|

कालिकोट : जिल्लाको लालु गाविसको खुलालुमा रहेको तुहिन बिस्थापित गर्दै झोलुङ्गे पुल बनेको छ। लामो समयदेखि तुहिन रहेको कर्णाली नदीमा जिल्ला विकास समिति कालिकोटले झोलुङ्गे पुल बनाएको हो।

झोलुङ्गे पुल बनेपछि जिल्लाका लालु, माल्कोट, रुप्सा, कोटबाडा र कुमालगाउँ गाबिसका स्थानीयलाई कर्णाली नदी तर्न सहज हुने भएको छ। विगत लामो समयदेखि तुहिनको यात्रा गर्दै आएका स्थानीयलाई पुल बनेपछि सहज भएको शिक्षक नवराज शाहीले बताए ।

‘तुहिनको जोखिम पूर्ण यात्रा गर्नु पर्ने बाध्यता थियो,’ उनले भने,‘अब भने झोलुङ्गे पुल बनेपछि यात्रा सहज हुने भएको छ।’ झोलुङ्गे पुल निर्माण गर्न जिल्ला विकास समिति कालिकोटले ३८ लाख ३५ हजार ७ सय ५५ रुपैयाँ, भर्ता र कोटबाडा गाविसले ३८\३८ हजार रुपैयाँ र ७६ हजार ७ सय ९ रुपैयाँ श्रमदान लगानी गरेको जिल्ला विकास समिति झोलुङ्गे शाखाका प्राविधिक कुलप्रसाद न्यौपाने बताए।

‘पुल बनाउन सबैले सहयोग गरेका छन्,’ उनले भने,‘गत वर्ष सम्झौता भएको पुल यो वर्ष सम्पन्‍न भएको हो।’ झोलुङ्गे पुल बनेपछि जिल्लाका ५ गाविसका ४० हजार स्थानीयलाई आउँजाउँ गर्न सजिलो भएको कोटबाडाका स्थानीय कटकबहादुर बिष्टले बताए। ‘झोलुङ्गे पुल बनेपछि ५ गाबिसका मानिसलाई सहज भएको छ,’ उनले भने,‘तुहिनबाट ब्यापारिक लगाएतका अन्य साधन ल्याउन पनि समस्या हुने गरेको थियो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.