विचार

तन्त्र योगका भ्रम, जानकारी र तथ्य

असार १५, २०७७

    जीवन, प्रेम, परमात्मा, स्वर्ग, नर्क, मोक्ष र बुद्धत्व आदिबारे मानिसले मनमा प्रश्न र जिज्ञासा राखिरहेको हुन्छ। तर तन्त्र के हो खुलेर बोल्न सकेको हुँदैन, न त जिज्ञासा नै राख्न सकेको हुन्छ। आ-आफ्नो परिभाषा र संस्कारबाट यसलाई व्याख्या गर्ने प्रयास गरिन्छ।

    तन्त्रले तन (शरीर) र इन्द्रीयसँग सम्बन्ध राख्दछ। जसको शाब्दिक अर्थ प्रविधि अर्थात् टेक्नोलोजी (शिल्प विज्ञान) हुन्छ। आफ्ना इन्द्रीयहरूको स्वभावलाई पहिचान गरी आफैंमा ऊर्जा शक्तिको विस्तार गर्नु तन्त्र योग अर्थात् साधना हो। विशेषगरी कामवासनासँग जोडेर तन्त्र योगलाई बुझ्ने गरिएको पाइन्छ। तन्त्रलाई केवल शारीरिक भोग र यौनसँग जोडेर व्याख्या र प्रयोग गर्ने कारणले यसको दुरुपयोग भएको छ।

    तन्त्र योगको सही प्रयोग हुन सक्यो भने अहंकार र द्वैतको भावना तिरोहित हुन्छ। व्यक्ति मनभन्दा पर विश्राम, शून्यता र आनन्दको स्थितिमा जागृत हुन सक्दछ।

    तन्त्र योग

    तन्त्र योगलाई बुझ्नु अगाडि योग बुझ्नु जरूरी छ। योग जोड हो। आफू आफैँसँग जोडिनु योग हो। हाम्रा हरेक कर्म र स्वभावसँग जोडिनु योग हो। संसारसँग अध्यात्मलाई जोड्नु,  आत्मालाई परमात्मासँग जोड्नु योग हो। सक्रिय जागरुकता योग हो। निराकारप्रति जाग्नु ध्यान हो भने निराकारप्रति तादात्म्य बनाइराख्नु योग हो।

    आत्मविकासको मार्ग, जीवनको विकास र परम जीवन तर्फको यात्रा अध्यात्म हो। योग अध्यात्मको बगैँचा हो। त्यो बगैँचा जसमा कर्म योग, तन्त्र योग, हठयोग, भक्ति योग, ध्यान योग, ज्ञान योग, सांख्य योग र सहज योग पर्दछन्। यी योगहरुमार्फत जागृत भएर जीवन विकासलाई अघि बढाउने मानिसहरू नै शान्ति र आनन्दको जीवन बाँच्न सफल हुन्छन्।

    मानिसका चेतनाका सात तल छन्। सात तलमार्फत सात चक्रहरू सक्रिय भएका हुन्छन् र प्रत्येक चेतना र चक्रका आफ्ना आफ्ना गुणवत्ता हुन्छन्। कर्म र कर्ताप्रति साक्षी हुनु कर्मयोग भए जस्तै भोग र भोक्ताप्रति साक्षी हुनु तन्त्र योग हो। तन्त्र योगले स्वाधिष्ठान चक्रसँग सम्बन्ध राख्छ भने इन्द्रीयहरू मार्फत यसको चेतनाको तल सक्रिय हुन्छ।

    भोग, आसन र जे पनि चिजको उपभोग गरिन्छ त्यसप्रति साक्षी भएर आत्मस्मरण कायम राख्दै भोगको आनन्द लिनु तन्त्र योग हो। आत्मस्मरण कुनै कठिन कुरो होइन, जे कर्म गरिएको छ त्यसप्रति सतप्रतिसत होस कायम राख्ने प्रयास गर्नु आत्मस्मरण हो।

    प्रश्न उठ्छ : के हामीले जे पनि कुराको भोग/प्रयोग गर्छौं? त्यसप्रति शतप्रतिशत होसियारीपूर्वक अर्थात सचेत भएर आनन्द लिएका छौं त? यही होसपूर्ण भोग नै तन्त्र योग हो। अब हामीले तन्त्र योगलाई कसरी बुझेका छौँ ,आफैं मनन गरौं।

    तन्त्र योगको बारेमा ओशोले ‘विज्ञान भैरव तन्त्र’ प्रवचन मालामार्फत सरल तरिकाले बुझाउने प्रयास गर्नुभएको छ। ओशोका अनुसार योग संघर्षमा विश्वास गर्दछ र योगको मूलरूप संकल्पको मार्ग हो। तर, तन्त्र योगले संघर्षमा विश्वास गर्दैन किनकी तन्त्र संकल्पको मार्ग होइन। तन्त्र समग्ररूपमा समर्पणको मार्ग हो। मानिसको इच्छा शक्तिको समस्या नै पीडा र दु:खको कारण हो । तन्त्र योगको पूर्ण सदुपयोगको लागि समर्पणको कला आवश्यक पर्दछ।

    तन्त्र योगलाई अझ प्रष्टरूपमा बुझ्नको लागि यसका केहि आयामहरूका बारेमा थाहा पाउनु पर्छ।

    दर्शन तन्त्र योग

    हेर्नु, देख्नु र त्यसलाई अनुभूति गर्नु दर्शन हो। मानिसले आफ्ना अगाडि, नजिकमा जतिपनि, जे पनि वस्तु, व्यक्ति र चिजहरूको सुन्दरता देखेर आकर्षित हुने गर्दछन् त्यो दर्शन तन्त्र योग हो।

    आजसम्मको बुझाई र अभ्यासलाई हेर्दा मानिसहरूले बाहिरी खुल्ला आँखाले हेरेर आकर्षित हुने गरेका छन्। आँखाले देखेर त आकर्षित बनिन्छ तर यसमा आत्मस्मरण अर्थात् होस पनि जोड्ने हो भने अरू आनन्द आउँछ। यो नै दर्शन तन्त्र योग बन्छ। खुल्ला आँखाले देखेको कुरामा आफ्नो निराकार स्वरूपको पनि ख्याल गर्दै जे पनि सुन्दरता देखिन्छ। त्यसमा होसपूर्ण हुन सके अरू आन्तरिक आनन्द मिल्छ। देखिने चिज र सुन्दरतालाई आँखाले मात्र होइन, आत्मस्मरणका साथ हेर्न र त्यसको मजा लिन जान्यो भनेमात्र दर्शन तन्त्र योगको मर्म सार्थक हुन्छ।

    श्रवण तन्त्र योग

    श्रवण अर्थात् सुन्नु श्रवण तन्त्र योग हो। सुन्दर संगीत, भजन, मिठो गीत, पन्छीको आवाज, आकाशबाट पानी परेको आवाज, नदी बहेको आवाज, बादलको गर्जन, सुस्तरी बहेको हावा र त्यसमा लुकेको आवाज, सानो बालकले बोलेको आवाज या आफ्नो प्रिय व्यक्तिको कर्णप्रिय आवाज सुन्दा सबैलाई खुसी लाग्छ। आवाज मानिसले बाहिरी कानले सुन्ने गर्दछन्। यहि आवाजमा आफ्नो निराकारलाई जान्दै, होसपूर्ण हुँदै, आत्मस्मरण र साक्षीका साथ सुन्नु श्रवण तन्त्र योग हो।

     बाहिरबाट सुन्दा पनि मज्जा आउँछ तर त्यो क्षणिक हुन्छ। अनन्तसम्म त्यो आवाज गुन्जियोस्, हृदयले त्यसलाई सधैं आत्मसात गरोस्, आत्मादेखि नै त्यो आवाजलाई सुनेर मनन गर्न पाइयोस् भन्ने चाहना राख्ने हो भने त्यसमा आत्मस्मरणलाई कायम राखि राख्नुपर्ने हुन्छ तब मात्र श्रवण तन्त्र योगको मर्म बुझिन्छ।

    कतिपय धर्म, सम्प्रदाय संस्कारमा भजनकिर्तन गर्ने प्रचलन छ। भजनकिर्तनमा आफ्ना इष्टदेव, गुरूहरूका बारेमा भजन गाउँदा र सुन्दा, त्यसबाट धर्म मिल्छ या आनन्द आउँछ, सुख मिल्छ भन्ने मान्यता राखिएको हुन्छ। अवश्यमेव भजनकीर्तन सुन्दा आनन्द नआउने कसलाई होला र ? तर, बाहिरी कानले सुन्ने हुँदा यसको अनुभूति गहिराइसम्म पुग्न पाउँदैन। अन्यथा, सधैं भजनकीर्तनमा सामेल हुने, सुन्ने व्यक्तिहरू धेरै आनन्दित र दु:ख मुक्त भइसक्ने थिए।

     स्वाद तन्त्र योग 

    खानेकुराको स्वाद लिनु नै स्वाद तन्त्र योग हो। तर, अहिले सम्मको अभ्यास हेर्दा मानिसहरूले जस्तोसुकै मीठो परिकार, पकवान र भोजनको स्वाद होस् जिब्रोबाट लिने गरेका हुन्छन्। इन्द्रीयको प्रयोग मात्र होइन, त्यहि स्वादलाई आफ्नो निराकारप्रति होसपूर्ण हुँदै आत्मस्मरणका साथ लिन सक्नु नै स्वाद तन्त्र योग हो।

    स्वामी रामकृष्ण परमहंसले स्वाद तन्त्र योगबाटै मोक्ष पाउनुभएको थियो भनिन्छ। बाहिर शिष्य राखेर ध्यान ज्ञान सिकाई राखेको बेलामा उहाँ भान्छामा गएर खाना चाखेर आउने र फेरि आफ्नो प्रवचन शुरू गर्ने गर्नुहुन्थ्यो भनिन्छ। उहाँकी पत्नीले यो कस्तो चाला हो तपाईंको भनेर प्रश्न गर्दा भन्ने गर्नुहुन्थ्यो रे, 'तिमीले तयार गरेको प्रत्येक भोजन र स्वादमै मैले परमात्मा पाउँछु।' स्वाद, दिव्य स्वाद, आत्मस्मरणपूर्वकको स्वाद नै उहाँको साधना बनेको थियो।

    त्यसैले आफैंले तयार गरेको खाना होस् या अरूले तयार गरेर दिएको, त्यसप्रति होसपूर्ण हुँदै, अहोभाव व्यक्त गर्दै, आत्मस्मरणपूर्वक ग्रहण गर्न सकियो भने मात्र स्वाद तन्त्र योगको मर्म सार्थक हुनेछ।

    सुगन्ध तन्त्र योग 

    सुवासयुक्त फूलको वासना अर्थात् सुगन्धप्रति सबै मानिस मोहित हुन्छन्। सुगन्ध प्राप्त हुने जुनसुकै चिज मार्फत खुसी हुनु, आनन्द लिनु सुगन्ध तन्त्र योग हो। सुगन्धवाल अत्तरहरू प्रयोग गरेर आफैंलाई खुसी र आनन्दित राख्ने प्रयास पनि मानवीय स्वभाव हो।

    ​कसैसँग नजिक हुँदा आफ्नो शरीरबाट उत्पन्न सुवासले अरूलाई पनि आहा भाव पैदा होस् भन्ने चाहना पनि मानिसमा हुन्छ। यही सुगन्धको आनन्द बाहिरबाट मात्र नभएर भित्रैबाट, आत्मस्मरणमा रहेर लिन सकियो भने मात्र वास्तविक सुगन्ध तन्त्र योग बन्दछ।

    स्पर्श तन्त्र योग

    मानिसले एक-अर्कालाई स्पर्श गर्दा एक-आपसमा एउटा मीठो तरंग र कम्पन उत्पन्न हुन्छ। त्यो तरंगले आनन्ददायी भावना उत्पन्न गराउँछ। अझ विपरित लिंगीमा हुने स्पर्शको अनुभूति फरक किसिमको र स्वर्गीय आनन्द दिने खालको हुन्छ।

    स्पर्शले एक किसिमको चिकित्सा (हिलिंग) को नै काम गर्दछ।अझ कुनै पनि अप्ठेरोमा परेको व्यक्ति या विरामी व्यक्तिलाई गर्ने स्पर्शले उसमा चाडै नै ताजगी र स्फूर्ति मिल्छ। बिरामी व्यक्तिको हातखुट्टा स्पर्श गर्नु, टाउकोमा हात राख्नुको अर्थ पनि यहि हो। स्पर्श एक किसिमको प्रेमपूर्ण अभिव्यक्ति पनि हो। तर, यसको सही तरिकाले भन्दा गलत तरिकाले प्रयोग भएका कारण समाजमा नकारात्मक घटनाहरू बढ्ने गरेका पनि छन्।

    जागरणपूर्वक, आत्मस्मरणपूर्वक र होसपूर्वकको स्पर्श नै स्पर्श तन्त्र योग हो र यो नै  एउटा प्रेमपूर्ण अभिव्यक्ति र शसक्त ऊर्जा शक्तिको माध्यम पनि हो। बेहोसीपूर्ण भयो भने केवल भोग मात्र हुन्छ भने होसपूर्ण भएमा योग बन्दछ। यसको सही सदुपयोग गर्न जान्नु स्पर्श तन्त्र योगको मर्मलाई आत्मसात गर्नु हो। जसको आनन्द नै स्वर्गीय आनन्द हुनेछ।

    अघोरी तन्त्र योग

    कतिपय साधु र सन्तहरू खरानी घसेर, निर्वस्त्र योगी बनेर, काँडामाथि सुतेर, एक हात माथि उठाएर, एउटा खुट्टाले मात्र टेकेर अनेक किसिमका अघोरी रूप देखाउनेहरू हुन्छन्। यसलाई नै अघोरी तन्त्र योग भनिन्छ। आफ्नो इच्छा अनुसार यो गर्न सबैलाई छुट छ। तर, यसलाई बेहोसीमा होइन, होसपूर्वक अभ्यासमा ल्याएका छन् त ? होसपूर्वक, आत्मस्मरणमा रहेर यि क्रियाकलाप गरेको भएचाहिँ वास्तविक योग बन्नेछ अन्यथा ढोंग बाहेक केहि हुँदैन। बाहिरको देखावटी र बेहोसीबाट साधना हुनै सक्दैन।

    आफ्नो संकल्प शक्तिलाई पूर्णता दिएर मुक्त हुने माध्यम योग हो। आफ्नो इच्छा शक्तिलाई पूर्णता दिएर, पूरै मेटाएर खाली हुनसक्नु तन्त्र योग हो। मानिस शरीरमा रहँदासम्म जीवित रहन्छ र शारीरिक आवश्यकता पनि कायम रहन्छन्। आवश्यकतालाई दबाएर होइन, पूर्णता दिएर शान्ति र आनन्द लिनु तन्त्र योग हो।

    भोगलाई योग कसरी बनाउने त्यो तन्त्र योगको मर्म हो भोगलाई योग बनाउनका लागि साक्षी, होस र आत्मस्मरण सधैं कायम राख्न सक्नुपर्दछ र वास्तवमै चाहेमा यो कठिन छैन तन्त्र योगको सही अभ्यासले वास्तवमै मानिसलाई अहंकाररहित बनाउन मद्दत गर्दछ तन्त्र योग सरल, सहज र आकर्षणको परिचय हो असहजता र विकर्षण मानिसका गुण होइनन्

    अहंकार रहित होसपूर्ण अवस्थालाई साधनाको माध्यम बनाउन सकेमा मानिसले तन्त्र योगको भरपूर सदुपयोग गर्न सक्नेछ। तन्त्र योगलाई गलत तरिकाले प्रयोग भएमा नकारात्मक ऊर्जा प्रवाह हुन गई नकारात्मक घटनाहरू बढ्दै जान्छन् भने यसको सही सदुपयोग हुन सक्यो भने जीवनमा सहज रूपान्तरण आउनेछ।

डा. नम्रता पाण्डे

लेखक, ध्यान प्रशिक्षक एवं स्वतन्त्र मनो-परामर्शदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]