|

काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। साथै देशभर ४ सय ७६ संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्टार अस्पतालमा उपचाररत रौतहटका ३० वर्षीय पुरुषको कारोनाका कारण मृत्यु भएको हो। ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा उपचाररत ती युवकको शनिबार मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए।

आइसियुमा उपचाररत उनको १३ गते स्वाव संकलन गरी पाटन अस्पतालमा कोरोना परीक्षणका लागि पठाइएको थियो। १३ गते बेलुकी नै उनको निधन भएको थियो। उनको हिजो मात्रै कोरोनाको पोजेटिभ रिपोर्ट आएको थियो। तीन महिनादेखि फोक्सोमा समस्या आएका कारण विभिन्‍न अस्पतालमा उनी उपचारका लागि गएको प्रवक्ता डा. गौतमले बताए। उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।

सोमबार थपिएका मध्ये १ सय १३ महिला र ३ सय ६६ पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ। जसमा महिला १ हजार ५ सय ८६ महिला र ११ हजार ६ सय ६२ जना पुरुष रहेको प्रवक्ता डा. गौतमले बताए। 

सरकारले आफ्नो लक्ष्य अनुसार परीक्षणको दायरा बढाउन सकेको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेबाट हरेक दिन १० हजारको पीसीआर परीक्षण गर्ने सार्वजनिक अभिव्यक्ति दिएपनि सो परिणाममा परीक्षणको संख्या बढ्न नसकेको हो। 

यद्यपि सोमबार विगत दिनभन्दा सबैभन्दा बढी ७ हजार ७ सय ९१ जनाको कोरोना परीक्षण भएको छ। आजसम्म पीसिआर विधिबाट २ लाख २३ हजार ६ सय ३० जनाको कोरोना परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट १ हजार ८ सय २२ जनाको गरी आजसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ। अहिले देशभरका क्वारेन्टाइनमा ५७ हजार ३ सय ६८ जना रहेका छन्।

देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा १० हजार ८५ जना संक्रमित उपचाररत रहेका छन्। सोमबार १३ महिला र १ सय ८ पुरुष गरी १ सय २१ जना संक्रमित निको भएर डिस्र्चाज भएका छन्। आजसम्म २ सय ६६ महिला र २ हजार ८ सय ६६ पुरुष गरी ३ हजार १ सय ३४ जना डिस्चार्ज भएका छन्। 

मन्त्रालयले काठमाडौं उपत्यका लगायत घना बस्तीहरुमा कोरोनाको जोखिम बढिरहेको उल्लेख गर्दै सामाजिक दूरी कायम गर्दै अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.