|

सिन्धुपाल्चोक : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानीको माग गर्दै स्थानीय सप्लायर्स र पीडित मजदुरहरुले धर्ना सुरु गरेका छन्। मेलम्ची खानेपानी कार्यालय अगाडि आफ्नो मागसहित व्यवसायीहरु धर्नामा बसेका छन्।

लामो समयसम्म व्यवसायीले आफ्नो रकम नपाएकोले आन्दोलन गर्न बाध्य भएको बताएका छन्। आन्दोलनको क्रममा भौतिक दूरी कायम नगरेको भन्दै पाँच जनालाई निगन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आयोजनाबाट मजदुर तथा सप्लायर्सको समस्या समाधानका लागि गत असार २५ मा प्राविधिक कार्यदल गठन गरिएको थियो। कार्यदल गठनको एक वर्ष सम्म ठोस काम नभएको, पीडित मजदुर र सप्लायर्सले भुक्तानी नपाएको भन्दै मेलम्चीमा नारावाजी सुरु भएको छ।

गत वर्ष पीडित मजदुर तथा सप्लायर्सको समस्या समाधानको लागि  खानेपानी मन्त्री बिना मगर, सिन्धुपाल्चोकका दुई जना प्रतिनीधि सभाका सांसदहरु अग्निप्रसाद सापकोटा, शेरबहादुर तामाङ, मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रामप्रसाद अर्याल, सचिव दीपेन्द्रनाथ शर्मा सहितको उपस्थितिमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङको संयोजकत्वमा प्राविधिक कार्यदल गठन भएको थियो।

कार्यदलले तत्काल खानेपानी मन्त्रालयमा सुझाव पेश गरे ता पनि बाँकी काममा कुनै पक्षले अग्रसरता नदेखाएको तामाङले जानकारि दिए।  ‘झण्डै दुई वर्ष हुन लाग्यो, हामीले भूक्तानी नपाएको’, स्थानिय सप्लायर्स उत्तरकुमार श्रेष्ठले भने, ‘पटक पटक पहल गर्दा पनि भुक्तानी पाएनौँ।’ आन्दोलनको विकल्प नभएको उनी बताउँछन्।

स्थानीय मजदुर र सप्लायर्सले बाँकी रकम नपाउँदासम्म बाँकी काम गर्न नदिने भन्दै पीडितहरुले धर्ना दिएका हुन्।  आयोजनाको कामको ठेक्का पाएको इटलियन कम्पनी सिएमसीले स्थानीय सप्लायर्सको करिब १७ करोड,  कामदारको ज्याला ८ करोड भुक्तानी गर्न बाँकी छ।  जिल्ला समन्वय समितिका प्रमुख तामाङले  भने, ‘सिएमसीका इटालियन प्रतिनिधिहरूले  आयोजनास्थलका स्थानीय मजदुरहरूको  तलब र सञ्चय कोषसँगै स्थानिय सप्लायर्सको  भुक्तानी गर्न बाँकी रहेको छ।’

मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न हुने चरणमा छ। विभिन्न बहाना बनाउँदै मेलम्ची आयोजनाको निर्माण कम्पनी सीएमसीले काम अवरोध गरि वाहिरिएको थियो। सीएमसीले वााकी राखेको काम चिनियाँ कम्पनी सिनोले सम्पन्न गर्ने गरी गत साल सम्झौता भएको हो। 

पटक पटक मेलम्ची खानेपानीको काममा अवरोध हुँदै चल्दै गरेको छ। लकडाउनको कारणसमेत काममा सुस्तता आएको आयोजनाले जनाएको छ। स्थानीय आन्दोलित भएसँगै मेलम्ची भित्रको विवाद लम्बिने सम्भावना झनै बढ्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.