन्छु भनेर लागिरहेको छु।' सामान्यतया: उनले एउटा कलर आर्ट गर्न तीन दिन लगाउँछन् भने ग्राफिनाइटलाई १ दिनमा तयार पार्छन्।


    नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्काको स्केच ।

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]