|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ। जारी स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठिरहेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले असार १४ गते नेपाल-भारत सीमा विवादको बिषयलाई लिएर सरकार ढाल्न रणनीति बनिरहेको बताएका थिए। त्यही अभिव्यक्तिलाई लिएर पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको घेराबन्दीमा ओली परेका छन्। 

यतिबेला सचिवालय र स्थायी कमिटीको बैठकमा समेत ओली अल्पमतमा देखिएका छन्। स्थायी कमिटीमा अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेता, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत दाहाल-नेपाल समूहका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागिरहेका छन्। 

‘प्रधानमन्त्री ओलीको राजीनामा दाहाल-नेपाल समूहको एजेण्डा बनिसकेकाले त्यसबाट पछि नहट्ने अध्यक्ष दाहालनिकट एक स्थायी कमिटी सदस्यले बताए। ‘हामीले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति अहिले मात्रै होइन। धेरै पहिलेबाट कुरा उठाउँदै आएका हौं,' ती नेताले भने, ‘उहाँलाई आफ्नो व्यवहार परिवर्तनका लागि पटकपटक आग्रह गर्दा सुध्रिनु भएन। त्यसैले अहिलेको अवस्थामा हामी पछि हट्ने मनस्थितिमा छैनौँ।’

प्रधानमन्त्री ओलीले बुधबार आफू निकटका नेता तथा मन्त्रीहरुसँग परामर्श लिएपछि बुधबार बेलुका अध्यक्ष दाहाल नेपाल समूहले ललितपुरको झम्सिखेलस्थित अगेनो रेस्टुरेन्टमा छलफल गरेका थिए। 

बैठकमा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा गर्न लगाउने रणनीति बनाएको बैठकमा सहभागी एक नेताले बताए। 

‘ओलीले पार्टी पद्धति र पार्टीको निर्देशन मान्‍ने प्रतिवद्धता गर्नुपर्ने निचोड निकालेको छ। पार्टीको निर्णय मान्‍ने गरी अघि बढ्न तयार भएमा दुईमध्ये एक पद कायम राखेरै अघि जान सकिने निश्कर्ष बैठकमा निस्किएको छ,’ ती नेताले भने। 

गृहमन्त्री थापा पनि छलफलमा

यसअघिको पार्टीभित्रको विवादमा प्रधानमन्त्री ओलीलाई साथ दिदै आएका गृहमन्त्री थापाले समेत प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताएका छन्। बुधबार बिहान प्रधानमन्त्री ओलीसँगको परामर्शमा बसका गृहमन्त्री थापा पहिलोपटक दाहाल–नेपाल समूहको गुट भेलामा सहभागि भएका थिए। 
‘प्रधानमन्त्री ओली एकलौटी रुपमा चल्नुभयो। उहाँको अहिलेको अभिव्यक्तिमा उहाँ चुक्नुभयो। त्यसैले प्रधानमन्त्रीले अहिलेको अवस्थामा पदबाट राजीनामा दिनुको विकल्प छैन’ गृहमन्त्री थापाको भनाईलाई उदृत गर्दै बैठकमा सहभागि एक नेताले भने। 

स्थायी कमिटीमा अल्पमतमा ओली

नेता नेपाल दाहालतिर ढल्किँदा ओली स्थायी कमिटीमा अल्पमतमा परेका छन्। नेकपामा स्थायी कमिटी ४४ सदस्यीय छ। अहिले ओलीसँग १४ जना मात्रै नेताहरु रहेको जिकिर दाहाल-नेपाल समूहको छ। 

बुधबार साँझ झम्सिखेल भेलमा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, लीलामणि पोखरेल, रघुजी पन्त, देवेन्द्र पौडेल सहभागी थिए। 

यस्तै, मणि थापा, गणेश साह, चक्रपाणि खनाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, मात्रिका यादव, मुकुन्द न्यौपाने, देव गुरुङ, वर्षमान पुन, भीम रावल, शक्ति बस्नेत, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, भीम आचार्य, बेदुराम भुसाल, हरिबोल गजुरेल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र घनश्याम भुसाल सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.