समाज

के गर्दैछन् नेपालका 'नेल्सन मण्डेला?'

जो केपी ओलीसँगै साढे २ वर्ष गोलघरमा बसे

फोटोहरु : दीपक केसी
असार ७, २०७३

    काठमाडौं : मोहनचन्द्र अधिकारी, ७८ झापा आन्दोलनका योद्धामध्ये एक हुन्। 'सामन्त सफाया' गर्न भन्दै २०२८ सालमा झापाका कम्युनिस्ट युवाले गरेको विद्रोहका अगुवा मोहनचन्द्र  २०३० सालमा पक्राउ परेर २०४६ सालमा पुसमा रिहा भए।

    राजनीतिक मुद्दामा १६ वर्ष ९ महिना जेल बसेका उनलाई नेपालका नेल्सन मण्डेला समेत भनिन्छ। कम्युनिस्ट पार्टीको मेची अञ्चल इञ्चार्ज भएर झापा गएका मोहनचन्द्रले त्यहाँका कम्युनिस्ट युवासँग मिलेर २०२८ सालमा झापामा सामन्त सफाया, वर्ग शत्रु सफाया अभियान सञ्चालन गरे। त्यतिबेला मोहनचन्द्रलाई साथ दिने युवामा अहिलेका प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री सिपी मैनाली पनि थिए।

    बिद्रोहकै क्रममा पक्राउ परेका रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुईंकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठलाई पञ्चायती सरकारले २०२९ साल फागुन २१ गते जेल सार्ने बहानामा सुखानी जगंलमा हत्या गरेको थियो।

    ‘जनताको सेवा गर्न कम्युनिष्ट पार्टीमा लागियो। ठीक ढंगले सेवा गरेँ कि गरिन जनतालाई थाहा होला' मोहनचन्द्रले झापा आन्दोलनलाई सम्झिए 'आरके मैनाली, रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन्द्र राजवंशी नेतृत्वपंक्तिका साथीहरु हुनुहुन्थ्यो। पछिबाट केपी ओली, सिपी मैनाली आउनुभयो।'

    केपी ओलीसँगै गिरफ्तारी

    विराटनगरको रानी हुँदै रौतहट जाने क्रममा मोहनचन्द्र र अहिलेका प्रधानमन्त्री केपी ओली सँगै पक्राउ परेका थिए। मोहनचन्द्रले ती दिन सम्झिँदै भने ‘इनदवाडीमा शिवमंगल तलवार भन्ने प्रधानपञ्च कहाँ ओलीजी बस्नुहुने रैछ त्यहाँ गएर हामीले भात खायौं। म एउटा भूमिहीन किसानकोमा बसेको थिएँ। म बसेको ठाउँमा ओलीजी आउनुभयो। अनि लौ सुर्ज्या कमरेडले बोलाएको छ भनेपछि हामी त्यहाँबाट हिँड्यौं, त्यहाँ सुर्ज्याको भतिजोले एउटा बोतल ल्याएको थियो त्यो मेरो झोलामा हालिदियो। चौरस्ता पुगेपछि उसले सिधै पुलिसकोमा सुम्पियो। त्यो बोतलमा रक्सीको बोतल रैछ। झोलामा भएका कागजपत्रसहित ओलीजी र मलाई पक्रियो। हामीसँग ‘तुलसीलालको कुल बाटो र पुष्पलालको मूलबाटो’  किताब पनि त्यतिबेला त्यो पुस्तक बन्देज थियो।’

    पक्राउ परेपछि ५७ दिन थुनामा बसेका मोहनचन्द्र र केपी ओलीलाई वीरजंग ल्याउने क्रममा तत्कालिन सिडिओ चन्द्रिकानन्द खरेलले गोली हान्न आदेश समेत दिएका थिए। मोहनचन्द्रका अनुसार त्यहाँका सव–इन्स्पेक्टर मोहनप्रसाद अधिकारीले १३ दिने दाजुभाइलाई म गोली ठोक्दिन भने।

    मोहनचन्द्र र केपी ओलीलाई विभिन्न जेल सरुवा गर्दै साढे २ वर्ष केन्द्रीय कारगारको गोलघरमा समेत राखे। राजनीतिक मुद्दामा जेल परेका मोहनचन्द्रलाई ज्यानमारा मुद्दामा २० वर्ष र केपी ओलीलाई ज्यानमारा उद्योगमा मुद्दा चगाएर १० वर्ष जेल चलान गरिएको थियो। मोहनचन्द्रले १६ वर्ष ९ महिना जेल बस्दा तराईका पाँच र पहाडका पाँच वटा जेलमा बसे।

    जेलबाट छुटेपछि ५२ वर्षमा विहे

    ३६ वर्षमा जेल परेका मोहनचन्द्र भद्रगोल जेलबाट निस्कदा ५२ वर्षका थिए। जेल पर्नुभन्दा अगाडि बिहेका बारेमा खासै नसोंचेका उनले जेलबाट छुटेपछि २०४७ माघ २५ गते पाल्पा मदनपोखराकी बालकुमारी खनालसँग बिहे गरे।

    शिक्षक आन्दोलनका क्रममा पक्राउ गरी भैरहवा जेल पुर्‍याइएकी बालकुमारीसँग मोहनचन्द्रको जेलमै  चिनजान भएको थियो। जेलबाट छुटेपछि उनले जीवराज आश्रित मार्फत बालकुमारीसमक्ष विहेको कुरा पुर्‍याएका थिए। ‘जेलमा चिनाजान मात्र भएको थियो। जेलबाट छुटेपछि बालकुमारीले बिहे गर्नुभएको छैन भन्ने थाहा पाएँ' मोहनचन्द्रले विवाहबारे भने 'यदि बिवाह गर्ने स्विकृती भएका म बालकुमारीजीसँग विबाह गर्छु भनेँ।'

    बालकुमारी त्यतिबेला मनमोहन अधिकारीको समूहमा काम गर्थिन्। गंगादेवी दशौंदी महिलाको जिल्ला अध्यक्ष र बालकुमारी सचिव थिइन्। 'बिहेको प्रसंग उठिसकेपछि गंगा दिदी मलाई इन्क्वाइरी गर्न आउनुभयो किन बिवाहको कुरा चलाउनुभयो भनेर। अनि मैले बिवाह गर्न मन छ भन्दा के भयो र?  म पनि बिवाह गरेको छैन, भर्खर जेलबाट छुटेको हुँ। तपाईंको साथी पनि पढेलेखेको हुनुहुँदो रैछ, बिवाह गर्नुभएको रहनेछ। उहाँले चाहनुभयो भने बिवाह हुन सक्छ भनेँ’ मोहनचन्द्रले भने। पछि जीवराज आश्रितमार्फत बालकुमारीका मामा सोमप्रसाद अर्याल र आफ्नो कान्छा बुवा भरतमोहन अधिकारीसँग कुरा गरेर बिहे गरेको उनले बताए।

    कान्छो छोरालाई पनि डाक्टर बनाउने चाहना

    मोहनचन्द्रका दुई छोरा छन्। जेठा एमबिबिएसको फाइनल परीक्षा दिएर बसेका छन्। कान्छाले ३ वर्ष पहिले १२ कक्षा पास गरे। कान्छा छोरालाई पनि डाक्टरी पढाउने मोहनचन्द्रको सोँच छ। तर आर्थिक अभावका कारण समस्या भएको छ। 'कान्छाले १२ पास गरेको ३ वर्ष भइसक्यो, त्यो छोरालाई पनि डाक्टरी पढाउने सोँच हो। त्यही छोरालाई पढाउन सकिरहेको छैन। त्यही कुराको पीर छ मलाई’ मोहनचन्द्रले भने। पत्नी बालकुमारी शिक्षण पेशाबाट रिटायर्ड भइसकेकी छन्।

    उमेर बढ्दै जाँदा शारीरिक रुपमा कमजोर भएपनि मोहनचन्द्र भन्छन् 'उत्साह भने अझै मरेको छैन।' अलिअलि मुटु दुख्ने र जेल बस्दा नै लागेको मधुमेहले कहिलेकाहीँ सताएपनि औषधी खाने गरेकाले ठूलो समस्या छैन।

    ‘मलाई मुटु दुख्ने समस्या छ। डाक्टरले चुरोट नखानुहोला भनेका छन्। डाइविटिज छ जेलमा हुँदा नै लागेको। त्यसैले रोटी खान्छु' उनले भने।

    पार्टी कार्यालय नगएको वर्षौं भयो

    नेकपा एमालेमा मोहनचन्द्र २० वर्षदेखि कुनै जिम्मेवारीमा छैनन्। ज्येष्ठ कम्युनिष्ट मञ्चमा रहेका उनी पार्टी कार्यालय नगएको पनि वर्षौं भयो। २०५० देखि २०५६ सालसम्म राष्ट्रिय सभाको सदस्य रहेका उनी एमाले स्थायी कमिटीबाट नौलो जनवादी क्रान्ति गर्न भन्दै राजिनामा दिएका थिए।

    ‘पार्टीले मदन भण्डारी कमरेडको जनताको बहुदलीय जनवाद पास गरेर बहुदलीय जनवाद लाइनका साथीहरुले जिम्मेवारी लिनुभएको छ। अहिले मलाई ज्येष्ठ कम्युनिष्ट मञ्चमा राखेका छन्। मञ्चको फेरि गठन हुँदैछ रे त्यसमा म पर्छु कि पर्दिनँ' पार्टीप्रति असन्तुष्टी राख्दै उनले भने 'मलाई २० वर्ष पार्टीले कुनै जिम्मेवारी दिएन। म ६० वर्षको हुँदा ६० वर्षको उमेर हदबन्दी राखियो। अहिले ७० वर्षको उमेर हदबन्दी राखेको छ।'

    क्रान्तिकारी योद्धा मोहनचन्द्र अध्यात्म र धर्मकर्ममा विश्वास गर्छन्। जेलमा हुँदादेखि नै धर्मप्रति आकर्षित मोहनचन्द्र भन्छन् '‘मैले आध्यात्मलाई खत्तम भनेर सोच्या छैन। पूर्वीय दर्शन जीवन दर्शन हो, त्यसबाट पनि धेरै कुराहरु हामीले लिन सक्छौं।'

    ओलीजीलाई अप्ठेरो छ

    हिजोआज उनी ‘नेपाल मुक्ति मोर्चा’ नामको अभियानमा छन्। जनताको सही ढंगले सेवा गर्न सबै राजनीतिक दलमा आवद्ध व्यक्तिहरुको संलग्नतामा द्वन्द्वात्मक भौतिकवाद र आध्यात्मवाद दुवैलाई सँगै लिएर अगाडि बढ्ने अभियान थालेको बताउँछन्।

    संविधान जारी भएपछि नेपालको आन्तरिक र विदेश मामिलामा कतिपय कमीकमजोरीका कारण बैमनश्यता बढेको मोहनचन्द्रको बुझाइ छ। उनी यसलाई नागरिक स्तरबाट कसरी समाधान गर्न सकिने बताउँछन्। यसै क्रममा उनले असार ८ गते ‘संविधान कार्यान्वयनका चुनौती र समाधानका उपाय’ विषयक सर्वपक्षीय सम्मेलन आयोजना गरेका छन्। यसमा वक्ताका रुपमा भारतीय जनता पार्टीका नेता भगत सिंह कोशियारी पनि आउँदैछन्।

    ‘बिभिन्न मित्रराष्ट्रका राजदूतहरुलाई समेत निमन्त्रणा गरिएको छ। हामीले नेपाल कसरी जोगाउन सकिन्छ? अहिले जुनखाले टुटफुट देखिएको छ यस्तो अवस्थाले मुलुक राम्रो बन्दैन। मुलुक जोगाउने जिम्मा हरेक नेपालीको हो। त्यसतर्फ लागौं भन्ने मान्यता हो’ मोहनचन्द्रले भने।  

    नेकपा एमालेको अध्यक्ष हुँदाताका ओलीको प्रचार गरेर भोट समेत मागेको बताउने मोहनचन्द्र आफुसँगै जेल परेका साथी भएकाले ओलीको सँधै भलो चाहने बताउँछन्। ओली प्रधानमन्त्री भएपछि पनि उनले  १/२ पटक भेट गरिसकेका छन्। ‘ओलीजी आजभोली अप्ठेरोमा पर्नुभएको छ। आन्तरिक रुपमा पनि अप्ठ्यारो छ। वैदेशिक मामिलामा पनि अप्ठ्यारो छ' उनले प्रधानमन्त्री ओलीको अवस्थाको मुल्याङ्कन गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]