राजनीति

आर्थिक विकासको एजेन्डासहित नयाँ शक्ति नेपाल घोषणा, संयोजक भट्टराई भन्छन्- 'यो कसैविरुद्ध होइन'

द्वन्द्वकालीन मुद्दा आयोगबाट टुंग्याउँ

कार्यक्रमको मञ्च। फोटोः दीपक केसी/थाहाखबर
जेठ ३१, २०७३

    काठमाडौं : ‘अबको निकासः आर्थिक विकास’ नारा सहित डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति नेपालको घोषणा गरिएको छ। राजधानी काठमाडौंमा शक्ति प्रदर्शनपछि दशरथ रंगशालामा औपचारिक कार्यक्रम गरेर नयाँ शक्ति नेपाल नामक पार्टीको घोषणा गरिएको हो। संयोजक भट्टराईले रंगशालामा हजारौं पार्टी सदस्यलाई सामूहिक शपथ गराए। 

    पार्टी घोषणा कार्यक्रममा संयोजक भट्टराईले आफ्नो बाँकी जीवन जनताका लागि समर्पित गर्ने बताए। भट्टराईले आफू एकपटक मुलुकको कार्यकारी प्रमुख भैसकेकोले अब कुनै पदको लोभ नरहेको दाबी गरे। ‘तपाईँहरुको सद्भावले म देशको प्रधानमन्त्री पदमा पुगिसकेँ। त्यो भन्दा ठूलो कार्यकारी पद यो देशमा छैन’, कार्यक्रममा उपस्थितलाई सम्बोधन गर्दै भट्टराईले भने, ‘अब मलाई केही लिनु छैन। म बाँकी जीवन आफ्नो निम्ति होइन, तपाईँहरुको निम्ति समर्पण गर्न चाहन्छु।‘  

    भट्टराईले मुलुकका सबै नागरिकको घर नबनेसम्म निजी सम्पत्ति नजोड्ने प्रतिज्ञा गरे। 'म आर्किटकेचर इन्जिनियर पनि हुँ, म घरका नक्सा बनाउँछु। तर म अब निजी सम्पत्ति जोड्ने छैन। सबै जनताको घर नबनाइ म आफ्नो घर पनि बनाउने छैन’, भट्टराईले भने, ‘यो मेरो भीष्म प्रतिज्ञा हो।‘  

    चुनावबाट पहिलो पार्टी बन्ने उद्‍घोष

    डा. भट्टराईले संविधानअनुसार हुने स्थानीय, प्रादेशिक र आम निर्वाचनमा नयाँ शक्ति नेपाल मुलुकको पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित हुने दाबी गरे। यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि अब माओवादी मुलुकको बसैभन्दा ठूलो राजनीतिक दल बन्ने बताउँदै आएका थिए। 

    भट्टराईले आफूहरु कसैका विरुद्ध नभएर समृद्ध नेपाल निर्माका लागि स्थापना भएको बताए। भट्टराईले ‘सात वर्षमा गरिबी र बेरोजगारीको अन्त्य, १५ वर्षमा मध्यमस्तरको विकास र २५ वर्षमा विश्वकै धनी देश बनाउने’ पुरानै घोषणा पार्टी घोषणा कार्यक्रममा पनि दोहोर्‍याए। 

    विश्वास जगाउने कोसिस

    आइतबार काठमाडौंको दशरथ रंगशालामा भएको नयाँ शक्ति नेपालको पार्टी स्थापना घोषणा सभालाई सम्बोधन गर्दै भट्टराईले विभिन्न पार्टीहरुबाट नयाँ शक्ति नेपालमा आएका नेता कार्यकर्तालाई आफूप्रति विश्वास जगाउने प्रयास गरे। 

    ‘विभिन्न पार्टीबाट आएका नेता साथीहरुलाई कटुता हुन सक्छ। बेलाबखतमा मैले चोट पुर्‍याएँ होला’, भट्टराईले भने, ‘हिजो हामी युद्धमा गयौँ। थुप्रै मानिसहरुको ज्यान गयो, कतिका आफन्तहरु गुमे। तपाईँहरुका मनमा ती घाउचोटहरु अहिले पनि होलान्। तर क्रान्तिको नियम अत्यन्त निर्मम हुँदो रहेछ।‘

    डा. भट्टराई
    २०११ सालमा गोरखाको खोप्लाङमा जन्मिएका भट्टराईले युद्धकालमा माओवादीको 'जनसत्ता' मानिने क्रान्तिकारी जनपरिषद् नेपालको नेतृत्व गरेका थिए। दोस्रो संविधान सभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति रहेर संविधान निर्माणमा भूमिका खेलेका थिए। भट्टराई २०७२ असोजमा एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माण अभियानमा लागेका थिए। उनी पूर्व प्रधानमन्त्री एवं पूर्व अर्थमन्त्री हुन्।

    १० वर्षे जनयुद्ध सञ्चालन गर्ने ‘कोर टिम’ मा रहेका भट्टराई पार्टीलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि संविधानसभाबाट संविधान घोषणासम्म तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै थिए। तर संविधान घोषणा भएको एक साता नबित्दै असोज ९ गते उनले प्रचण्ड अध्यक्ष रहेको एमाओवादी परित्याग गरेर नयाँ पार्टी गठनको तयारीमा लागेका थिए।

    पार्टी घोषणा कार्यक्रममा भट्टराईले ‘क्रान्तिको नियम अत्यन्त निर्मम हुने’ तर्क गर्दै २००७ सालमा नेपाली कांग्रेसले र पछि तत्कालीन माले (अहिलेको एमाले) ले हतियार उठाएको प्रसंग निकाले। ‘सात सालमा वीपी कोइरालाहरुले पनि हतियार उठाउनु भएकै हो। त्यतिबेला पनि त मान्छे मरेकै हुन्। २८/३० सालमा झापा आन्दोलन भएकै हो। नेपाली कांग्रेसले विमान अपहरण गरेकै हो। उहाँहरुले पनि आफूलाई रुपान्तरण गरेरै जानुभयो’, भट्टराईले भने, ‘हामी माओवादीहरुले पनि निरंकुश राजतन्त्र र एकात्मक राज्यलाई अन्त्य गर्न विद्रोह गर्‍यौँ। विद्रोहका क्रममा थुप्रैको ज्यान गयो, जुन अत्यन्त अप्रिय थियो, अब त्यो इतिहास भैसक्यो।‘  

    द्वन्द्वकालीन मुद्दा

    भट्टराईले द्वन्द्वकालीन घटनामा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट हुने निर्णय सबैले मान्नुपर्ने बताए। ‘क्रान्तिको नियम निर्मम हुने’ र ‘जनयुद्ध इतिहास भैसकेको’ तर्क गर्दै भट्टराईले द्वन्द्वकालीन घटनालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत टुंग्याउनुपर्ने बताएका हुन्।

    ‘ती घटना सत्य निरुपण तथा मेलमिलाप आयोगमा हामीले छोडिदिएका छौँ। तपाईँ हामी सबैले बचनबद्धता गरौँ, सत्य निरुपण तथा मेलमिलाप आयोगले निष्पक्ष ढंगले छानबिन गरोस्, त्यसले गर्ने निर्णय मान्न हामी प्रतिबद्ध छौँ’, भट्टराईले भने।

    एजेन्डा- आर्थिक विकास

    नयाँ शक्ति नेपालले आफ्नो प्रमुख एजेन्डा ‘आर्थिक विकास र समृद्धि’ भएको उल्लेख गरेको छ। पत्रपत्रिका, टेलिभिजन, रेडियो र समाचार पोर्टलहरुमा विज्ञापनकै शैलीमा गरिएका प्रचारमा ‘अबको निकासः आर्थिक विकास’ नारा राखिएको छ।

    दशरथ रङ्गशालामा भएको पार्टी स्थापना घोषणा सभाको मञ्चको पृष्ठभूमिमा राखिएको डिजिटल सक्रिन र रंगशालामा टाँसिएका ब्यानरमा पनि यो नारालाई खुबै हाइलाइट गरेको देखिन्थ्यो।  

    ककसले बोले कार्यक्रममा?

    पार्टी घोषणासभामा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, कांग्रेस नेता प्रदीप गिरी, डा. सुरेन्द्रप्रसाद चौधरी, राप्रपा नेपालका नेता सुशीलकुमार श्रेष्ठ, राप्रपाका सुनीलबहादुर थापा, नागरिक अगुवा डा. सुन्दरमणि दीक्षित, भारतीय जनता दल युनाइटेडका महासचिव केसी त्यागी, भारतीय राष्ट्रिय कांग्रेसका महासचिव डिपी त्रिपाठी, भारतीय बहुजन पार्टीका प्रवक्ता सुधीन्द्र भादोरिया, समकालीन तिसरी दुनियाका सम्पादक आनन्दस्वरुप बर्माले शुभकामना दिएका थिए। कार्यक्रम उद्घोषण नायिका समेत रहेकी नयाँ शक्ति नेपालकी नेतृ करिश्मा मानन्धर र नेता पासाङ शेर्पाले गरेका थिए।

    कसले के भने?

    प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आर्थिक समृद्धिको नाराको प्रसंसा गर्दै राष्ट्रिय हितका पक्षमा काम गर्न नयाँ शक्तिलाई सुझाव दिए। उनले नयाँ शक्तिले अरु दललाई चुनौती दिन सक्ने भएपनि आफ्नो पार्टीलाई चुनौती दिन नसक्ने दाबी गरे। 

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हजारौंको उपस्थितिले नयाँ शक्तिको भविष्य राम्रो रहेको टिप्पणी गरे। उनले देशमा स्वदेशी र विदेशी लगानीको वातावरण तथा सुरक्षा दिन सकेमा लगानी बढेर देश समृद्ध हुने भएकोले त्यसका लागि काम गर्न सुझाव दिए। 

    नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले मुलुकले राजनीतिक विकल्प खोजिरहेको बेला नयाँ शक्ति आएको बताए। तर विगतमा जस्तै सही सावित हुने चुनौती नयाँ शक्तिलाई रहेको उनले बताए। नेपाली जनताले पटक पटक विकल्प खोजेर राजनीतिक शक्तिलाई साथ दिने गरेपनि ती विकल्प अहिलेसम्म सत्य सावित हुन नसकेको महराले बताए। 

    सोमबार बिहानदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने छलफल सत्रमा राजनीतिक, संगठनात्मक तथा आर्थिक प्रतिवेदनमा छलफल गर्ने र ९९ सदस्यीय अन्तरिम कार्यसमिति चयन गर्ने नयाँ शक्तिको तयारी छ।

रविराज बराल

बराल २०७३ जेठदेखि २०७४ साउनसम्म थाहा खबरमा कार्यरत थिए।

इमेलः [email protected]

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]