|

बुटवल : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा ४२ वर्षीय पुरुषको मृत्यु भएको छ। गुल्मी धुर्कोटका ती पुरुषको उपचारको क्रममा आइतबार दिउँसो ४ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए। 

ती पुरुष आठ दिन अगाडि भारतबाट आई धुर्कोट गाउँपालिका वडा नं. ४ को क्वारेन्टाइनमा बसेका थिए। उनलाई तीन दिनदेखि ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि शनिबार बुटवल ल्याइएको थियो। डा. थापाका अनुसार उनलाई ज्वरोसँगै निमोनियासमेत देखिएको थियो। उनको आइसोलेसनमा राखेर उपचार भइरहँदा मृत्यु भएको डा. थापाले जानकारी दिए। 

अस्पताल आएकै दिन उनको स्वाब परीक्षणका लगि संकलन गरिए पनि रिपोर्ट आएको छैन। यद्यपि, डा. थापाले मृतकको आरडिटी परीक्षणमा ‘एन्टिबडी’ देखिएको बताए। पिसिआर रिपोर्टपछि मात्रै मृत्युको कारण कोरोना हो की अन्य हो पत्ता लाग्ने डा थापाले बताए। मृत्यु भएकोबारे आफन्तलाई जानकारी दिइसकिएको र उनीहरु आउने क्रममा रहेको अस्पतालले जनाएको छ। 

योसँगै अस्पतालमा हालसम्म दुई जनाको मृत्यु भइसकेको छ। यसअघि पाल्पा रिब्दीकोटका बाबुराम थापाको पनि सोही अस्पतालमा मृत्यु भएको थियो।  त्यस्तै शनिबार राति मात्रै धुर्कोट गाउँपालिका ४ जैसिथोकका ३६ वर्षीय पुरुषको निधन भएको थियो।

क्यान्सर तथा पायल्ससमेत समस्या रहेका उनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। यसअघि गुल्मीकै मदाने गाउँपालिकाका ४१ वर्षीय शिक्षकको पनि जेठ ८ गते बुटवलमा निधन भएको थियो। उनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.