|

बुटवल : प्रदेश ५ मा मंगलबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या १ हजार २ सय ३२ जना पुगेको छ।  देशभरका प्रदेशहरुमध्ये सबैभन्दा धेरै संक्रमित रहेको प्रदेश ५ नम्बर बनेको छ। 

मंगलबार सामाजिक विकास मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत् स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले यस्तो जानकारी दिएका हुन्।  उनका अनुसार संक्रमितमध्ये १ हजार १३ जना हाल उपचारको क्रममा रहेको र १ सय ८३ जना निको भएर घर फर्किसकेका छन्। 

संक्रमित देखिएका मध्ये लक्षण देखिएकालाई मात्रै अस्पताल भर्ना गर्ने नीति अनुरुप प्रदेशका विभिन्न ४ वठा कोरोना विषेश अस्पतालहरुमा एक सय ११ जनाको उपचार भइरहेको उनले जानकारी दिए। उनकाअनुसार उपचार गराइरहेका मध्ये ४ जनाको अवस्था निकै गम्भिर रहेको छ भने एस सय ७ जना सामान्य अवस्थामा डाक्टरहरुको निगरानीमा रहेका छन्। 

सरकारको तथ्याङ्कअनुसार लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित अस्थाई कोरोना विषेश अस्पताल बुटवलमा ४ जना, भिम अस्पताल भैरहवामा २७ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरामा ३० जना र दाङको बेलझुण्डी कोरोना अस्पतालमा ५१ जनाको उपचार भइरहेको छ। तीमध्ये ४ जनाको अवस्था गम्भिर रहेकाले भेन्टीलेटरमा राखेर उपचार गरिएको छ। डा. चौधरीका अनुसार प्रदेशबाट हालसम्म १ सय ८३ जना कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।   

साढे ३७ हजार क्वारेण्टाइनमा  

कोरोना संक्रमण उच्च देखिएको प्रदेश ५ का १२ वटा जिल्लाका विभिन्न क्वारेण्टाइनमा ३७ हजार ३ सय ८० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सामाजिक विकास मन्त्रालयको नियमित पत्रकारसम्मेलनमार्फत् मंगलबार प्रदेशका १२ वटै जिल्लामा कोरोना परिक्षण पर्खदैं उक्त संख्यामा व्यक्तिहरु क्वारेण्टाइनमा रहेका छन्। 

मन्त्रालयकाअनुसार बाँकेमा ३ हजार ९ सय ४४ जना, वर्दियामा ४ हजार ९ सय ५५ जना, कपिलवस्तुमा २ हजार ७४ जना, अर्घाखाँचीमा ४ हजार ३ सय ८ जना, रुपन्देहीमा २ हजार १ जना क्वारेण्टाइनमा रहेका छन्। 

त्यस्तै, पाल्पामा २ हजार १६ जना, गुल्मीमा ४ हजार २ सय २७ जना, नवलपरासीमा ९ सय २२, दाङमा ५ हजार ४ सय ४६ जना, रोल्पामा २ हजार १ सय ४४ जना, रुकुममा २ सय ५८ जना र प्यूठानमा ५ हजार ८५ जना रहेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.